एफएनसीसीआर्इ उपाध्यक्ष चन्द्र ढकालले जापान पुगेर भने-‘नयाँ श्रम कानुनले लगानीको वातावरण बन्यो

रासस
२०७५ मंसिर ६ गते १५:४९ | Nov 22, 2018


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानूनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन्।    

Tata
GBIME
Nepal Life

श्रमिकहरूको वर्तमान आर्थिक अवस्था विषयमा आज जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले श्रम र श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी नयाँ कानूनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राखे। महासङ्घको रोजगारदाता परिषदको अध्यक्षसमेत रहेका ढकालले देशमा उद्योगधन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानूनले नयाँ वातावरण सिर्जना गर्ने र श्रमसँग जोडिएका विविध समस्या हल गर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको बताए।  

यी नयाँ कानूनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासङ्घलाई पनि सहयोग पुगेको धारणा उनले बताए।    नेपाल सरकार, रोजगारदाता, श्रमिकहरू आबद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल महासङ्घबीचको लामो छलफल र परामर्शपछि यी कानून आएका र नयाँ व्यवस्थाबमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरू पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिङ्गो अर्थतन्त्रमै यी कानूनले सकारात्मक प्रभाव पार्ने उनले बताए।    

श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरूको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानूनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने महासङ्घका उपाध्यक्ष ढकालले बताए।    योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैँको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ ।

उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थिर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूलाई आग्रह गरे। श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानून निर्माण भएको र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उनले बताए। कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता रहेको टोकियोबाट ढकालले जानकारी दिए।