दशैँको मौका छोपी नक्कली नोट कारोबारी सक्रिय, नयाँ नोट लिँदा होस पुर्याउनुस् नत्र नक्कली पर्ला!

सविन ढकाल/बिजमाण्डू
२०७५ असोज ३० गते १६:३७ | Oct 16, 2018


काठमाडौँ। दशैंको समयमा सबैलाई नयाँ नोटको रहर लाग्छ। यही मौका छोपी कारोबारीहरुले नक्कली नोट बजारमा लग्ने गरेको भेटिएको छ।

Tata
GBIME
Nepal Life

प्रहरीले सोमबार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।  

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले नेपाली रुपैयाँको नक्कली नोटसहित ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

काठमाडौँको महाबौद्धबाट १ हजारका १० वटा नक्कली नोटसहित बस्नेतलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने, 'विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा १० हजारको नक्कली नोट भेटिएको हो।‘

महाबौद्धमा दशैंको लागि लुगा किन्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। बस्नेतले लुगा किनेर दिएको रुपैयाँमा शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी तत्काल पुगेर युवकको साथमा रहेको नोट चेक गर्दा नक्कली देखिएको डिएसपी बोगटीले बताए। भन्छन्,' दशैंको समयमा प्रायः नयाँ नोट चलनमा हुने  भएकोले नक्कली नोटका कारोबारीहरु यही समयमा सक्रिय हुन्छन्। नयाँ नोट आए राम्रोसँग हेरेर मात्र कारोबार गर्नुहोला।'

बस्नेतबाट प्रहरीले तीनवटा फरक-फरक परिचय पत्रसमेत फेला पारेको थियो। नोट कहाँबाट ल्याए? कसकसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए।

नक्कली नोटको कारोबारमा खोटा चलनमा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धान गर्ने गर्छ। परिसरको टोलीले गत जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।

फिल्म निर्माता माधव वाग्लेले फिल्म प्रयोजनका लागि ती नोट छापेको दावी गरेका थिए। उनी पाटन उच्च अदालतबाट २५ लाख धरौटीमा छुटे पनि मुद्दा जारी छ।