मुद्रा र शेयरका बारेमा अध्ययन गर्ने टोलीले सुझाब माग्न थाल्यो, औपचारिक काम पर्सीबाट

बिजमाण्डू
२०७५ मंसिर २१ गते १५:०३ | Dec 7, 2018

काठमाडौं। मुद्रा र शेयर बजारका बारेमा अध्ययन गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार गठन गरेको उच्चस्तरीय टोलीले आइतबारबाट मात्र काम थाल्ने भएको छ। शुक्रबार मात्र टोलीले पत्र पाएकाले आइतबारबाट औपचारिक काम थाल्ने भएको हो।

Tata
GBIME
Nepal Life

यद्यपी टोली गठन लगत्तै त्यसका सदस्यहरुले ब्यक्तिगत पहलमा बाहिरका सरोकारवालाहरुसँग सुझाब माग्न भने थालिसकेका छन्। समितिको संयोजक राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई बनाइएको छ। यसमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थमन्त्रालयका सहसचिव छन्।

'आइतबार पहिलो मिटिङ बसेपछि कसरी अगाडि बढ्ने  भन्ने टुङ्गो लाग्छ,' डेपुटी गभर्नर श्रेष्ठले बिजमाण्डूसँग भने, 'टोलीले अहिलेको ब्याज दरको उतारचढाब, तरलता, शेयर बजार, ऋणपत्र बजारलगायत यावत बिषयहरुमा अध्ययन गरेर उपयुक्त सुझाब दिने छ।'

बैंकहरुले निक्षेपको ब्याज दर मनपरी बढाएलगत्तै शेयर बजार उच्च अंकले झरेपछि अर्थमन्त्री खतिवडाले समस्या समाधानका लागि इनिसिएसन लिएका थिए। उनले दीर्घकालिन समाधान खोज्नका लागि अध्ययन टोली बनाएका हुन्।

'गठित समितिले सरोकारवाला सबैसँग कुराकानी गर्ने छ' उनले भने, 'बाहिरका प्र्याक्टिसहरु पनि हामी हेर्ने छौं। त्यसपछि दीर्घकालिन समस्या समाधानका लागि सुझाब दिन्छौं।'

टोलीले शेयर बजारको बिकासका साथै लगानी प्रबर्द्धन, मुद्रा बजार र बन्ड मार्केटका बारेमा पनि अध्ययन गरेर सुझाब दिनेछ। टोलीलाई सात दिनको समय दिइएको छ। टोलीले दिएको सुझाबका आधारमा अर्थमन्त्रालयले उपयुक्त निर्णय गर्ने छ।