लघुवित्तको जस्तो ग्राहक खोसाखोस बैंकहरुका लागि आत्मघाती हुन्छ, अर्थमन्त्री खतिवडाको विचार




हिजो आज बजार अलि तातेको छ जस्तो मलाई पनि लागेको छ। मौसम चिसो हुने तर वित्त बजार तातो हुने देखियो। यो प्राकृतिक तातो हो वा हिटर लगाएर तताइएको हो नेपाल राष्ट्र बैंकले खोजी गर्नुपर्ने बेला आएको छ। आज मैले शेयरको भाउ घट्यो र बैंकको ब्याज बढ्यो भन्ने दुईवटा समाचार पढेँ। यसको बीचमा के तालमेल छ त्यसको अध्ययन गर्न राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा समिति पनि बनाएको छु। यो तालमेल र पोर्टफोलियो बारे राम्रो अध्ययन होस्। 

२०५५/०५६ सालतिर नेपाल राष्ट्र बैंकको विशिष्ठ श्रेणीमा हुँदा शेयर बजारमा शेरको मूल्य र ब्याजदरको को रिलेसन कस्तो हुन्छ भनेर एउटा अध्ययन गराएको थिएँ। त्यतिखेर कसैले ग्राफ खिचेर तलतिर झरेको देखाइदिएको थियो। त्यो जरुरी छैन अहिले होल्ड हुनुपर्छ भन्ने। त्यही भएर नयाँ अध्ययन गर्नुस् भनेको हुँ। 


लगानीकर्ताले आफ्नो लगानीलाई विविध उपकरणमा राख्न पाउनुपर्दछ। कसैले कहिँबाट कहिँ लगानी लग्यो भनेर हामी आत्तिने होइन धैर्य धारण गर्नुपर्दछ। समयक्रममा यी सबै उपकरणका प्रतिफल मिल्दै जान्छन्। एउटा कुनै क्षेत्रमा असिमित लाभ लिने र अर्को क्षेत्रमा नहुने कुरा त खुला बजारमा हुनै सक्दैन। पानीले आफ्नो सतह आफैँ मिलाउँछ। एउटै ग्लासभित्रको पानी कै असन्तुलित भएर बसेको हुन्छ र? ग्लास कोल्टे नहुन्जेल त्यस्तो हुँदैन। मलाई आशा छ अहिले ग्लास कोल्टे छैन। ग्लास कोल्टे भए पनि पानी सोझै बसेको हुन्छ। यो दुईवटा ग्लासको पानीको कुरा होइन। एउटै ग्लासको हो। किनभने हाम्रो वित्तीय प्रणाली एकीकृत भइसकेको छ। त्यो भनेपछि लेभल मिलाउने कुरा मात्रै हो, लेभल मिल्नका लागि एकछिन छचल्किन्छ। छचल्किँदैमा भुँइचालो नै आयो कि भनेर भन्न थालियो भने कहिँ पनि पुगिँदैन।

वित्तिय बजार पनि बेलाबेलामा छचल्किए झैँ गर्छ, तपाईंहरु आत्तिहाल्नुहुन्छ। लगानकर्ता, निक्षेपकर्ता र ऋणीहरुलाई मेरो आग्रह के हो भने चियाको कपमा आउने तुफानमा हामी आत्तिन थाल्यौँ भने वित्तीय स्थायित्व कसरी आउँछ? 

म गभर्नर हुँदा नेपाल बैंकर्स एसोसिएसनलाई कर्जाको र निक्षेपको ब्याजदर यति भन्दा नहुने भनेर भाषण र निर्णय गर्ने काम नगर्दिनु भनेको थिएँ। यो राम्रो होइन। मुलुकमा प्रतिस्पर्धा कानुन छ। मूल्यमा कार्टेलिङ गरेका कुरा आउँदा कहिलेकाँही प्रचलित कानुन र प्रतिस्पर्धाको सिद्धान्तलाई चुनौति दिएजस्तो हुन्छ। त्यो भनेर कोही पनि छाडा नभइदिनु होला। म मोटाउँछु भनेर शरीरमा कपडा कोचेर मोटो त भइँदैन नि। प्राकृतिक वृद्धि पनि चाहिन्छ। त्यसो हुनाले अस्वाभाविकरुपमा मोटाउने र ठुलो हुने प्रतिस्पर्धा बैंकिङ प्रणालीका साथीहरुले नगरीदिनु होला। तपाईंहरुको प्राकृतिक वृद्धि हामीले देखेका छौँ, त्यसका लागि गर्नुपर्ने सबै सहयोग हामी गर्छौँ।

