रिन्छेन साङ्पोले बसाएको शेर्पा कोलोनीः तीन बस्ती तर एउटै छ संस्कृती




सन् १९९८ मा रिन्छेन साङ्पो शेर्पा पहिलोपटक हल्यान्ड पुगे। उनी त्यहाँको वातावरण देखेर छक्क परे । उस्तै रङ, डिजाइन र आकारका घरहरू मिलेर बनेको बस्तीले उनको मन लोभ्यायो। त्यसबेला सम्झे सोलुखुम्बुको आफ्नो गाउँमा लहरै रहेका घरहरू। शेर्पालाई लाग्यो— यस्तो बस्तीमा सबै आफन्तहरू सँगै बस्न पाए आफ्नै गाउँमा बसेजस्तो हुन्छ होला।

‘कम्तीमा दिदीबहिनीको परिवार र आफ्ना लागि मात्रै भए पनि यस्तै बस्ती बनाउँछु भन्ने लाग्यो,’ उनले पुराना कुरा कोट्याए, ‘परिवारका १७ जनालाई १७ वटा घर मेरो योजना बन्यो।’



उनका बुबाले सन् १९८६ मा काठमाडौंको तीनचुलीमा किनेको ७ रोपनी ९ आना जग्गा थियो। त्यसमै उनले ‘ड्रिम प्रोजेक्ट’ को नक्सा मनमनै कोर्न थाले । सपना पूरा गर्न आवश्यक मिहिनेत पनि जोड्दै गए। पारिवारिक बस्ती विकासको अवधारणामा काम गर्दै जाँदा त्यो ‘बिजनेस प्लान’ मा परिणत भयो। उनले एउटा सामुदायिक कोलोनी बनाउने योजना बनाए। सन् २०१० मा त्यो पूरा भयो।

‘म चाहन्थेँ विदेशमा जस्तो छिमेकीले एकअर्कालाई नचिन्ने, भाषा नबुझ्ने नहोस्। त्यहाँ जस्तो बोलीचाली निकै औपचारिक पनि नबनोस् । आज मैले चाहेजस्तै भएको छ। कोलोनी नै सिङ्गो परिवार बनेको छ। नयाँ वर्ष, ल्होसार एकसाथ मनाउँछौं । एकअर्काको भाषा र मर्म बुझ्छौं। परेको बेलामा सहयोग लेनदेन हुन्छ। म खुशी छु । अब रिटायर्ड लाइफ बिताउँछु,’ एक सासमा यति भनिसक्दा उनको मुहारमा सन्तुष्टि झल्कियो।

‘शेर्पा कोलोनी’ नाम दिएर बुबाको त्यो जग्गामा उस्तै र उत्रै देखिने २३ वटा घर बनाए उनले  नीलो रङका ती घरको कोलोनी त्यस क्षेत्रमै आकर्षणको केन्द्र बन्यो। त्यसबेला काठमाडौंमा कोलोनी वा अपार्टमेन्टको प्रचलन उति बाक्लिसकेको थिएन।

बुबाआमाले त उनलाई जग्गा दुरुपयोग गर्न लाग्यो भनेर रोक्न नखोजेका होइनन्। साथीभाइले पनि पैसा नडुबाउन सुझाएका थिए। तर, शेर्पा समुदाय मात्र बस्ने कोलोनी बनाउने हठ यति जब्बर थियो कि न उनलाई कसैले रोक्न सक्यो न त पैसाकै अभावले छेक्यो।



कोलोनीको मास्टर प्लानमा कोरियो दुईवटा घर १०÷१० आनामा, ११ वटा घर ३÷३ आनामा, चारवटा घर २÷२ आनामा र ६ वटा घर पाँच आनाको प्लटमा बन्ने। घरको बुकिङ खोल्नुअघि नै उनले सार्वजनिक आह्वान गरे— म शेर्पाहरूको बस्ती बनाउन चाहन्छु, त्यसैले शेर्पा समुदायकाले मात्र घर खरिदका लागि सम्पर्क गर्नुहोला। त्यसरी आह्वान गरेको धेरै लामो अवधि कुर्न परेन उनलाई शेर्पा कोलोनीका २३ घर बिक्री गर्न।

‘म गाउँ छाडेर छरिएका शेर्पालाई यतै एकीकृत गर्न चाहन्थें। हरेक घरमा मान्छे आउनासाथै उपहारस्वरूप रूखका तीनवटा बिरुवा उपहार दिएँ,’ मुस्कुराउँदै उनले सुनाए।

मान्छे र घरले मात्र बस्ती सुन्दर हुँदैन भन्ने कुरालाई मनमा राखेका शेर्पा भन्छन्, ‘कोलोनीभित्र बोटबिरुवा, फूल, फलफूल रोप्न सधैं सबैलाई प्रोत्साहित गरें। त्यसैको नतिजा हो— आज हरियालीले कोलोनीमा सुन्दरता थपेको छ। हरेक घरमा कम्तीमा ३ देखि ५ वटा रूख छन्। कोलोनीभरि करिब ६ सय गमलामा फूल फुलेका छन्। यसको हेरविचारका साथै कोलोनीको सरसफाइ र सुरक्षाका लागि हरेक घरले मासिक ३ हजार ५ सय योगदान गरेका छन्।’

