बैंकर र बीमा  कम्पनीका अनुभवीहरुले कम्पनी स्थापनादेखि बन्दसम्मका सेवा दिन खोले संस्था

बिजमाण्डू
२०७५ असोज २१ गते ०९:५४ | Oct 7, 2018
बैंकर र बीमा  कम्पनीका अनुभवीहरुले कम्पनी स्थापनादेखि बन्दसम्मका सेवा दिन खोले संस्था

काठमाडौं। अरुको प्रगति देखेर आफ्नो कम्पनी खोल्ने परिपाटी धेरै छ। अर्कोले जस्तै नाफा कमाउने अभिलासाले कुनै अध्ययन बिना नै धमाधम उद्योगहरु खोलिन्छन्। सम्बन्धित कामका लागि उसँग ज्ञान हुँदैन र अध्ययन पनि गरेको हुँदैन। 

Tata
GBIME
Nepal Life

हिजोका दिनमा ५ वटा कम्पनी राम्ररी चलिरहेकोमा २० वटा आएपछि उनीहरु त बिग्रिन्छन् नै पहिलाका ५ वटा पनि चल्न सक्दैन। यसले गर्दा समग्र उद्योग र बजार नै कमजोर हुन्छ। यहि अवस्थालार्इ मध्यनजर गर्दै अनुभवी बैंक, बीमा कम्पनीका विज्ञहरु मिलेर 'नेक्सजेन म्यानेजमेन्ट सोलुसन' स्थापना गरेका छन्। जसले परामर्श, एसेट म्यानेजमेन्ट, ऋण खरीद तथा रिकभरी म्यानेजमेन्ट, समस्याग्रस्त कम्पनीको टेकओभर, पोर्टफेलियो व्यवस्थापन लगायतका काम गर्नेछन्। 

कम्पनीले काम पनि थालिसकेको छ। पहिलो चरणमा हिमालयन फाइनान्सको रिकभरी म्यानेजमेन्टको काम नेक्स्टजेनले थालिसकेको छ। यसको प्रबन्ध निर्देशक रमेशकुमार भट्टरार्इले हुन्। अध्यक्ष बलराम बिस्ट छन् भने सञ्चालकमा बीएन घर्ति, बिनय उपाध्याय लगायत छन्। 

'कानुनी व्यवस्था नभइसकेको हुँदा हामीले नियमनकारी निकायको ध्यानकर्षण गर्नका लागि नाफा घाटा नहेरी हिमालयन फाइनान्ससँग संझौता गरेका छौ,' भट्टराईले भने। नेपालमा संस्थागत रुपमा यस्तो काम पहिलो भएको हो। 

बैंक तथा वित्तीय संस्थाहरुको विस्तार तथा क्षमता बढ्दै गर्दा अर्को पाटो छुटिरहेको हुन्छ। बैंकहरु सानातीना काममा अल्झिँदा व्यावसायिक रणनीतिमा चुक्न सक्छन्। नेक्सजेनले बैंक तथा वित्तीय संस्थाहरुलाई सामान्य देखिने तर महत्वपूर्ण काममा सघाउने छ। 

भट्टरार्इ भन्छन् 'नेक्स्टजेन वित्तीय क्षेत्रको आवश्यकता हो। अन्तराष्ट्रिय रुपमा नै अभ्यास हुँदै आएको यस्ता काम नेपालमा भने भइरहेको थिएन। हामीले पहल लिएका हौं।'

अहिले लहडमा कम्पनी खोल्नेमध्ये ९५ प्रतिशतलाई ऐननियमको ज्ञान हुँदैन। काम गर्दै जाँदा कानुनी र ब्यवहारिक जटिलतामा फस्दै जान्छन्। अनि कम्पनो घाटामा जान थाल्छ। नेक्सजेन कम्पनी स्थापनाको लागि सम्भाव्यता अध्ययनदेखि खारेजीसम्मका सेवा दिन्छ। 

व्यावसाय गर्ने मन भएका तर ज्ञान/अनुभव नभएकाहरुको लागि नेक्सजेनले सहजकर्ताको रुपमा आफ्नै प्रतिनिधि राखेर परामर्श तथा ब्यवस्थापकीय सेवा दिन्छ। 

'उद्योग खारेजीमा जानुभन्दा अगाडि त्यो उद्योग चल्नसक्छ भने किन खारेजीमा लैजाने भन्ने कुराहरु आइरहेका छन्। सरकारकै कतिपय उद्योग पुनः सञ्चालन गर्ने भन्ने कुराहरु आइरहेका छन्,' उनले भने, 'चल्न सक्ने संस्थाहरु टेक ओभर गर्ने हो भने देशको अर्थतन्त्रलार्इ पनि सहायता पुग्छ।' 

यदि कम्पनी पुर्ण रुपमा डुवेर खारेजीको चरणमा छ भने त्यसलार्इ फेज आउट गराउने काम पनि नेक्स्टजेनले गर्छ। केही शुल्क लिएर त्यसको सम्पुर्ण बिषयको जिम्मा लिएर खारेजीको प्रकृयालार्इ टुङ्ग्याउने काम नेक्स्टजेनले गर्छ। 'यदि त्यो उद्योग सञ्चालन गर्न सक्ने सम्भावना छ भने पोर्टफेलियो म्यानेजरको रुपमा काम गर्ने,' उनले भने। 

नेक्स्टजेनले खराव अवस्थामा रहेको कम्पनीका लगानीकर्तालार्इ भेला पार्ने र सम्भावना देखिएमा उचित सल्लाह दिँदै चलाउन पहल गर्ने छ। 'संस्थागत रुपमा यसको विकास भइसकेको छैन। संस्थागत रुपमा विकास गरियो भने सबै कुराहरु करको दायराभित्र आउँछ। कानुनी दायराभित्र रहेर काम गर्दै गर्दा कसैले ठग्ने सम्भावना रहँदैन। त्यसैले सरकारले पनि यसलार्इ संस्थागत रुपमा विकास गर्न पहल गर्नु पर्छ' उनले भने।    

नेक्स्टजेनले बैंक तथा बीमा क्षेत्रमा महत्वपूर्ण ठाउँमा बसेर काम गरेकाहरुको विशेषज्ञ समुह बनाएको छ। 

बैंकहरु ऋण लगानीमा आक्रामक हुँदै गर्दा जस्तोसुकै क्षेत्रमा लगानी भइरहेको छ। यस्तोमा ऋण डुबेमा त्यो पैसा उठाउने काम नेक्स्टजेनले गर्ने छ। ऋण प्रवाह गर्नु अगाडि त्यसका लागि आवश्यक पर्ने डकुमेन्टेसनसमेत गर्नेछ। यसले गर्दा बैंकहरुले सहजै ऋण प्रवाह गर्न सक्ने छन्। 

'म संस्था चालाउन सक्दिन, बरु मूल्याङ्कन गरेर तपाई लिनुहोस्। नपुगेको रकम म आफ्नो घर जग्गा बेचेर तिर्छु कसैले भन्छ भने त्यस्तो कम्पनी चलाउन नेक्स्टजेन तयार हुने छ,' उनले भने। 

नेक्स्टजेनले आवश्यक परेमा विदेशबाट विज्ञ झिकाएर समेत काम गर्ने योजना बनाएको छ। यसको लागि भेन्चर क्यापिटल पोर्टफोलियो म्यानेजरको काम गर्नेछ।