सुनको भाउ ६ बर्ष यताकै उच्चतम मूल्यमा, तोलाको ६० हजार पुगेपछि गहना किन्नेको भिड घट्यो

बिजमाण्डू
२०७५ असोज ३० गते १२:०८ | Oct 16, 2018


काठमाडौं।लगातार बढिरहेको सुनको मूल्य सोमबार पून: प्रति तोला ६० हजार रुपैयाँ पुगेको छ। सोमबार कायम भएको सुनको मूल्य ६ बर्ष यताकै उच्च मूल्य हो।

Tata
GBIME
Nepal Life

गत शुक्रबारपनि सुनको मूल्य ६० हजार रुपैयाँ कायम भएको थियो। त्यसयताको कारोबारमा दुई रुपैयाँ प्रतितोला घटेको सुनको मूल्यले सोमबार पून: ६० हजार रुपैयाँ छोएको हो। यो मूल्य  बि सं २०६९ को भदौ महिना यताकै सबैभन्दा महँगो हो।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण स्थानीय बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।

उनका अनुसार मंगलबारकालागि छापावाल सुनको प्रतितोला मूल्य ६० हजार रुपैयाँ कायम गरिएको छ।

यो सोमबारकै मूल्य भएको शाक्यको भनाइ छ। सोमबार तय भएको मूल्य ६ बर्ष यताकै सर्वाधिक महङ्गो रहेको शाक्यले बताए। शाक्यका अनुसार २०६९ भदौमा सुनको मूल्य प्रतितोला ६३ हजार ५ सयसम्म पुगेको थियो।

उनका अनुसार प्रतितोला ६० हजार रुपैयाँ भनेको २०६९ भदौ महिनापछिको सबैभन्दा महँगो हो। त्यसपछि नेपाली बजारमा सुनको मूल्य घटेर प्रतितोला ४७ हजार ७ सयसम्म झरेको थियो।दुई बर्ष यता भने सुनको मूल्य लगातार बढिरहेको शाक्यको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र छिमेकी मुलुक भारतको बजारले सुन खपत बढाएको कारण सुनको मूल्य बढ्न टेवा पुगेको शाक्यको भनाइ छ।

हिन्दुहरूको चाड दशैं, तिहार र छठ आउँदै गर्दा भारतीय बजारमा सुनको खपत बढेको र त्यसैका कारण मूल्य बढेको शाक्यको ठहर छ। भातीय रुपैयाँ डलरसँग कमजोर हुँदा पनि सुनको मूल्य वृद्धि भएको विश्लेषण हुन थालेको छ।

सोमबार तय गरिएको सुनको मूल्य आगामी आइतबार सम्म कायम रहने छ। दशैं पर्व परेकाले नेपाल सुन चाँदी व्यवसायी महासंघले आगामी आइतबार अघि सुनचाँदीको नयाँ मूल्य प्रकाशित नगर्ने जनाएको छ।

यही मूल्यमा व्यवसायीले मंगलबार स्थानीय बजारमा कारोबार गर्ने शाक्यले बताए। स्थानीय बजारमा केही पसल खुले पनि बुधबारदेखि देशैभरिका सुनचाँदी पसल बन्द रहने शाक्यले जानकारी दिए।

सुनको मूल्य लगातार बढेसँगै बजारमा सुनको माग समेत ह्वात्तै घटेको छ। चाडवाडको बेला सुनको माग यस अघिका वर्षमा बढ्ने गरेको थियो। तर यस वर्ष भने माग बढ्नुको सट्टा घटेको शाक्यले बताए।

मूल्य बढेकै कारण माग घटेको शाक्यको अनुमान छ। अघिल्लो वर्ष दशैंअघि दैनिक ४० किलो सुन खपत हुने गरेको थियो। तर यस वर्ष मूल्य बढेकै कारण दैनिक २५ किलो सुन बिक्री गर्न समेत हम्मे परेको शाक्यले बताए।

दशैंमा सुनको माग बढ्ने भन्दै गत साता नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गरेको थियो।

यस अघि दैनिक २० किलो आयात गरिँदै आएको सुनको परिणाममा दैनिक पाँच किलो वृद्धि गर्दै २५ किलो पुर्याइएको थियो।

तर वृद्धि गरिएको परिणाम अनुसार सुन आयात नै गर्नु नपरेको शाक्यले बताए। उनका अनुसार बजारमा माग वृद्धि भए मात्रै बढेको परिणाम अनुसारको सुन आयात गर्ने व्यवसायीको योजना थियो।