आइपिओ निष्काशन गर्न निवेदन दिएको सयपत्री हाइड्रोपावरले पायो सबैभन्दा खराव रेटिङ

बिजमाण्डू
२०७५ मंसिर २१ गते १७:१० | Dec 7, 2018
आइपिओ निष्काशन गर्न निवेदन दिएको सयपत्री हाइड्रोपावरले पायो सबैभन्दा खराव रेटिङ


काठमाडौं। नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्कशनको लागि निवेदन दिएको सयपत्री हाइड्रोपावरले सबैभन्दा खराव रेटिङ पाएको छ। केयर रेटिङ नेपालका अनुसार कम्पनीले सबैभन्दा खराव रेटिङ 'केयर एनपि आइपिओ ग्रेड ५' प्राप्त गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था तथा कम्पनीले प्रदान गर्ने प्रतिफल सबैभन्दा कमजोर रहेको जनाउँदछ। 

Tata
GBIME
Nepal Life

कम्पनीले गत साउन २३ गते प्रभावित क्षेत्रका लागि तीन करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भन्दै निवेदन दिएको थियो। कम्पनीले प्रभावित सहित सर्वसाधारणको लागि ९ करोड रुपैयाँको शेयर निष्काशन गर्न रेटिङ गराएको छ। 

कम्पनीले सन् २०१६ देखि व्यावसायिक उत्पादन सुरु गरेको भए पनि हाइड्रोलोजीमा समस्या आउनुका साथै ट्रान्समिसन लाइन समयमा नबन्दा आयोजनाको लागत बढेको हो। यसले गर्दा आयोजनाले आफ्नो क्षमता अनुसार विद्युत उत्पादन गर्न सकेन। नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने हरिचौर सबस्टेसनको निर्माण कार्य ढिला हुँदा आयोजनाको आम्दानी संकुचित भएको हो। 

सन् २०१६ मा १९ दिन मात्रै संचालन भएर बन्दा भएको आयोजना २०१७ मा भने विद्युत उत्पादन गर्न सफल भयो तर प्रसारण लाइनको निर्माण कार्यमा ढिलाइ हुँदा आम्दानी हुन सकेन। कम्पनीको सञ्चालन नोक्सान मात्रै २ करोड ६९ लाख रुपैयाँ छ। कम्पनीले अहिलेसम्म ४ करोड १७ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ। रेटिङ एजेन्सीका अनुसार कम्पनीले आफ्नो क्षमता अनुसार विद्युत उत्पादन गर्न सकेन। 

साढे दुर्इ मेगावाट क्षमताको उक्त आयोजना निर्माणको लागि जम्मा ५७ करोड ७७ लाख रुपैयाँ लागेको छ। प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको छ। यो लागत अन्य आयोजनाको तुलनामा अधिकतम हो। आयोजना निर्माणको लागि ऋणबाट ३६ करोड ४५ लाख रुपैयाँ र शेयरबाट २१ करोड ३२ लाख रुपैयाँ जुटाउने भएको हो। 

आयोजना निर्माण गर्नु भन्दा अगाडी अनुमानित लागत ४६ करोड ३३ लाख रुपैयाँ थियो। तर आयोजना निर्माण कार्य ढिलाइ हुँदा र अन्य समस्या आउदा यसको लागि १० करोड रुपैयाँ बढेको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा हाल १३०० मेगावाट विद्युत आवस्यक छ। तर स्वदेशी उत्पादन १०७३ मेगावाट रहेको छ। नेपालमा अझै ४५० मेगावाट विद्युत खपत हुने प्राधिकरणको तथ्याङ्कमा छ।