शेयरबाट पाँच खर्ब रुपैयाँ गुमेपछि लगानीकर्ता हत्तोसाहित, ६ महिनामा ८४ प्रतिशत लगानीकर्ता घटे

बिजमाण्डू
२०७५ मंसिर २२ गते ११:०० | Dec 8, 2018
शेयरबाट पाँच खर्ब रुपैयाँ गुमेपछि लगानीकर्ता हत्तोसाहित, ६ महिनामा ८४ प्रतिशत लगानीकर्ता घटे

काठमाडौं। निरन्तर शेयर बजार घट्ने क्रम नरोकिदा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता समेत घटेका छन्।घट्दो बजारमा लगानीकर्ताको खर्बौ रुपैयाँ मात्रै गुमाएनन् कारोबार गर्ने उत्साह समेत गुमाएका छन्।

Tata
GBIME
Nepal Life

गत बिहिबारसम्म लगानीकर्ताको पाँच खर्ब १६ अर्ब गुम्यो। बैकको व्याजको समेत भार थपिएपछि लगानीकर्ता हत्तोसाहित भएका हुन्। १८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको कुल बजार पूँजीकरण गत बिहीबार १३ खर्ब ३७ अर्ब रुपैयाँमा झर्यो। गुमेको रकम फर्किने आशामा विगत तीन बर्षदेखि घाटा सहँदै बसेका लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न केवाइसी समेत अद्यावधिक गराएका छैनन्।   
 

पछिल्लो ६ महिनामा शेयर कारोबार हुने दोस्रो बजारमा लगानीकर्ताको संख्या घटेको छ।गत जेठ यता दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ८४ प्रतिशतले घटेका छन्। नेप्सेका अनुसार गत जेठ अघि दोस्रो बजारमा कारोबार गर्न १३ लाख लगानीकर्ता दर्ता भएका थिए।तर पछिल्लो ६ महिनामा यो संख्या दुई लाख पाँच सयमा झरेको छ।गत बिहीबारको तथ्याङ्क अनुसार ८४ प्रतिशतले घटेको हो। 
 
नेपाल धितोपत्र बोर्डले गत जेठदेखि नयाँ केवाइसी कार्यान्वयनमा ल्याएको थियो। गत जेठदेखि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न केवाइसी अद्यावधिक गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीलार्इ निरुत्तसाहित गर्ने उद्देश्यले 'सम्पत्ति शुद्धिकरण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०७४' अनुसार केवाइसी कार्यान्वयनमा ल्याइएको हो।

नयाँ केवाइसी कार्यान्वयनमा आएको ६ महिनासम्म पनि लगानीकर्ताको अनुपात वृद्धि भने न्यून देखिएको छ। नेप्सेले भने आवश्यकता अनुसार लगानीकर्ताले केवाइसी अध्यावधिक गरेका कारण दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता कम देखिएका हुन्। ‘लगानीकर्ताले आवश्यक परेपछि मात्रै केवाइसी अध्यावधिक गर्छन्, त्यही भएर घटेको देखिएको हो,' नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।

 प्राथमिक बजारमा खरिद गरेको शेयरलाई नगदमा परिणत गर्न नेप्सेले सञ्चालन गरेको दोस्रो बजारमा बिक्री गर्नुपर्छ।त्यसका लागी लगानीकर्ताले ब्रोकरमार्फत कारोबारका लागि दर्ता हुनुपर्छ। निरन्तर रूपमा शेयर बजार घटेका कारण दोस्रो बजारमा लगानीकर्ता घटेको इन्भेष्टर फोरमका अम्बिका पौडेलले जानकारी दिए। ‘निरन्तर रूपमा शेयर बजार घट्दा पूँजी बजारमा लगानीकर्ताको वितृष्णा भएको छ,’ पौडेलले भने। 

 
 पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले शेयर बजार घट्नु र ग्रामिण क्षेत्रका शेयरधनी नआएकोले दोस्रो बजारमा लगानीकर्ताको घटेको बताए।‘साना/साना कित्तामा छरिएका शेयर दोस्रो बजारमा बिक्री गर्न स्थानीयले नेप्सेको कारोबार कक्षमा दर्ता भए।तर एक पटक शेयर बिक्री गरेपछि लगानीकर्ता दोस्रो बजारमा कारोबारका लागि आएनन्, उनले भने। अनलाइन कारोबार प्रणालीमा केवाइसी अध्यावधिक गर्न निकै झण्झट रहेका कारण समेत लगानीकर्ता कम भएको अर्यालको भनाई छ।