केन्द्रीय बैंकमाथि सरकारी हस्तक्षेपविरुद्ध मुद्रा कोष, ‘स्थायित्वको जिम्मा केन्द्रीय बैंकको’

बिजमाण्डू
२०७५ मंसिर २४ गते १०:४४ | Dec 10, 2018
केन्द्रीय बैंकमाथि सरकारी हस्तक्षेपविरुद्ध मुद्रा कोष, ‘स्थायित्वको जिम्मा केन्द्रीय बैंकको’


वासिङटन। केन्द्रीय बैंकमाथि सरकारले गर्ने हस्तक्षेपविरुद्ध अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) उभिएको छ। कोषका प्रमुख अर्थशास्त्री मौरिस ओब्स्टफिल्डले गए राति वासिङटनमा पत्रकारसँग कुराकानी गर्दै सत्तालाई केन्द्रमा राखेर केन्द्रीय बैंकमाथि हस्तक्षेप गर्न नहुने बताएका हुन्।

Tata
GBIME
Nepal Life

उनले भारतीय सरकार र त्यहाँको केन्द्रीय बैंकको सन्तर्भलाई जोडेर आफ्नो धारणा सार्बजनिक गरेका हुन्। रिजर्भ बैंक अफ इण्डिया र त्यहाँको सरकारबीच उत्पन्न विवादलाई लिएर कोषका प्रमुख अर्थशास्त्रीले वित्तीय स्थायित्वका लागि केन्द्रीय बैंकले दिएका सुझाबहरुलाई सरकारले मनन् गर्नु पर्ने बताएका हुन्।

ओब्स्टफिल्डले भने, 'वित्तीय स्थायित्व कायम गर्ने जिम्मेवारी केन्द्रीय बैंकलाई दिने कि कुनै अर्को स्वायत्त निकायलाई भन्ने बहस पूरानो हो। सन् १९९७ मा बेलायतमा केन्द्रीय बैंक र नियामकलाई अलग गरिएको थियो। पछि फेरि एउटै बनाइएको थियो। म यसमा कसैको पक्ष लिन्न। तर मलाई लाग्छ वित्तीय स्थिरताका लागि केन्द्रीय बैंकले नै आवश्यक कदम उठाउनु पर्छ।'

केन्द्रीय बैंकलाई वित्तीय स्थायित्व र मौद्रिक नीति तर्जुमा गर्न दिएर  जिम्मेवार बनाउनु पर्ने बताउँदै उनले स्वायत्त निकायको निर्णय र सुझाबहरुलाई सरकारले मनन् गरेर अगाडि बढ्नु पर्ने धारणा राखे। 'पुरानो रेकर्ड पल्टाउने हो भने संसार भरका केन्द्रीय बैंकले गरेको निर्णयका कारण उत्पादनमा कमी र बेरोजगारी समस्याहरु रोकिएर अर्थब्यवस्थाले स्थिरता पाएको देखिन्छ' उनले भने।

सरकारले केन्द्रीय बैंकसँग सुल्लाह सुझाब माग्न सक्ने र कतिपय विषयमा समन्वय गरेर अगाडि बढ्न सक्ने भन्दै उनले हस्तक्षेपकारी नीतिका कारण तत्काललाई फाइदा देखिए पनि दीर्घकालमा त्यसले अर्थतन्त्रमा समस्या सृजना गर्नेसमेत बताए।

मौरिस केही दिनमै अवकास हुँदैछन्। उनको ठाउँमा भारतीय मुलकी अर्थशास्त्री गीता गोपिनाथ आउँदैछिन्।