जीबा लामिछानेको होटल अकामाले पायो ‍औसत रेटिङ, अर्ब लागतको होटल फेब्रुअरीमा संचालनमा आउने

बिजमाण्डू
२०७५ मंसिर २४ गते १४:२० | Dec 10, 2018
जीबा लामिछानेको होटल अकामाले पायो ‍औसत रेटिङ, अर्ब लागतको होटल फेब्रुअरीमा संचालनमा आउने



काठमाडौं । गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जीवा लामिछानेको होटल अकामाले बैंक ऋणको लागी 'केयर-एनपी बीबी' रेटिङ पाएको छ। 'केयर-एनपी बीबी' औसत जोखिमको अवस्थालाई बुझाउँछ ।

Tata
GBIME
Nepal Life

ऋणका लागी प्रस्तावित परियोजनाको वित्तीय अवस्था र जोखिमको आधारमा वर्गीकरण गर्दै आएको संस्था केयर रेटिङ नेपालले यो होटलमा दीर्घकालीन बैंक ऋणको लागी प्रारम्भिक चरणमा जोखिम रहेको उल्लेख गरेको छ। होटल व्यवस्थापनले कूल एक अर्ब ६५ करोड ५० लाख रुपैयाँ नयाँ लगानी मध्ये ७० प्रतिशत बैंक ऋणको माध्यमबाट जुटाउने प्रस्ताव गरेको छ।

लामिछाने वाहेक सानिमा हाइड्रोपावरका संचालक अरुणकुमार ओझा लगायतका नौं जना साझेदार रहेको होटलमा एक अर्ब लगानी छ। नेपालमा बैंक,जलविद्युत,संचार लगायतका क्षेत्रमा लगानी गरिरहेको सानिमा समूहको नेपालमा होटलमा लगानी भने पहिलो हो। यूरोपेली मुलुकमा भने  लामिछाने र अरु साझेदारको होटलमा ठूलो लगानी छ। लामिछाने र गैरआवासीय नेपाली संघका महासचिव कुमार पन्तले जर्मनीको फ्याङफ्रटमा स्कार्इलाइन, एभरेष्ट,गोथे होस्टल हफ लगायतका होटल छन्।

होटल ८ रोपनी क्षेत्रफलमा फैलिएको छ। होटल चक्रपथबाट ५० मिटरभित्र धुम्बाराहीमा छ। वित्तियरुपमा सबल भएपनि संचालकसँग पर्यटन व्यवसाय क्षेत्रमा अनुभवको अभावसँगै संचालनमा रहेका पुराना र निर्माणाधीन नयाँ होटलका कारण संचालनको जोखिम रहेको केयर रेटिङले जनाएको छ। घरजग्गा कारोबारी हरि श्रेष्ठले अपार्टमेन्ट निर्माणको लागी संरचना बनाएपनि आर्थिक संकटमा परेपछि सानिमा समूहले किनेर अपार्टमेन्ट होटलमा परिणत गरेको हो। 

होटल निर्माणको लागी ९४ करोड २० लाख रुपैयाँ लगानी हुने अनुमान गरिए पनि भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य ढिलो हुँदा परियोजनाको लागत ह्वात्तै बढेको होटल व्यवस्थापनले जनाएको छ। साढे १२ तला अग्लो दुर्इवटा भवनमा दुई तला सम्म पार्किङको व्यवस्था गरिएको छ।चार पांग्रे र दुई पांग्रे गरी डेढ सय सवारी एक साथ पार्किङ गर्ने मिल्ने छ। होटलमा पाँच सय जना क्षमताको एउटा हल, ८० सिट क्षमताको रेष्टुरेन्ट रहेको छ।होटलमा स्विमिङ पूल, जीम, साउना, लगायत सुविधा छन्।

केयर रेटिङका अनुसार होटल प्रवद्धकले ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएकोमा गत साउन मसान्तसम्ममा जम्मा ३६ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । ‘आगामी फेब्रुअरी महिनासम्ममा पूर्णरुपमा होटल संचालनमा ल्याउने योजना छ’, होटलको एकजना उच्च व्यवस्थापकले भने, आन्तरिक सज्जाका साथै बाहिरी रंगरोगनको काम लगभग सकिएको छ।‘