बैठक सकेर राष्ट्र बैंक पुगेको बैंकर टोलीले माग्यो नीतिगत सहुलियत, ‘६/७ वटा बैंक अफ्ठ्यारोमा’

बिजमाण्डू
२०७५ मंसिर २ गते १५:२४ | Nov 18, 2018
बैठक सकेर राष्ट्र बैंक पुगेको बैंकर टोलीले माग्यो नीतिगत सहुलियत, ‘६/७ वटा बैंक अफ्ठ्यारोमा’

काठमाडौं। कल डिपोजिटको ब्याज दरका बारेमा नीतिगत सहुलियत दिन बैंकर्स संघले राष्ट्र बैंकसँग माग गरेको छ। आइतबार संघमा आबद्ध २८ बटै बैंकसँग छलफल गरेपछि अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना नेतृत्वको टोलीले राष्ट्र बैंकका अधिकारीहरुलाई भेटेर नीतिगत सहुलियत खोजेका हुन्।

Tata
GBIME
Nepal Life

ढुङ्गाना, रत्नराज बज्राचार्य, पर्शुराम कुँवर क्षेत्रीलगायत ६ जनाको टोली दिउँसो राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेललाई भेट्न वालुवाटार पुगेको थियो।

बैंकर टोलीले बचतको न्यूनतम ब्याज बराबर कल डिपोजिटको ब्याज हुनु पर्ने ब्यवस्थाले विक्रिति आएको भन्दै त्यसलाई ९१ दिने ट्रिजरी बिलको दरसँग जोडिदिनु पर्ने माग गरेको हो।

संघले बैठकपछि आफ्ना सदस्य बैंकरहरुलाई 'मोबाइल म्यासेज' मार्फत कल डिपोजिटको ब्याज दरका बारेमा एक साता कुर्न भनेको छ। वैठक चलिरहँदा भने कुनै पनि निर्णय भएको थिएन। छलफलमा साना र ठूला बैंकबीच निक्षेप खोसिएको बिषयलाई लिएर वादविवाद भएको थियो।

संघले ९१ दिने ट्रेजरी बिलको दर जति हुन्छ कल डिपोजिटको दर पनि त्यति नै गर्न राष्ट्र बैंकसँग माग गरेको हो।

'हामीले नितिगत सहुलियतका लागि राष्ट्र बैंकसँग आग्रह गर्ने भएका छौं' संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बिजमाण्डूसँग भने, 'केही न केही हल पक्कै निष्कन्छ।'

राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक पौडेलले संघको टोलीले कल डिपोजिटको ब्याजमा लचकता अपनाउन आग्रह गरेको जानकारी दिए। 'हामीले तपाईहरुको माग वा सुझाव लिखित रुपमा पठाउनुहोस् भनेका छौं' उनले भने, 'त्यसपछि हाम्रोमा आन्तरिक छलफल हुन्छ। अहिले हामीले माग पुरा गर्छौं गर्दैनौं केही पनि भनेका छैनौं।'

अध्यक्ष ढुङ्गानाले ६/७ वटा बैंकको निक्षेप अर्को बैंकमा सर्दा ती बैंकको कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत हाराहारी पुगेको जानकारी दिएका थिए। उनले राष्ट्र बैंकबाट आवश्यक सहयोग पाए सिसिडी सीमाभित्र बस्न बैंकहरुलाई सहयोग पुग्ने बताएका थिए।