नेपालकै पहिलो ब्यावसायिक हाउजिङ ‘सुरज अपार्टमेन्ट’, पहिलो ग्राहक फेला पार्नै २ वर्ष दौडधुप

बिजमाण्डू
२०७५ असोज ३१ गते १४:०३ | Oct 17, 2018
नेपालकै पहिलो ब्यावसायिक हाउजिङ ‘सुरज अपार्टमेन्ट’, पहिलो ग्राहक फेला पार्नै २ वर्ष दौडधुप



काठमाडौं। २०५० को दशक । खुला बजारनीतिले देशको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गरेको भए पनि निजी क्षेत्रको उपस्थिति त्यत्ति बाक्लिसकेको थिएन । आवासीय रियल इस्टेट व्यवसायमा निजी क्षेत्रको संस्थागत प्रवेश सुरु भएकै थिएन ।

Tata
GBIME
Nepal Life

सरकारी सेवामा भएका र व्यापार व्यवसायमा लागेका केहीले काठमाडौंमा घर बनाउने सपना सजाउँथे तर अपार्टमेन्ट र व्यावसायिक हाउजिङको बसाइ कल्पनाभन्दा बाहिर थियो । अपार्टमेन्ट बनाउने सोच कसैको मनमै थिएन ।

वीरगञ्जका पुरुषोत्तमलाल तुल्स्यान, जसको पुख्र्यौली पेशा व्यापार थियो । उनका बुबा सुरज तुल्स्यान भारतबाट खाद्यन्न र कपडा
ल्याएर नेपाली बजारमा बिक्री गर्थे । मारबाडी समुदायको तेत्तीस कोठी माहजनमध्येमा पर्ने उनीहरूको व्यापारिक कामकै सिलसिलामा विदेश जाने–आउने चलिरहन्थ्यो ।

पुरुषोत्तमलालले विदेशमा सपिङ कम्प्लेक्स देखे । त्यही अवधारणामा २०४४–४५ सालतिर काठमाडौंको लखन टोलमा सुरज आर्केड नामको व्यापारिक कम्प्लेक्स बनाए, जुन आज पनि सञ्चालनमा छ । आफ्नो बसोबास रहेको पुख्र्यौली घर भत्काएर सोही ठाउँमा ठड्याएको त्यो कम्प्लेक्सलाई उनले बुबाको नाम (सुरज) दिए ।

नेपालमा निजी क्षेत्रबाट खुलेको पहिलो होलसेल बजार पनि त्यही नै थियो, जुन त्यसबेला भारतसम्मै निकै चर्चित रहेको सम्झन्छन् पुरुषोत्तमका छोरा ऋषि तुल्स्यान ।

सुरज आर्केड बन्नुअघिको एक मात्र व्यापारिक कम्प्लेक्स न्यूरोडको ‘विशाल बजार’ थियो । सुरज आर्केडपछि तुल्स्यान परिवारले वीरगञ्जमा व्यापारिक तथा बसोबास दुवै प्रयोजनको कम्प्लेक्स ‘तुल्स्यान मार्केट’ बनायो । त्यो पनि यस्तो मिश्रित प्रयोजनको नेपालकै पहिलो भवन थियो ।

विदेश यात्राको क्रममा पुरुषोत्तमलालले व्यवस्थित बसोबासको ‘अपार्टमेन्ट संस्कृति’ पनि देखे जतिबेला नेपालमा यस्तो बसाइको परिकल्पना शायदै थियो । त्यो समयमा उनले काठमाडौंमा अपार्टमेन्ट बनाएर संयुक्त बसोबास (अपार्टमेन्ट) को अभ्यास सुरु गर्ने सोच बनाए ।

‘बुबासँग सुरज आर्केड र तुल्स्यान मार्केट बनाइसकेको अनुभव थियो । अपार्टमेन्ट बनाउने हुटहुटी उहाँको मनमा गढिसकेको रहेछ,’ दुई दशकअघि फर्किएर सम्झन्छन् ऋषि, ‘भाटभटेनीमा अपार्टमेन्ट बनाउने योजनाअनुसार करिब तीन रोपनी जग्गा ७०–७५ लाख रुपैयाँमा किन्यौं ।’ सुरज अपार्टमेन्ट रहेको स्थानमा अहिले जग्गाको मोल एक आनाकै ७५ लाख पर्ने उनी बताउँछन् ।