अप्राकृतिक वृद्धि र एउटाले अर्काको व्यवसाय खोस्न थाल्ने हो भने नराम्रो नतिजा आउँछ। लघुवित्तको जस्तो ग्राहक खोसाखोसले तपाईंहरुलाई कहीँ पनि पुर्या्उँदैन। यो आत्मघाती हुन्छ। ग्राहक र ब्याजदर खोसाखोस गर्ने बेला यो होइन। तपाईंहरुले संयमित र सन्तुलित लगानी गर्नुपर्छ। सिमित साधन स्रोत छ भने कहाँ लगाउने विचार गर्नुपर्छ। 

घरमा दुई पाउण्ड दूध ल्याएको छ र खानेमान्छे धेरै छ भने सबैभन्दा पहिले बालबालिका र रोगीले खान्छ। जसलाई पौष्टिकता चाहिएको छ त्यसले खान्छ। अहिले हाम्रो अर्थतन्त्रमा अलि पौष्टिकता चाहिएको साना-मझौला उद्योगजन्य क्षेत्र हुन्। त्यहाँ अलिकति क्यालोरी बढाइदिनुस्। अलि परिपक्वले एक दुई दिन सहनुपर्छ। दूध पर्याप्त भएको दिन सबैले खाउँला भनेर व्यवस्थापन गर्नुपर्ने हुन्छ। प्रतिबद्धता जनाएको सबै क्षेत्रमा लगानी गर्न पाइएन भनेर ब्याजमा प्रतिस्पर्धा गर्नुभन्दा कहाँनेर कर्जाको कुपोषण भएको छ विवेक लगाएर त्यहाँ लगानी गर्नुहोला। त्यसो भयो भने अहिले तातेको बजारलाई व्यवस्थित गर्न सहयोग पुग्छ। 

"हाम्रो बचतभन्दा उपभोग धेरै भएकाले भुक्तानी सन्तुलनको समस्या देखिएको छ। उपभोगलाई नियन्त्रण गर्ने हो भने त्यो समस्या हल हुन्छ। बैंकहरुले उपभोगमा जाने कर्जालाई नियन्त्रण गरिदिनुपर्ने छ। त्यति गर्ने हो भने भुक्तानी सन्तुलन ठीक हुन्छ र हामीले चाहेको क्षेत्रमा कर्जा पनि जान्छ र सात प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि पनि हासिल हुन्छ"

अहिले देखिएका चढावहरु असल र उच्च आर्थिक वद्धिका द्योतकहरु हुन्। हामी लगातार तेस्रो वर्षमा उच्च आर्थिक वृद्धि गर्ने संघारमा छौँ। नेपालको इतिहासमा कुनै एक वर्ष उच्च आर्थिक वृद्धि भयो भने तल खसिन्थ्यो। रोटेपिङ जस्तो थियो। अहिले हामी निरन्तर तेस्रो वर्षमा उच्च आर्थिक वृद्धितर्फ जाँदैछौँ। कृषिको उत्पादन पाँच प्रतिशत भन्दा माथि जाँदै छौँ। औद्योगिक उत्पादन १० प्रतिशत माथि जाँदै छ। सेवा क्षेत्र त्यसकै वरिपरी जाँदैछ। 

बैंकिङ क्षेत्र नाफामा छ। यो वर्ष नाफा बढ्दै गरेको पहिलो त्रैमासमै देखिएको छ। उद्योगहरु पूर्ण क्षमतामा चल्दैछन्। होटलहरु बुकिङ राम्रो छ। १० लाख भन्दा धेरै पर्यटक आइरहेका छन्। होटलमा भिआइपी आउँदा पनि कोठा बारेर सम्मेलन गर्नुपरेको छ। हामी दुई वर्षमा २० लाख पर्यटक ल्याउने भन्दै छौँ। अर्थतन्त्र यति द्रुत गतिमा बढिरहेको छ भने विश्वास कसरी घट्न सक्छ? हामीले विश्वास घटाउनुपर्ने कुनै पनि कारण देखेको छैन। 

