अमेरिकी डलरको भाउमा अंकुस नै छैन, दिनका दिन बढेको बढै, भाउ ११९ रुपैयाँ नजिक पुग्यो

बिजमाण्डू
२०७५ असोज २३ गते ०९:२३ | Oct 9, 2018

काठमाडौ। अमेरिकी डलर सर्वाधिक बलियो हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको भाउ ११८ रुपैयाँ ८० पैसा तोकेको छ। यसअघि ११८ रुपैयाँ ३३ पैसा कायम भएको थियो। 

Tata
GBIME
Nepal Life

भारतीय मुद्रा कमजोर हुँदा त्यसैसँग जोडिएर नेपाली रुपैयाँ कमजोर भएको हो। भारुसँगको स्थिर बिनिमय दरका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ। डलरको भाउ ५० पैसाले बढेको हो।

डलर बढ्दा के हुन्छ?
डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन्। 
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
 
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य बृद्धिमा यसको चाप देखिने छ।
 
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।
 
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
 
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
 
डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।