वुद्ध एयरका पाइलटको तलब दोब्बर बढ्यो, तलबका लागि २५ करोड खर्च बढ्यो, अरु कम्पनीलार्इ पनि दबाब

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असोज २६ गते १०:१२ | Oct 12, 2018
वुद्ध एयरका पाइलटको तलब दोब्बर बढ्यो,  तलबका लागि २५ करोड खर्च बढ्यो, अरु कम्पनीलार्इ पनि दबाब



काठमाडौं। भारतीय वायुसेवा कम्पनी इन्डिगोमा आफ्ना पाइलट जान रोक्न बुद्ध एयरले तलब दोब्बर बढाएको छ।

Tata
GBIME
Nepal Life

इन्डिगोले एटिआर विमानबाट क्षेत्रिय उडान सुरु गर्ने तयारी गरेपछि बुद्धले आफ्ना पाइलटको तलब बढाएको हो। इन्डिगोले क्षेत्रीय उडान एटिआरमार्फत गर्ने भएपछि संसारभरबाट एटिआर उडाउने पाइलटको खोजी गरिरहेको छ। त्यसैक्रममा आफ्ना पाइलट इन्डिगोमा जान सक्ने देखेपछि बुद्धले तलब बढाएको हो।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पाइलटको तलब बढाउँदा आफ्नो कम्पनीको सञ्चालन खर्च बढेको पुष्टि गरे। 'यो वर्ष हामीले पाइलटको तलबमात्रै २५ करोड रुपैयाँ बढाउनुपर्योप,' बस्नेतले बिजमाण्डूसँग भने, 'क्याप्टेनको तलब ४० प्रतिशत बढेको छ।' उनले पाइलटको तलब तथा त्यसमा लाग्ने करसमेत गरी गत वर्षको तुलनामा वार्षिक खर्च २५ प्रतिशत बढाउनु परेको बताए।

एटिआर उडाउन बुद्ध एयरमा कार्यरत पाइलट 'अट्रयाक्ट' गर्ने रणनीति इन्डिगोले लिन सक्ने भएपछि तलब समायोजन भएको हो। 'पाइलटलाई इन्करेज गर्न र आफ्नै कम्पनीमा निरन्तरताका लागि तलब वृद्धि गरिएको हो,' उनले भने, 'अन्य कम्पनीले यहाँभन्दा धेरै दिएपनि मान्छे बुद्धमा नै रमाउन सक्ने वातावरण छ।'

बस्नेतले कम्पनीका बरिष्ठ पाइलटले ४० घण्टा जहाज उडाउँदा खुद तलब ४ लाख रुपैयाँ पाउने जानकारी दिए। उनका अनुसार ६०  घण्टा उडाउनेले पाँच लाख रुपैयाँ पाउँछ। ८० घण्टा उडाउने पाइलटले साढे ६ लाख पाउने उनले बताए। 'नेपाल नागरिक उड्डयन प्राधिकरणको रिक्वाएरमेन्ट भित्रै रहेर काम गर्दा पनि खुशी हुने वातावरण छ,' उनले भने।

हाल कम्पनीको छ वटा ७२ सीटे एटिआर, तीनवटा ४२ सिटे एटीआर र दुई वटा बिचक्राफ्टले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्यमा उडान भर्दै आएको छ। कम्पनीमा हाल एक हजार कर्मचारी कार्यरत छन्। इन्डिगोले एटिआर उडाउने बरिष्ठ पाइलटलाई अहिले १२ हजार अमेरिकी डलर तलब दिइरहेको छ।

इन्डिगोले गत नोभेम्बरबाट एटीआर ७२-६०० भित्र्याउन सुरु गरिसकेको छ। उसका हाल १२ वटा एटिआर संचालनमा छन् भने ३८ वटा अर्डर गरिसकेको छ। कम्पनीका अनुसार २० वटा एटिआर आउँदो डिसेम्बरभित्र ल्याइनेछ। गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा क्षेत्रीय उडान र विभिन्न शहरलाई हवाईमार्गबाट जोड्ने उद्धेश्यले 'उडान भिसन' ल्याएपछि कम्पनीले एटिआर सञ्चालनमा ल्याउने योजना बनाएको थियो। 

अरुमा पनि दबाब
आन्तरिक उडान गरिरहेका अरु कम्पनीलार्इ समेत पाइलटको तलब बढाउन दबाब परेको छ। यति र श्री एयरलाइन्सलार्इ पनि पाइलटको तलब बढाउन दबाब परेको हो।

यतिले समेत एटिआरमार्फत उडान गरिरहेको छ। श्री एयरलाइन्सका चेयरम्यान सुधिर मित्तलले पाइलटको तलब बढेको बताए।‘पाइलट अभावका कारण तलब बढाउनुपरेको अवस्था छ’उनले बिजमाण्डूसँग भने,’अहिले पाइलटनै पाउन मुस्किल छ।’