लगानीकर्तालाई अर्थमन्त्री खतिवडाको ‘शुभकामना’, ‘लक्ष्मी पुजाले मूल्य प्रभावित पार्नु हुँदैन’

बिजमाण्डू
२०७५ कात्तिक २० गते १३:०७ | Nov 6, 2018
लगानीकर्तालाई अर्थमन्त्री खतिवडाको ‘शुभकामना’, ‘लक्ष्मी पुजाले मूल्य प्रभावित पार्नु हुँदैन’

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल स्टक एक्सचेन्जले तयार पारेको पूर्ण रुपमा स्वचालित अनलाइन प्रणालीको उद्घाटन गर्दै लगानीकर्ताको धन बृद्धिको कामना गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले लगानीकर्ताको धन बृद्धि हुँदा सरकारलाई पनि बढि कर आउने बताए। उनले भने 'लक्ष्मी पुजाको श्रद्धा त हुन्छ तर तर शेयर मूल्यलालार्इ लक्ष्मी पुजाले प्रभावित पार्नु हुँदैन। लक्ष्मीले तपार्इहरुलार्इ साथ दिउन्। लगानीकर्ताको धन बढ्यो भने मुलकको पनि धन बढ्छ। त्यसपछि हामीले पूँजीगत लाभकर त लगाउन पाइनै हाल्छौ।'

अर्थमन्त्री खतिवडाले २०५० सालदेखि 'ओपन क्राइङ सिस्टम' अनुसार कम्पनीको मूल्य हेरेर कराउने प्रचलन रहँदै आएकोमा पछिल्लो सयम शेयर बजार घट्दै गर्दा अर्थमन्त्रालय तिर हरेर कराउने प्रचलन बढेको बताए। 

उनले भने 'अर्थ मन्त्रालयतिर हेरेर कराउनेभन्दा पनि कम्पनीको वासलात हेरेर, कम्पनीको नाफा नोक्सान हेरेर, कम्पनी कता जान सक्ला भन्ने विश्लेषण गरेर लगानी गर्नु उपयुक्त हुन्छ।'  

उनले पूँजीगत लाभकर गणनाको विवाद अर्थ मन्त्रालयले टुङ्ग्याएको र केही दिनमा नै सबै लगानीकर्तालार्इ थाहा हुने जानकारी दिएका छन्। 

आर्थिक बृद्धि भैरहँदा शेयर बजार भने निरन्तर ओरालो लागेर तालमेल मिल्न नसकेको भन्दै उनले भने 'आर्थिक कृयाकलाप बढिरहेको छ। आर्थिक कृयाकलाप बढ्दै गर्दा यसको प्रभाव शेयर बजामा पनि देखिन्छ। तर यसका खेलाडी स्वस्थ नभएर हो कि तत्कालिन सट्टेबाजी बढेर हो, बजार बढ्न सकेन।'

शेयर बजारको विकासका लागि संस्थागत लगानीकर्ता आवश्यक परे पनि बैंकमै ११ प्रतिशत व्याज पाउने भएपछि शेयर बजारमा आउन लगानीकर्ता हच्किएको उनले बताए। हरेक चिजको सिजन भएजस्तै बैंकिङ तरलताको पनि सिजन हुने हुँदा केहि समयसम्म यस्तो सिजन कायम रहने उनले बताए। उनले भने 'बैंकमा सँधै ११ प्रतिशत व्याज पाइँदैन त्यसैले आफ्नो लगानीलार्इ विविधीकरण गर्नुहोस्।' 

समग्र शेयर बजारको विकासको लागि केहि पूर्वाधारको पनि विकास गर्नु पर्ने सन्दर्भमा अनलाइन प्रणालीको पनि विकास भएको खतिवडाले बताए। उनले अझै यसको विकास गर्नु पर्ने आवश्यकता देखिएको बताए। उनले बजारको विविधीकरण, किनवेचको विविधीकरण, प्रोडक्टको विविधीकरण र बजारको विविधीकरणपछि मात्रै शेयर बजारको विकास हुने विश्लेषण सुनाए।  
 
नेपाल स्टक एक्सचेन्ले अनलाइन प्रणाली ल्याए पनि बैंकिङ प्रणाली समावेश नगर्दासम्म पुर्ण रुपमा अनलाइन प्रणाली कार्यान्वय नहुने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए। उनले भने 'घरबाट शेयर खरिद बिक्रीको लागि मात्रै आवदेन दिन पाएर के गर्नु, पैसाको कारोबार गर्न ब्रोकरकै अफिसमा आउनु पर्ने भएपछि।'

उनले यसको लागि नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डले केन्द्रीय निक्षेप प्रणालीमार्फत बैंकहरुसँग टाइअप गरेर रकमको पनि राफसाफ हुने व्यवस्था गर्न सुझाव दिए। कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की २०६४ मा ल्याइएको कम्प्युटराइज सिस्टमलार्इ ५ वर्षमा प्रतिस्थापन गर्ने भनिएको भए पनि १२ वर्षमा प्रतिस्थापन गर्दै अनलाइन प्रणाली ल्याउन सकिएको बताए। 

कार्यक्रममा डेपुटी गभर्नर शिवराज श्रेष्ठले नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको नेप्सेको शेयर बिक्री गरिने जानकारी दिए। उनले भने 'हामीले डिडिएको लागि प्रस्ताव गरेका छौ। डिडिएको रिपोर्ट आएसँगै संस्थागत लगानीकर्तालार्इ शेयर बेच्न तयार छौ।'