काठमाडौंको धुलो अझै दुई महिना कुचोले नै बढार्नुपर्ने, इटालीबाट आउँदैछ १२ करोडका ५ वटा ब्रुमर

रासस
२०७५ मंसिर ५ गते १३:१८ | Nov 21, 2018


काठमाडौँ। धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महिना लम्बिएको छ ।

Tata
GBIME
Nepal Life

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको भएपनि केही प्रक्रिया बाँकी रहेकाले फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।

इटलीबाट ल्याइने उक्त यन्त्र खरीद गरिसकेको भए पनि ल्याउन केही प्रक्रिया बाँकी रहेकाले अझै दुई महिना लाग्ने भएको कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।  कामपाले  १२ करोड रुपैयाँ बराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको हो ।

हाल कामपाले कुचोले बढारेर धूलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ ।

महानगरको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीमा दैनिक धूलो सफा गर्ने र पानीले पखाल्ने काम गरिरहेको छ ।

महानगरले शहर सफा गर्न गत भदौको अन्तिम सातादेखि पाँच वटा ठूला यन्त्र प्रयोगमा ल्याइसकेको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर कामपाले ती यन्त्र प्रयोगमा ल्याएको थियो ।