नेपालमै पहिलोपटक बिजुली बलेको सिद्धिलाल महर्जनको त्यो घर, जो अहिले उज्यालोको पर्खाइमा छ




सबै जना तिहारको रमझममा झुमेका छन्। घरहरूमा झिलिमिली बत्ती बलिरहेका छन्। तर, खोकनामा ऐतिहासिक महत्त्व बोकेको एक घरमा भने बिजुलीका तार र बल्ब त छन्, बत्ती बाल्न घरमा मानिस छैनन्।

यो त्यही घर हो, जहाँ नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको थियो। अहिले घर जीर्ण बनेको छ।


सेतो रंगले पोतिएको पुरानो घर। सँझ्याः, तिकिझ्याः, म्हय्‌खाझ्याः रहेको घर भने टेकोको भरमा अड्डिएको छ। सँझ्या: (तीन मुखे झ्याल) को मुनितिर सिंहको मुखमा बल्ब छ। त्यसको तल एउटा बोर्डमा लेखिएको छ 'वेलकम टु द खोकना म्युजियम'।

होचो ढोका। साँघुरो बाटोमा ग्यासका सिलिन्डर। बाटैमा झुण्ड्याइएका बल्बमा भने बिजुली नबलेको धेरै भयो। नेपालमै पहिलोपटक बिजुली बलेको भने पनि अहिले भित्र जाँदा मोबाइलको लाइट बालेर हिँड्नुपर्ने अवस्था छ।

घरभित्र चोक रहेकाले केही प्रकाश भने आउँदै थियो। तर झरी पर्दा भुँइतल्ला पुरै जलमग्न हुने समस्या छ। घरका दलीनहरू मक्किएका छन्। भूकम्पले भित्ताहरू चर्किएका छन्।

एक तल्ला माथि घरधनी मदनकृष्ण महर्जन आफ्नी श्रीमती र आफन्तहरूसँग थिए। काठको भर्‍याङ चढेर पहिलो तल्लामा पुग्दा कोठा पुरै अँध्यारो थियो। माटोले लिपेको भुईँमा पाइला टेक्नसाथ, भुईँ नै हल्लिने।


'खत्तम छ खत्तम। खत्तम भन्ने बुझ्नु हुन्छ होइन?' हामीले नेपालमै पहिलोपटक बिजुली बलेको घरको अवस्थाबारे जिज्ञासा राख्दा घरधनी मदनकृष्ण महर्जन अली रिसाए।

घरको अवस्थाबारे बोल्न आनाकानी गरेका मदनले पछि केही कुरा भने 'यो घर देखाएर राज्यले धेरै कमाउन सक्छ। हामीलार्इ पनि जीवन निर्वाह गर्न सजिलो हुन्थ्यो।'

बत्तीको लाइन छैन भनेर सोध्दा उनले भने,' लाइन त छ। हामी यहाँ बस्दैनौँ। भूकम्पले घरमा क्षति पुगेपछि यहाँ बस्न सकेनौँ। माथि भाइको घरमा बस्छौँ। बत्ती बाल्नै पर्दैन।'

अहिले भने सिंहको टाउकोमा अड्याइएको बल्बमा कहिलेकाहीँ राति बत्ती बाल्ने गरेको उनले बताए।

बाजे सिद्धिलाल महर्जनले फर्पिङमा सञ्चालन गरिएको जलविद्युत परियोजनाबाट पहिलोपटक आफ्नो घरमा बिजुली बलेको नाती मदनकृष्णले बताए।


कसरी बल्यो सिद्धिलालको घरमा बत्ती?
राणा प्रधानमन्त्री चन्द्रशमशेरले फर्पिङको चन्द्रज्योति विद्युत गृहबाट उत्पादन भएको बिजुली ललितपुरको खोकना हुँदै दरबार पुर्‍याएका थिए। कहिल्यै प्रयोग नै नभएको बत्ती सिधै दरबारमा लान राणा शासकहरू हच्किरहेका थिए। त्यसैले उनीहरूले खोकनामा रहेको सिद्धिलाल महर्जनको घरमा बत्ती बालेर परीक्षण गर्ने निर्णय गरेको स्थानीयको भनाई छ। पहिला सिद्धिलालले घरभित्रै बिजुली बाल्न मानेनन्। त्यसैले उनले घर बाहिर सिंहको टाउकोमा बल्ब राखेर बत्ती बालेको बताउँछन् मदनकृष्ण पनि।

त्यसपछि घरमा लगातार तीन-चार वर्ष बिजुली बलेको थियो। पहिला नि:शुल्क भए पनि पछि राणा शासकहरूले मिटर जडान गरी पैसा लिन सुरु गरेका थिए।

देशभर बिजुली बल्न थालेपछि खोकनाको यो घर इतिहासका पानाहरूमा सीमित हुँदै गयो। तर सिद्धिलाललार्इ आफ्ना बाजेबाबुको चिनो त्यसरी ढलेको हेर्ने रहर थिएन। तिहारमा सबैको घरमा झिलिमिली हुँदा आफ्नो घरलार्इ अन्धकारमा राख्ने कुरा पनि त भएन। उनले घरलार्इ संग्रहालय बनाउने निधो गरे।

