ब्राजिलियन जहाज सार्कको माउन्टेन फ्लाइट, व्यवसायिक सम्झौता कोसँग हुँदैछ?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असोज २२ गते १७:०८ | Oct 8, 2018
ब्राजिलियन जहाज सार्कको माउन्टेन फ्लाइट, व्यवसायिक सम्झौता कोसँग हुँदैछ?


काठमाडौं। ब्राजिलियन जेट विमान निर्माता कम्पनी एम्ब्रेररले सोमबार 'डेमोन्स्ट्रेसन फ्लाइट' गरेको छ। 'प्रोफिट हन्टर' नाम दिइएको एक सय १४ जना यात्रु क्षमता रहेको 'सार्क' इ१९०-इ२ सिरिजको जहाजले सोमबार दिउँसो १२ बजे माउन्टेन फ्लाइट गरेको थियो।

Tata
GBIME
Nepal Life

कम्पनीले केहि दिन अघि जहाज ल्याई बुद्ध एयरको ह्याङ्गरमा राखेको थियो। यो जहाजको अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयर र एम्ब्रेरर बीच छलफल भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले नेपालमा जहाजको परिक्षण उडान गरी निकट भविष्यमा बुद्ध एयरसँग सहकार्य गर्ने उद्देश्य राखेको कम्पनीका एक अधिकारीले जानकारी दिए। 

कम्पनीको डेमोन्स्ट्रेसन फ्लाइट कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत, एम्ब्रेररका बजार निर्देशक चक पुलाखानन्दम, एम्ब्रेररअन्तर्गत एसिया प्यासिफिकका बजार निर्देशक एडम योङ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलगायत उच्चपदाधिकारीको सहभागिता रहेको थियो।  

कम्पनीका अनुसार गत अप्रिलदेखि संचालनमा आएको यो जहाज इ-जेट इ२ फेमीलीको नयाँ संस्करण रहेको छ। कम्पनीसँग भएको तीनवटा इ१९०-इ२ जाहज हालसम्म नर्वेको विड्रो एयरलाइन्सले दुई हजार घण्टा उडान गरिसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार चीनमा कम्पनीको एक सय भन्दा बढी फर्स्ट जेनेरेसन इ जेट्स संचालनमा छन्।

'इ१९०-इ२मा उडान गर्ने यात्रुहरु जहाजमा भएको एभियोनिक्स (जहाजमा जडान गरिएको विद्युतीय उपकरण), स्लिक र मोडर्न इन्टेरियर र लो क्याविन नोइजलगायत विशेषता रहेको कारणले यात्रुहरु जहाजबाट प्रेरित हुनेछन्। अरु जहाजको तुलनामा यात्रुले इ१९०-इ२ मा कम मूल्यमा यात्रा गर्न सक्नेछन्,' एसिया प्यासिफीकअन्तर्गत एम्ब्रेररएभिएसन युनिटका उपाध्यक्ष केसर पेरैराले भने।          

जहाजमा तीन हजार पाँच सय किलोको भार थेग्न सक्ने क्षमता रहेको छ। जहाजमा भएको नयाँ किसिमको इन्जिन, विङ्स(पखेटा) र 'फोर्थ जेनेरेशन फ्लाइ बाइ वाइरको कारणले कुल १७.३ प्रतिशत इन्धन खपत गर्ने कम्पनीको दाबी रहेको छ।

'इम्ब्रेरर' व्यवसायिक विमान उत्पादक कम्पनी हो। ब्राजिलमा रहेको कम्पनी सन् १९६९ देखि संचालनमा आएको हो। हालसम्म आठ हजार भन्दा बढी जहाज बिक्री गरिसकेको र विश्वभर १४ करोड भन्दा बढी यात्रुहरुलाई सेवा दिइसकेको कम्पनीले जनाएको छ।