स्थानीय र प्रदेश सरकारसँग साझाको सहकार्य, ललितपुर, गोदावरी र महालक्ष्मी नगरपालिकाले शेयर किने





ललितपुर। साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ ।

दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए।


नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उनले बताए।  

प्रदेश सरकारले पनि साझासँग सहकार्य गर्न इच्छा देखाएको छ । अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेका छन् । उनले भने, “हामीले नगरपालिकालाई शेयर दिने र त्यहीँबाट बस किनेर सञ्चालन गरिरहेका छौँ ।”

ललितपुर महानगरपालिकाले  १५ करोड, ललितपुर महानगरपालिकाले एक करोड, गोदावरी नगरपालिकाले  १० लाख र महालक्ष्मी नगरपालिकाले  १५ लाख रुपैयाँको  शेयर खरीद गरिसकेका छन् ।

काठमाडौँ उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ ।

पहिले साझाले नगरका भित्री भागमा मात्रै सेवा सञ्चालन गरेकामा अहिले भक्तपुर, लामाटार, गोदावरी र बूढानीलकण्ठसम्म सेवा विस्तार गरेको छ । पाण्डेयले भने, “अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गर्दै लैजाने योजना छ ।”

एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गरेको विद्युतीय बस पनि साझाको व्यवस्थापनमा केही समयका लागि काठमाडौँ उपत्यकामा नै गुड्दैछ ।

 

Share this Story

   

स्थानीय र प्रदेश सरकारसँग साझाको सहकार्य, ललितपुर, गोदावरी र महालक्ष्मी नगरपालिकाले शेयर किने को लागी १ प्रतिक्रिया(हरु)

kusum sharma[ 2018-11-01 07:35:14 ]
म महालक्ष्मी नगरपालिकामा बसोबास गर्दछु । यहाँको इमाडोल, टिकाथली र चाँगाथली पहिले घना ग्रामीण बस्तीका रुपमा थिए, पछिल्लो समयमा घना शहरी बस्तीको रुपमा रुपान्तरण भएका छन् । तर यस क्षेत्रका हामी बासिन्दाहरु सार्वजनिक यातायातको असुविधाबाट गहिरो किसिमले प्रभावित रहदैेआएका छौं । चाँगाथली र टिकाथलीबाट माइक्रोबसको जति सिट क्षमता पनि नभएका साना र थोत्रा बसहरु लगनखेलसम्म जानेआउने गर्दछन्; यी बसको सेबा पनि नियमित छैन । टिकाथली र चाँगाथलीबाट काठमाण्डौको रत्नपार्क वा बसपार्क आवतजावत गर्न त कुनै सार्वजनिक यातायातका साधन नै छैनन् । हाम्रो नगरपालिका पनि साझा यातायातको हिस्सादार बनेको खबरले अब हामीले सार्वजनिक यातायातामा असुविधा झेल्नु पर्दैन कि भन्ने आशा जगाएको छ । म हाम्रो नगरपालिकाको यस कदमको हार्दिक स्वागत गर्दछु । अब यी क्षेत्रको यातायात सम्बन्ध लगनखेलसंग अत्याधुनिक र समयबद्ध हुने आशा गर्न सकिन्छ भने काठकाण्डौको रत्नपार्क र बसपार्कसंग पनि सहज हुने अपेक्षा गर्न सकिन्छ । खरिबोटको सडकमा नयाँ र बलियो पुल हालै बनाई प्रयोगमा ल्याइसकिएकाले काठमाण्डौबाट चाँगाथली सञ्चालन गरिने सार्वजनिक बस भने खरिबोटबाट बोझेपोखरी, महर्जन चोक र ढुङ्गेसाँघु चोक हुँदै टिकाथली र चाँगाथलीतर्फ रुट कायम हुँदा महालक्ष्मी नगरपालिकाका बहुसंख्यक बासिन्दा लाभान्वित हुनसक्ने देखिन्छ । यस खबरले म जस्ता स्थानीय बासिन्दा हर्षित हुनु स्वाभावित भएको छ । धन्यवाद ।

   हालसम्म ११ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.