हाम्रो बचतभन्दा उपभोग धेरै भएकाले भुक्तानी सन्तुलनको समस्या देखिएको छ। उपभोगलाई नियन्त्रण गर्ने हो भने त्यो समस्या हल हुन्छ। बैंकहरुले उपभोगमा जाने कर्जालाई नियन्त्रण गरिदिनुपर्ने छ। त्यति गर्ने हो भने भुक्तानी सन्तुलन ठीक हुन्छ र हामीले चाहेको क्षेत्रमा कर्जा पनि जान्छ र सात प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि पनि हासिल हुन्छ। त्यसो हुँदा हामी पाँचदेखि ६ प्रतिशतबीचको मुद्रास्फिति कायम गर्छौँ। यो बेलामा पनि हाम्रो विश्वास किन कमजोर हुने?

हामी लगानीसम्बन्धि कानुनहरु दुई/तीन महिनामा संशोधन गर्दैछौँ। मार्चको अन्त्यमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ। त्यसअघि कानुन सुधारका काम हुनेछ। संसदको अबको अधिवेशनमा दर्जनौँ कानुन संशोधन प्रस्ताव लैजाँदै छौँ। 

सरकारले विदेशी लगानी प्रवर्द्धनका लागि काम गर्दैछ। हामी पुँजी भित्र्याउने काम गरिरहेका छौँ। विदेशबाट पुँजी आउनुपर्छ। कागज मात्रै आउने कुरा हुँदैन। कागज आउने कुरालाई कम प्रोत्साहित गर्ने र बैंक खातामा पैसा आउने कुरालाई धेरै प्रोत्साहित गर्ने तर्फ लाग्नुपर्छ। कागजमात्रै दौडाएर तरलता बढ्दैन, राष्ट्र बैंकले पनि यसतर्फ सोचोस्। 

एउटा दुईवटा कागज दौडाएर पनि तरलता बढ्छ, जस्तो सरकारको खाताको पैसा बैंकहरुलाई चलाउन दिइयो। तर बाहिरबाट आउने कागज आएर यहाँ पुँजी बढ्दैन। यहाँ पुँजी नै आउनुपर्छ। त्यो पुँजी आउने गरी बैंकहरुले पनि काम गर्नुपर्छ। बैंकहरुलाई पनि बाहिरबाट लगानी ल्याउन सक्ने बाटो खोलिदिएको छ। 

हामी ‘सोभरन कन्ट्री रेटिङ’को प्रक्रियामा अघि बढेका छौँ। त्यसको नतिजा पनि केही समयमा आउला। तर यहीँ भित्रको स्रोतलाई लुछाचुँडी गरेर अहिलेको समस्या हुँदैन। अहिले म जुन पोजिसनमा छु, यहाँबाट तपाईंहरुलाई सहजीकरणका लागि तयार छु। तर अहिलेको काम भनेको पुँजी बढाउने, रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत भित्र्याउने, विदेशी लगानी बढाउने, पर्यटकको आम्दानी बढाउने र विदेशीले गर्ने खर्च तथा विदेशी विनिमयलाई सुपरीवेक्षण गरिदिने हो भने तरलताको अवस्था अलिकति सहज हुन्छ। 

अर्थतन्त्रको स्वस्थ विकासका लागि हाम्रो बचत पुग्दैन। हामी सिमित मात्रामा बचत गर्न सक्ने क्षमतामा छौँ। ऋण बढिरहेको हुन्छ। हामीले अहिले बचतभन्दा लगानीलाई प्राथमिकता दिनुपर्नेछ। त्यही लगानीको प्रतिफलले बचत तान्छ। तर अहिले लगानीकै ‘ग्याप’ छ। त्यसलाई कम गर्नेगरी हामी काम गरौँ। 

(नेपाल बैंकर्स संघको साधारणसभामा अर्थमन्त्री खतिवडाले दिएको मन्तव्यको सम्पादित अंश)

Share this Story

   

लघुवित्तको जस्तो ग्राहक खोसाखोस बैंकहरुका लागि आत्मघाती हुन्छ, अर्थमन्त्री खतिवडाको विचार को लागी १ प्रतिक्रिया(हरु)

RAKESH YADAV[ 2018-12-07 11:59:12 ]
Dear Minister sir,
i read your interview and you have talked about demand and supply theory. we all know that bank has crisis of fund i.e. deposit. but demand of loan increasing day to day. i suggest you to fullfill of deposit i.e. how the fund will be reach in market.

   हालसम्म २ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.