नेपाल टेलिकमले दशै अफर, अनलिमिटेड भ्वाइस र एसएमएसको सुविधा, डाटामा यस्तो छ प्याकेज

बिजमाण्डू
२०७५ असोज २४ गते ०९:२९ | Oct 10, 2018
नेपाल टेलिकमले दशै अफर, अनलिमिटेड भ्वाइस र एसएमएसको सुविधा, डाटामा यस्तो छ प्याकेज


काठमाडौं। नेपाल टेलिकमले दशैंको अवसर पारेर ग्राहकको लागि छुटको अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक अन्तर्गत जिएसएम तथा सिडिएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपलब्ध गराएको छ। ६ सय रुपैयाँमा १५ दिन समय अवधिको लागि प्रत्येक दिन २ जिबी प्याक उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन्।    

Tata
GBIME
Nepal Life

उक्त प्याक अन्तर्गत १ जिबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफ–पिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिने उनले बताइन्। सोही प्याक ७ दिन समयावधिका लागि तीन सय रुपैयाँमा मात्रै पनि उपलब्ध छ। यस्तो प्याक खरिद गर्ने ग्राहकलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराएको टेलिकमले बताएको छ। 

भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपयोग गर्न दिइएको छ। एक दिनका लागि मात्र उपलब्ध हुने यो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने वैद्यले बताइन्। यस्तो भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न मिल्छ।

डाटा प्याक अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिनका लागि उपलब्ध गराउने अफर टेलिकमले सार्वजनिक गरेको छ। यस्तो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै उपयोग गर्न पाइने छ। यी सबै अफर असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने बैद्यले बताइन्। 

आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म  एक सय र दुई सय रुपैयाँ रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय र एक हजार रुपैयाँ रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस ग्राहकले पाउने टेलिकमले बताएको छ। त्यस्तो बोनस पाँच दिन भित्र उपयोग गरिसक्नुपर्ने छ। त्यसैगरी, एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ भने त्यस्तो बोनस पनि पाँच दिन भित्रै उपभोग गरिसक्नुपर्ने छ। 

टेलिकमको दशै अफर अनुसार, असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल, एफटीटीएच,वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिदिने बैद्यले बताइन्।