जापानको सफ्टबैंकले २१ अर्ब डलरको आइपीओ जारी गर्दै, प्रति कित्ता शेयर मूल्य १३ डलर

रासस
२०७५ कात्तिक २६ गते १७:२८ | Nov 12, 2018
जापानको सफ्टबैंकले २१ अर्ब डलरको आइपीओ जारी गर्दै, प्रति कित्ता शेयर मूल्य १३ डलर


टोकियो। जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको शेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो ।

Tata
GBIME
Nepal Life

आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प्रति शेयर मूल्य १३ डलर तोकिएको छ । यो शेयर सफ्टबैंकको मोबाइल युनिटको मात्र हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार शेयर जारी गरेपश्चात सफ्टबैंकको मोबाइल युनिटको मूल्य ७१ खर्ब ८० अर्ब जापानी येन पुग्नेछ । गत फेब्रुअरीमा नै कम्पनीले आइपीओ निष्कासन गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा आइपीओ जारी गरेपश्चात मोबाइल युनिटमा “व्यापक व्यवस्थापकीय स्वतन्त्रता” प्राप्त हुने बताइएको थियो ।

सफ्टबैंकले सोमबार गरेको घोषणामा शेयर सूचीकरणले मुख्य संस्थापक कम्पनी एसबीजी र यसको जापानी मोबाइल युनिटको भूमिकालाई स्पष्ट गर्नेछ । “एसबीजीले विश्वभर छरिएर रहेका कम्पनीमा लगानी विस्तार गरिरहेको छ, र समूहको दूरसंचार व्यवसायका क्षेत्रमा सफ्टबैंक मुख्य कम्पनी हो,” वक्तव्यमा भनिएको छ ।

शेयर सूचीकरण पश्चात सफ्टबैंकले मोबाइल युनिटका क्षेत्रमा ६३ दशमलब १४ प्रतिशत हिस्सा ओगट्नेछ । प्रमुख कार्यकारी अधिकृत मासायोशी सोनको नेतृत्वमा सफ्टबैंकले शुरुआती दिनहरुमा सफ्टवेयरका क्षेत्रमा कार्य गरेपनि हाल लगानी कम्पनीको रुपमा अगाडि बढेको छ । सफ्टबैंकको १०० अर्ब डलरको भिजन फन्डको प्रयोग गरी सोनले हाल चल्तीका प्रविधि कम्पनीहरु उबेर, स्लाक, वीवर्क र एनभिडियामा लगानी गरेका छन् ।

यो रकमको झण्डै आधा हिस्सा साउदी अरेबियाबाट प्राप्त भएको छ, तर पत्रकार जमाल खशोग्जीको हत्या पश्चात सफ्टबैंकसँग साउदी अरेबियाको सम्बन्ध र लगानीका बारेमा प्रश्न उठ्न थालेको छ । यही महिनाको शुरुमा सोनले पत्रकार खशोग्जीको हत्याको भत्सर्ना गर्दै उनले साउदी अरेबियासँगको व्यावसायिक सम्बन्ध यथावत राख्ने बताएका छन् ।