विराटनगरबाट पनि माउन्टेन फ्लाइट, भाडा काठमाडौं भन्दा सस्तो, साप्ताहिक एक उडान मात्रै

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ मंसिर ४ गते २०:५० | Nov 20, 2018
विराटनगरबाट पनि माउन्टेन फ्लाइट, भाडा काठमाडौं भन्दा सस्तो, साप्ताहिक एक उडान मात्रै

विराटनगर। विराटनगरबाट दुई वर्षअघि प्रयोगका रूपमा गरिएको माउन्टेन फ्लाइट (पर्वतीय उडान)ले आगामी शनिबारदेखि निरन्तरता पाउने भएको छ ।
 
विराटनगरका होटल तथा पर्यटन व्यवसायीले भवीश श्रेष्ठको नेतृत्वमा स्थापना गरेको ‘विराट होलिडेज’ नामको व्यावसायिक प्रतिष्ठानले यही शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । विराट होलिडेजद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यति एयरको विमान भाडामा लिएर साप्ताहिक रूपमा पर्वतीय उडान गर्न लागिएको बताए । 
 
अध्यक्ष श्रेष्ठले विराटनगर विमानस्थलबाट ५५ मिनटको हुने माउन्टेन फ्लाइटको भाडादर ९ हजार ९ सय रुपैयाँ राखिएको जानकारी दिए । राजधानी काठमाडौंबाट माउन्टेन फ्लाइटको भाडादर ११ हजार ६ सय ५० रहेको उनको दाबी छ ।विराटनगरमा ०७३ फागुनमा भएको विराट एक्स्पोमा यति एअरको २९ सिटे जेट स्ट्रिम जहाजबाट माउन्टेन फ्लाइट गराइएको थियो । स्थानीय पर्यटन तथा होटल व्यवसायीकै सक्रियतामा गरिएको उक्त उडानको सफलतापछि यसको निरन्तरताका लागि उनीहरू प्रयासरत थिए ।
 
व्यवसायीले प्रदेश र सङ्घीय दुबै सरकारलाई विराटनगरबाट माउन्टेन फ्लाइटको वातावरण बनाइदिन हारगुहार गर्दै आएका थिए । तर दुबै सरकारले यसमा खासै ध्यान नदिएपछि उनीहरू आफैँ अग्रसर भएका हुन्। अध्यक्ष भवीशले ५५ मिनटको उडानमा झ्यालतिर १९ यात्रु राखिने र उनीहरूलाई ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, मकालु, सगरमाथा, ह्लोत्से र गौरीशङ्कर हिमालसम्म पुर्याएर विराटनगर विमानस्थलमै ल्याइपुर्याउने रुट तय गरिएको छ ।
 
‘हामीले नेपालका सबैजसो एयरलाइन्सलाई माउन्टेन फ्लाइटका लागि पटक–पटक अनुरोध गर्यौ’, श्रेष्ठको भनाइ थियो, ‘तर यात्रु नै हुँदैनन् भनेर कुनै विमान कम्पनी तयार भएनन् । त्यसपछि हामी आफैँले चार्टर्ड गरेर हप्ताको एक पटक उडाउन लागेका हौँ । यसको सफलतासँगै निरन्तरता र सङ्ख्या थपिँदै जानेछ ।’
 
तत्काल प्रदेश १ र २ का मुख्य शहरी क्षेत्र विराटनगर, इटहरी, दमक, बिर्तामोड, धरान, लाहान र सीमावर्ती भारतीय बजारलाई लक्षित  गरेर यात्रु जम्मा गरिएको उनले उल्लेख गरे । विराटनगरबाट माउन्टेन फ्लाइट सुचारु हुन सकेमा भारतको विहार, पश्चिम बङ्गाल, असम, सिक्किम र उत्तरप्रदेशबाट यात्रु ल्याउन सकिने तथा भूटान, बङ्गलादेशका यात्रुलाई पनि आकर्षित गर्न सकिने उनको विश्वास थियो ।साथै पूर्व आउने पर्यटकको बसाइ पनि लम्बिने र यसबाट पूर्वको पर्यटनले प्रशस्त लाभ पाउन सक्ने उनको धारणा छ । 
 
विराटनगरमा रहेका सबै ट्राभल एजेन्सीले यस फ्लाइटको टिकट विक्री गरिरहेका छन् ।प्रदेश १ मा रहेका लुक्ला, फाप्लु, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, थामखर्क, ताप्लेजुङ, इलामको सुकेलुम्बा लगायतका विमानस्थलमा विराटनगरबाट हवाई सम्पर्क छैन । माउन्टेन फ्लाइटले सफलता पाएमा ती विमानस्थल पनि विराटनगरसित जोडिन सक्ने भवीशको आशा छ ।
 
यतिका विराटनगरस्थित स्टेसन म्यानेजर प्रेम कुँवरले विराटनगरबाट माउन्टेन फ्लाइट सफल हुने दाबी गरे । नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले विराटनगरबाट माउन्टेन फ्लाइटका लागि कुनै समस्या नभएको जानकारी दिए ।
 
 
 

Tata
GBIME
Nepal Life