ड्राइपोर्ट भएर आउने लक्जरी कारको आयात घट्यो, राजस्व नतिर्दा थन्किए ३५ गाडी, एमजी र मर्सिडिज बढी

बिजमाण्डू
२०७५ असोज ३१ गते १४:२९ | Oct 17, 2018


वीरगंज। चालु आर्थिक वर्षदेखि सरकारले बढी सिसिको कारमा राजस्व बढाउँदा वीरगंजको ड्राईपोर्ट भएर आउने महँगा विलासी गाडीको संख्यामा कमी आएको छ ।

Tata
GBIME
Nepal Life

मुलुककै सबैभन्दा बढी महँगा गाडी भित्रिने नाकाको रुपमा रहेको श्रीर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईका अनुसार पोहोर भन्दा यस वर्ष विलासी गाडीको आयातमा कमी देखिएको हो ।

‘पोहोर एक वर्षमा करिब १०० वटा लक्जरी गाडी भित्रेका थिए भने यस वर्ष गाडीको संख्या कम छ, गतवर्ष दशैँमा मात्रै ६० जति गाडी आएको थियो, यसपाली ४५ वटा जति भित्रेका छन्,’उनले भने,‘त्यसमा पनि ३५ वटा जति अहिले पनि भन्सार बुझाउन नसकेर बन्दरगाहकै यार्डमा थन्केका छन् ।’

पहिले लक्जरी कार र मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लाग्थ्यो भने अहिले गाडीको सिसि हेरी अन्तशुल्क निर्धारण गरिएको छ ।

अहिलेको नियम अनुसार १ हजार सिसिसम्म को कारमा ६० प्रतिशत अन्तशुल्क,१ हजार देखि १५ सय सिसिमा ६५ प्रतिशत,१५ सयदेखि २ हजारसम्म ७० प्रतिशत, २ हजारदेखि ३२५ सय सिसिसम्म ८० प्रतिशत, २५ सयदेखि ३ हजार सिसिसम्म ९० प्रतिशत र ३ हजारदेखि माथि सिसिका गाडीमा शतप्रतिशत अन्तशुल्क लगाएपछि लक्जरी गाडीको आयातमा कमी आएको ड्राईपोर्ट भन्सार कार्यालय प्रमुख सेढाईको भनाई छ ।

‘नाका परिवर्तन गरेको भए भन्न सकिन्न, तर पोहोर भन्दा यस नाकाबाट लक्जरी कारको आयातमा कमी देखिएकै हो,’उनले प्रष्ट्याए।

गाडी आयातमा सरकारले बढाएको अन्तशुल्कका कारण आयातकर्ताले बुझाउने कुल राजस्वको रकममा पनि ठूलो अन्तरले बृद्धि हुँदा समयमा लक्जरी कार आयातकर्ताहरुले कार छुटाउन नसकेको उनको भनाई छ।

गाडीमा पहिले भन्सार महसुल ८० प्रतिशत,अन्तशुल्क ६० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्थ्यो भने हाल अन्तशुल्कले गर्दा अन्तशुल्क कुनै कुनै गाडीमा शतप्रतिशत पनि तोकिएको छ ।यसले राजस्वको दरलाई बढाएको छ ।

उनले भने,‘एउटा गाडीमा एउटा आयातकर्ताले ३ करोड ९४ लाख बन्दरगाह भन्सार कार्यालयलाई राजस्व बुझाएको छ भने यातायातलाई ९५ लाख रुपैयाँ तिरेको छ,यसैबाट बुझ्न सकिन्छ कि सो गाडी कतिमा बिक्री हुन्छ ?’

भन्सार तिरेर २० प्रतिशतसम्म नाफा जोडेर आयातकर्ताहरु गाडी बेच्दा नेपालमा लक्जरी गाडीको दाम महँगो पर्छ । एउटा लक्जरी गाडी १० करोडभन्दा बढीमा पनि बिक्री हुन्छन् ।

ड्राइपोर्टमा हाल १२ वटा मर्सिडिज, १४ वटा एमजी, ३ वटा पिजियो, ६ वटा फोर्डको रेन्जर गाडी थन्केको छ । सबै गाडीहरु बन्दरगाहकै पूर्वपट्टिको कार पार्किङ् यार्डमा खडा गरी राखिएको छ ।

नेपालमा गौतम अटोमोबाइल्सले मर्सिडिज, जिओ अटो मोबाइल्सले फोर्ड, सांग्रिलाले एमजी तथा किशोर अटो मोबाइल्सले लैन्डरोभर र ज्यागुअर ब्रान्डको कार भित्र्याउने गरेका छन्।