ब्याज नबढाउन अर्थमन्त्री र गभर्नरले दिएको उपदेश बैंकरले मानेनन्, कार्यदलप्रति अविश्वास

बिजमाण्डू
२०७५ मंसिर २३ गते १५:०९ | Dec 9, 2018

काठमाडौं। अर्थमन्त्री र गभर्नरले एकै मञ्चबाट बैंकरलाई सुझाब दिएका थिए- अब ब्याज नबढाउनुहोस्। अप्राकृतिक वृद्धि र एउटाले अर्काको व्यवसाय खोस्न थाल्ने हो भने नराम्रो नतिजा आउँछ।

Tata
GBIME
Nepal Life

बैंकर्स संघको बिहीबारको बार्षिक साधारणसभालाई संबोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज नबढाउन भनेका थिए। गभर्नर नेपालले त ब्याज बढाएर गलत गरिरहेको भन्दै जसले बढाइरहेको छ त्यसले सर्बसाधारणको पैसा दूरुपयोग गर्न खोजेकोसमेत आरोप लगाएका थिए।

ब्याज दरको समस्या हल गर्नका लागि अर्थमन्त्री कार्यदल गठन गरेर बैंकर्सको कार्यक्रममा पुगेका थिए। अर्थमन्त्री र गभर्नरले लामो क्लास लिएपछि ब्याज बढ्दैन भन्नेमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना पनि ढुक्क देखिएका थिए।

उनले प्रतिकृया पनि दिए- यत्रो कुरा आइसक्यो (अर्थमन्त्री र गभर्नरबाट) अब कसले बढाउला र ब्याज? उनले साधारणसभामा उपस्थित नभएका तीन बैंकले चै थाहानपाएर बढाउँछन् कि भन्ने शंका थियो। प्राइम, ग्लोबल आइएमइ र सिभिल बैंक।

साधारणसभामा पुगेका बैंकर रत्नराज बज्रचार्य पनि ब्याज नबढ्नेमा एकदमै आत्मविश्वासी देखिएका थिए। उनले भने पनि- ब्याज बढाएर पैसा आउने होइन। बढाउनु हुँदैन।

तर, फेरि ब्याज दरमा प्रतिस्पर्धा देखिएको छ। साधारणसभा सकिएको भोलीपल्टै शुक्रबार सेञ्चुरी कमर्सियल बैंकले ब्याज १३ प्रतिशत पुर्याएको छ। यसबीचमा सिभिलले पनि ब्याज १३ प्रतिशत पुर्याइसकेको छ। 

सनराइज र सिद्धार्थ बैंकले साढे १२ प्रतिशत पुर्याएका छन्। ब्याज बढाउनु गलत भएको तर्क गरिरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृ बज्राचार्यले पनि निक्षेप खोसिने डरले ब्याज बृद्धि गरेका छन्।

यसअघि जनता बैंकले ब्याज बृद्धिको सुरुवात गरेको थियो। जनता लगत्तै माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत पुर्याएको थियो। माछापुच्छ्रेलाई पनि जितेर कुमारी बैंकले १३ प्रतिशत दिएको छ। बैंकहरुले प्रकाशित गरेको ब्याज दर हो यो। आधा प्रतिशत बढाएर दिन सकिन्छ। यसो हुँदा ब्याज दर साढे १३ प्रतिशत पुगिसकेको छ। केही बैंकले मासिक रुपमा ब्याज गणना गर्ने स्किम ल्याएका छन्। यसले ब्याज दरलाई करिव १४ प्रतिशत पुर्याइसकेको छ।

ब्याएज बृद्धि गरेका बैकहरुको अहिले थेगो बनेको छ- ब्याज बढाउनु गलत हो। नयाँ पैसा आउँदैन। 

अनि किन बढाउनु भएको त भनेर सोध्दा एउटै उत्तर आउँछ- अरु बैंकले भएको निक्षेप खोसिदिन थाले।

अहिले ब्याज नबढाइ बसेका बैंकहरुले निक्षेप खोसिन थालेको बताउन थालेका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले निक्षेप अर्को बैंकमा जाने भएपछि नबढाइ धर नपाइने बताए। 'अहिलेसम्म बढाएको छुइन। तर नबढाइ निक्षेप टिक्लाजस्तो देखिँदैन' उनले भने।

नेपाल बैंकर्स संघले गत साता भद्र सहमति खारेज गर्दै ब्यक्तिगत निक्षेपको ब्याज तोक्न बैंकहरुलाई खुला गरिदिएको थियो। त्यसपछि ब्याज दरमा प्रतिस्पर्धा चलेको हो। 

'धेरै नै प्रतिस्पर्धा चल्यो भने म एकदुई दिनमै ब्याज १५ प्रतिशत प्रकाशित गरिदिन्छु' एक ठूला बैंकका प्रमुख कार्यकारीले भने, 'अनि निक्षेप कसरी टिकाउँदा रहेछन् साथीहरुले। बेलैमा सचेत भएर प्रतिस्पर्धा बन्द गर्नु नै सबैको हितमा हुने छ।'

अर्थमन्त्री खतिवडाले मुद्रा र शेयर बजारका बारेमा अध्ययन गरेर समाधान सहित सुझाब दिन बनाएको कार्यदललई बैंकरले पत्याएका छैनन्। अधिकांस बैंकरसँग कुराकानी गर्दा 'ब्याज दर बृद्धिको हंगामालाई कम गर्न कार्यदलको नाटक मञ्चन गरिएको' बताउँछन्।

'उहाँ (अर्थमन्त्री) कसैको सल्लाहै चाहिँदैन भन्ने मान्छे हो। अहिले समस्या समाधान गर्ने भनेर सुझाब माग्नु भएको छ' ती बैंकरले शंका ब्यक्त गरे, 'त्यही भएर कार्यदल काम गर्नभन्दा पनि छारो हाल्न बनाएजस्तो लाग्छ।' कार्यदल बिहीबार बनाए पनि यसले आइतबारबाट मात्र काम थालेको छ। कार्यदलको समय सात दिनको मात्र छ।