जग्गा किन्नासाथ पुरुषोत्तमलालले अपार्टमेन्टको स्ट्रक्चरल डिजाइन गर्न चर्चित इन्जिनीयर मनोहर राजभण्डारीलाई र आर्किटेक्चरल डिजाइनका लागि राजेश श्रेष्ठलाई जिम्मा दिए । ऋषिले अपार्टमेन्ट निर्माणको सुपेरिवेक्षण र निगरानी गर्ने जिम्मेवारी पाए ।

अब परियोजना निर्माण गर्न पैसाको जोहो गर्नु थियो । राजभण्डारी र श्रेष्ठले अपार्टमेन्ट कुल २५ हजार वर्गफीटको बन्ने आँकलन गरिदिए । त्यसबेला निर्माण लागत वर्गफीटको ६ देखि ७ सय रुपैयाँ मात्र पथ्र्यो । त्यो दरले डेढदेखि पौने २ करोड रुपैयाँमै बनेको थियो सुरज अपार्टमेन्ट ।

जग्गा खरिदमा खर्चिएको रकमसमेत जोड्दा पनि तुल्स्यानले देशकै पहिलो अपार्टमेन्ट साढे २ करोड रुपैयाँमा तयार पारेका थिए । अहिले त्यसको १० गुणा बढी खर्च त सोही क्षेत्रफलको भवन निर्माणमा नै लाग्छ, जग्गाको खर्च त्यसको पनि दोब्बर ।

निर्माणमा लाग्ने देखिएको करिब डेढ करोड रकम जुटाउन पुरुषोत्तमलाल आफ्नो अपार्टमेन्ट परियोजनाको अवधारणा र प्रस्ताव लिएर सरकारी राष्ट्रिय वाणिज्य, नेपाल बैंकसहित केही प्राइभेट बैंकहरू धाए, त्यहाँका हाकिमहरूलाई कन्सेप्ट सुनाए ।

‘त्यसबेला हाम्रो अवधारणलाई कुनै पनि बैंकले पत्याएनन्,’ सुरज अपार्टमेन्ट निर्माणमा बुबासँगै खटेर लागेका ऋषि भन्छन्, ‘हुन त त्यतिबेला अग्ला अपार्टमेन्ट निर्माणबारे सरकारको कुनै नीति र मापदण्ड पनि बनेको थिएन । यसैले नेपालको सन्दर्भमा बिल्कुलै नौलो त्यो परियोजनामा लगानी गर्ने जोखिम उठाउन बैंकहरूले चाहेनन् ।’

उतिबेला व्यावसायिक हाउजिङ अभ्यासमा नआइसकेकाले अपार्टमेन्टको पनि बजार बनेकै थिएन । त्यसैले बनाइसकेपछि बिक्री हुने हो–होइन, बेच्न कति अवधि लाग्ने हो भन्नेमा तुल्स्यान परिवार स्वयम् अनभिज्ञ थियो ।

यद्यपि, अपार्टमेन्ट पुरुषोत्तमलालको ‘ड्रिम प्रोजेक्ट’ थियो, जसरी पनि बनाउने अठोट गरिसकेकाले बैंकले ऋण नपत्याए पनि आफैं लगानी जुटाउन लागिपरे । साथीभाइ, नातेदारलगायत चिनजानका व्यक्तिहरूसँग कर्जासमेत लिएर सुरज अपार्टमेन्टको निर्माण सुरु भयो ।

ऋषि सुनाउँछन्, ‘परियोजना जसरी पनि सफल बनाउने उत्साह थियो । हामीले आफैं पैसा जुटाएर २०५१ सालमा थालेको अपार्टमेन्ट निर्माणको काम दुई वर्षमा पूरा गरिछाड्यौं ।’

त्यसबेला सरकारी स्वामित्वका हेटौंडा, हिमाल र उदयपुर सिमेन्टबाहेक निजी क्षेत्रका सिमेन्ट लगभग थिएनन् । सुरज अपार्टमेन्ट बनाउन भारतबाट ल्याएर सिमेन्ट प्रयोग गरियो । ‘भारतीय जेपी सिमेन्ट बोराको २३० रुपैयाँ परेको थियो ।

डण्डी स्वदेशी गौरीशंकर रोलिङको लगाइयो,’ ऋषिले भने, ‘अपार्टमेन्ट बनाउने काममा अनुभव भएका जनशक्ति नपाइने, प्रविधिको अभावजस्ता समस्या देखेपछि पेटी ठेकेदार राखेर काम गरेका थियौं ।’