२०६८ सालतिर नेपालमा पहिलोपटक बिजुली बत्ती बलेको घर संग्रहालय बन्यो। टिकट मूल्य राखियो ५०। तोरीको तेलले प्रसिद्ध रहेको खोकनाको नयाँ चिनारी बन्यो संग्रहालय।

व्यक्तिगत प्रयासमा मदनकृष्णले आफ्नो घरलार्इ संग्रहालय बनाउँदा न त सरकारले सहयोग गरेको थियो न त स्थानीय सरकारले नै। राणा शासनमा प्रयोग भएको बल्ब, मिटर, नेवारी संस्कृति झल्कने विभिन्न सामानहरु संग्रह गरी उनले संग्रहालय त बनाए, केही समय पर्यटकहरु पनि आए। तर सायद त्यो प्रयास पर्याप्त भएन। 

सामानहरु सुरक्षित भएनन्। कति त हराए। विद्युत प्राधिकरणले नयाँ मिटर जडान गरी राणाकालको मिटर नै लग्यो। २०७२ मा गएको भूकम्पले उनको घरमा क्षति पुग्यो। टेकोको भरमा रहेको संग्राहलयमा बाँकी रहेका सामानहरू असुरक्षित हुने डरले सन्दुकमा जतन गरी राखियो। त्यसपछि त्यहाँ तिहारमा नि बत्ती बाल्न छाडियो।

'भुइँमा टेक्यो कि हल्लिन्छ। कहिलेकाहीँ पर्यटक आउँछन्। के देखाउने। त्यसैले अहिले संग्रहालय बन्द गर्नु परेको छ। उनलार्इ सञ्चो पनि छैन। कसले हेर्ने?' नजिकैको कोठामा रहेकी उनकी श्रीमतीले भनिन्।

मर्मत गरेर व्यवस्थित गर्न सक्यो भने संग्रहालय पुन: उज्यालो हुनेमा मदनकृष्णलार्इ अझै विश्वास छ।

संरक्षणको पहल
नेपालमै पहिलोपटक बिजुली बलेको र पाइपलार्इनबाट पानी वितरण भएको एउटा सिंगो इतिहास बोकेको शहर खोकनाका स्थानीयहरुको पनि संग्रहालयसँग धेरै आशा रहेछ।

खोकनामा रहेको श्री रुद्रायणी माध्यमिक विद्यालयका उपप्रधानाध्यापक रहेका कृष्णभक्त श्रेष्ठ भन्छन् 'स्थानीय तहले खोकनामा पर्यटकीय विकास गर्ने हो भने संग्रहालयमा रहेको कमी कमजोरी पत्ता लगाएर त्यसको संरक्षण गर्न सहयोग गर्नुपर्छ।' 

कृष्णभक्तका अनुसार 'सो घरमा १९०२ सालमा जंगबहादुरको पालामा हातैले लेखेको मुलुकी ऐन' छ। यस्तै खोकना शहर बन्नुअघिका इट्टाहरु, ऐतिहासिक परम्परागत सामाग्रीहरु रहेका छन्।
खोकना संग्रहालयले खोकनालार्इ परिचय दियो तर त्यो घरले अन्धकार बाहेक केही नपाएको भन्दै कृष्णभक्तले भने 'व्यक्तिगत स्तरबाट संग्राहलय स्थापना गरिएको हो। त्यस्तो प्रयास गर्ने मनिसलार्इ राज्यले साथ दिनुपर्छ।'

खोकना शहर रहेको ललितपुर महानगरपालिका वडा २१ का वडा अध्यक्ष रवीन्द्र महर्जन भने व्यक्तिगत घर भएकाले केही समस्या भएको उनले बताए। रवीन्द्र भन्छन् 'पहिलेदेखि उहाँ आफैंले घरको संरक्षण गर्दै आउनुभएको छ। व्यक्तिगत सम्पत्ति भएकाले हामीले हस्तक्षेप गर्ने कुरा पनि भएन। तर संग्रहालय निर्माणका लागि हामीले बजेटको लागि सिफारिस गरेका छौँ।'

खोकनावासीको इतिहास मासिन नदिने भन्दै उनले भने 'वडा तहले पहल नगरेको होइन। यो त खोकनाको गौरव हो। त्यसैले पुरानो शैली बचाएर घरको निर्माण कसरी गर्ने भन्नेबारे हामीले उहाँहरूसँग कुरा गर्ने सोचिरहेका छौँ। हामी त्यो ऐतिहासिक घरलार्इ नमुना घर बनाउँछौँ।'  

भूकम्पले धेरै घर र सम्पदा भत्किएका र चर्किएका छन्। धेरैको तिहार अहिले पनि असुरक्षित घरभित्रै कटिरहेको छ। टेकोको आडमा रहेको मदनकृष्णको घर पनि वर्षौँसम्म लोडसेडिङ बेहोरेका हामी नेपालीहरूका लागि जिउँदो सङ्ग्रहालय हो। त्यसलार्इ उनकै शब्दमा 'खत्तम' बनाउन नदिन सबैले प्रयास गर्नुपर्छ।

Share this Story

   

नेपालमै पहिलोपटक बिजुली बलेको सिद्धिलाल महर्जनको त्यो घर, जो अहिले उज्यालोको पर्खाइमा छ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.