ग्राउन्डेड भएको निगमको ‘अन्नपुर्ण’ ले बुधबारबाट नियमित उडान भर्ने, फ्लाइट डिलेको समस्या हट्ने 

बिजमाण्डू
२०७५ मंसिर ३ गते १६:२४ | Nov 19, 2018
ग्राउन्डेड भएको निगमको ‘अन्नपुर्ण’ ले बुधबारबाट नियमित उडान भर्ने, फ्लाइट डिलेको समस्या हट्ने 


काठमाडौं। नेपाल वायुसेवा निगमको ब्राण्ड न्यू जहाज 'अन्नपुर्ण' ले बुधबारदेखि नियमित उडान भर्ने भएको छ। मर्मतसम्भार अन्तिम चरणमा पुगेकाले नियमित उडान गर्न लागेको निगमको इन्जिनियरीङ विभागले जनाएको छ। 

Tata
GBIME
Nepal Life

जहाज मर्मतपछि फ्लाइट डिलेको समस्या हट्ने दावी गरिएको छ। अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको हाल दुईवटा जहाजमा समस्या आएपछि फ्लाइट डिलेको समस्या आइरहेको छ। विमानस्थल स्रोतका अनुसार केही समययता दुईदेखि तीन घण्टा उडान ढिला हुँदै आएको छ। 

ब्रेकिङ सिस्टममा खराबी आएपछि दश दिन अगाडिदेखि जहाज मर्मतका लागि ग्राउण्डेड गराइएको थियो। यसअघि कात्तिक १६ गते दोहामा ब्रेकिङ सिस्टममै समस्या आएपछि यो जहाज मर्मत गरेर ६ घण्टा ढिलो उडान भएको थियो। बिहीबार फेरी त्रिभुवन विमानस्थलमा त्यही समस्या दोहोरिएपछि ब्रेकिङ सिस्टमनै परिवर्तन गर्नुपर्ने अवस्था आएको थियो।

जहाजको ब्रेकिङ सिस्टम फेर्दा लाग्ने खर्च जहाज बिक्री गरेको एएआर कम्पनीले ब्यहोर्ने छ। 'खरिदबिक्री सम्झौता अनुसार नयाँ ब्रेकिङ सिस्टम जडान गरिसकेपछि निगमले पुरानो ब्रेकिङ सिस्टम कम्पनीलाई नै बुझउनुपर्ने प्रावधान रहेको छ' निगमका एक कर्मचारीले भने।     

एक सय ५८ सिटे दुई वटा न्यारोबडी जहाज, एक सय ९० सिटे एउटा बोइङ ७५७ र दुई वटा दुई सय ७५ सिटे  वाइडबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको निगमको हाल तीन वटा जहाजले मात्र उडान भर्दै आएको छ। 

निगमको बोइङ ७५७ 'गण्डकी' केहि समय अगाडि मर्मतका लागि क्वालालम्पूर लगिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ निगमसँग भएका तीन वटा जहाजले दोहा, क्वालालाम्पुर, हङकङ, सिंगापुर, बैंकक, मुम्बाइ, दिल्ली, बैंगलोर लगायतका गन्तब्यमा उडान भर्दै आएको छ।