त्यसबेला अपार्टमेन्टमा अहिलेजस्तो आधुनिक सुविधा राख्नुपर्छ भन्ने अवधारणा नै नभएकाले दुई–तीन रोपनी जग्गा नै पर्याप्त भएको ऋषिको अनुभव छ । यद्यपि, २२ वर्षअघि नै बनेको यो ५ तले अपार्टमेन्टमा एलिभेटर (लिफ्ट) र बेसमेन्ट पार्किङ राखियो ।

२०५३ सालमा देशकै पहिलो आवासीय अपार्टमेन्ट बनाइसक्दा तुल्स्यान परिवारमा असीम हर्ष थियो । तर, अपार्टमेन्ट त बन्यो, किनेर बस्ने ग्राहक झन्डै दुई वर्षसम्म फेला परेन । अपार्टमेन्टबारे धेरैलाई थाहै नभएको हुँदा मान्छेलाई फ्ल्याट किनेर बस्ने कुरामा सहमत गराउन तुल्स्यानलाई फलामको चिउरा चपाउनुसरह भयो ।

अन्ततः चिनजानकै व्यक्तिलाई पहिलो फ्ल्याट खरिदका लागि राजी गराउन सके । कार्पेट एरिया ११ सय वर्गफीटको त्यो पहिलो युनिट २०५५ सालतिर १६ लाख रुपैयाँमा बिक्री गरेको ऋषिलाई प्रस्ट याद छ ।

‘निराश नभई ६ वर्ष निरन्तर अथक मिहिनेतपछि मात्रै अपार्टमेन्टका पूरै युनिटहरू बिक्री गर्न सकेका थियौं,’ ऋषि भन्छन्, ‘पहिलो युनिट बिक्री हुँदा नै निकै ठूलो उपलब्धि हासिल भएजस्तो लागेको थियो । एउटाबाहेक अरू सबै युनिट बाँकी भएकाले पहिलो किन्नेले पनि तीन–चारपटक एउटा छाडी अर्को युनिट छानेर लिएका थिए ।’  

सुरज अपार्टमेन्टमा कार्पेट एरिया ९ सय, १ हजार १ सय ५० र १ हजार ४ सय ९५ वर्गफीटका गरी तीन प्रकारका अपार्टमेन्ट बनाइएका थिए, ती क्रमशः दुई, तीन र चार बेडरूमका हुन् ।

बसोबासका लागि जग्गासहितको आफ्नै छुट्टै घर चाहिन्छ भन्ने धारणा सबैमा भएको समयमा ल्याइएको सुरज अपार्टमेन्ट व्यापारिक दृष्टिले एउटा असफल प्रोजेक्ट थियो भन्छन् ऋषि तुल्स्यान ।

‘त्यो प्रोजेक्ट बनाउँदा लागेको लागतको साँवा त के ब्याज पनि उठेन शायद,’ उनले भने, ‘तर त्यसले नेपालमा व्यावसायिक हाउजिङ/अपार्टमेन्ट ल्याउन अहिलेका स्थापित थुप्रै डेभलपरहरूलाई आँट दियो, बाटो देखाइदियो ।’

उनलाई ताजै छ, त्यतिबेला सुरज अपार्टमेन्ट बन्दै गर्दा थुप्रै व्यवसायी तथा अहिलेका स्थापित डेभलपरहरू हेर्न आउँथे, र बनेपछि पनि निर्माणबारे उनका बुबा पुरुषोत्तमलालसँग परामर्श गर्थे ।

सुरज अपार्टमेन्टले त्यहीँबाट नेपालमा व्यावसायिक हाउजिङ/अपार्टमेन्ट विकासको जग तयार गर्नुका साथै सरकारलाई पनि बहुतले भवनबारे मापदण्ड बनाउन घचघच्याएको ऋषिको विश्वास छ ।

उनी भन्छन्, ‘यिनै कारणले पनि त्यो अपार्टमेन्ट परियोजनामा भएको आर्थिक नोक्सानीमा पीडाबोध हुनुविपरीत कैयौं गुणा बढी सन्तुष्टि हामीलाई मिल्यो । यसमा हामी गर्व गर्छौं ।’ (प्रोपर्टी मासिकबाट)