धार्मिक, जातीय, भाषिक र सांस्कृतिक रूपमा एक बनेकाहरूको ‘गाउँ’ हो शेर्पा कोलोनी।

छोटो समयमै कोलोनीमा देखिएको रोमाञ्चता र एकताले उनलाई हौस्यायो। र, पुनः नयाँ प्रोजेक्ट सुरु गरे। बस्ती बाक्लो नभइसकेको काठमाडौंको उत्तरपूर्वी भेग आरुबारीमा बाटोसँगै जोडिएको चार रोपनी जग्गा लिए। बसोबासका लागि रुचाइएको उक्त ठाउँमा दोस्रो शेर्पा कोलोनी बन्यो। दोस्रो परियोजनाका १३ घर बनिनसक्दै बिक्री भएको कुरा सुनाए उनले। त्यहाँ अर्को एउटा शेर्पा समुदाय एकै ठाउँमा जोडिए।

उनी थप हौसिए। तीनचुलीबाट पाँच सय मीटर पर भोलडाँडामा तेस्रो शेर्पा कोलोनी बन्ने भयो। यसपटक चाहिँ प्रोजेक्टमा रिन्छेन एक्लो रहेनन्। उनले छोरीलाई आफ्नो म्यानेजर बनाए। ‘ऊ प्लस टु सकेर विदेशिने सोचमा थिई, मैले रोकें । नेपालमा अवसर र फाइदा दुवै देखेको थिएँ । विदेशको दुःख पनि अनुभव गरेको मान्छे हुँ,’ छेवैमा बसेकी छोरी काल्साङ् याङ्की शेर्पाको अनुहारमा हेर्दै उनले भने, ‘काम सिकाउन राखेको थिएँ। उसले त पूरै जिम्मेवारी नै सम्हाली।’

बुबा–छोरी मिलेर काम गरेपछि तयार भएको तेस्रो शेर्पा कोलोनीमा ७ वटा भवन बने— एउटा गुम्बा र ६ वटा घर।



तीनवटै कोलोनीमा सोलुखुम्बु, ताप्लेजुङ, रामेछाप, संखुवासभालगायत जिल्लाका शेर्पा परिवार छन्। भने, ‘अरू समुदायका पनि घर किन्न आउनुभएको थियो। तर, मैले शेर्पा समुदायले नै किनुन् भनेर बेचिनँ।’

शेर्पा कोलोनीका तीन, चार र पाँच आनाको प्लटमा बनेका घर क्रमशः उनले ८५ लाख, एक करोड १५ लाख र एक करोड ३५ लाखमा बिक्री गरेका थिए। अहिले त्यो आकारको प्लटका घरको मूल्य धेरै बढ्यो तथापि माग भने उत्तिकै रहको उनी बताउँछन्। ‘अहिले करोडभन्दा कममा घर आउँदैन । पाँच आनामा बनेको घर पाँच करोड पुग्यो तर पनि किन्न छोड्दैनन्,’ उनले भने।

तीनवटा कोलोनी बनाइसक्दा भोगेको चुनौतीका कुरा गर्न उनलाई त्यति रुचि जाग्दैन। भन्छन्, ‘राज्य र राजनीतिक पार्टीबाट भोग्नुपर्ने दुःख म एक्लोको होइन । यस्तो कुराले निराश मात्रै बनाउँछ। म त नेपालमै पैसा र सम्बन्ध दुवै कमाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु।’

हाल उनको कम्पनी पीके एण्ड सन डेभलपर्स प्रालिले बूढानीलकण्ठमा नयाँ कोलोनी निर्माण थालेको छ। यसपटक प्रोजेक्टको नाम भने फरक दिएका छन् ‘हेछेनिङ लग्जरी को भिल्ला’  ‘शेर्पा कोलोनी ब्राण्ड बनिसक्यो अबको कोलोनीलाई स्वर्गजस्तै बनाउन खोजेका छौं । त्यसैले शेर्पा भाषामा स्वर्गको नाम दिएका हौं,’ उनले नयाँ कोलोनीको नामको अर्थ खुलाए ।

त्यहाँ १४ रोपनीमा २७ वटा घर बन्दै छन्— थप फराकिला र सुविधा सम्पन्न । त्यहाँका घर पनि बनिनसक्दै २३ वटा बुक भइसकेका छन् । ‘समयसँगै बढेको माग र खोजिने सुविधा प्रदान गर्न प्रतिबद्ध छौं । शहरका बस्तीहरू सुन्दर बनाउनु मेरो एउटै इच्छा हो,’ उनले थपे ।

रिन्छेनले अबको १० वर्षपछि पनि हाउजिङ व्यवसायमा ‘जोखिम’ देखेका छैनन् । ‘वैदेशिक रोजगारमा गएका बाहेक नै विदेशमा करिब १० लाख नेपाली छन् । उनीहरूमध्ये २५ प्रतिशत केही वर्षमा फर्कन्छन् । उनीहरूको बसाइको पहिलो रोजाइ काठमाडौं नै हो,’ उनी ढुक्क हुँदै भन्छन्, ‘५ वर्षभित्र १ लाख घर बिक्री हुने मेरो अनुमान छ । आफ्नै अनुमानलाई साथ दिन पनि काम गर्नुपर्छ ।’

बूढानीलकण्ठकै अर्को क्षेत्र र सोलुखुम्बुमा अबको दुई–तीन वर्षभित्रै थप कोलोनी निर्माण गर्ने उनको योजना छ ।
प्रोपर्टी मासिकबाट


Share this Story

   

रिन्छेन साङ्पोले बसाएको शेर्पा कोलोनीः तीन बस्ती तर एउटै छ संस्कृती को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.