रुपैयाँमा ह्रास आएपनि भारतमा धनाढ्य बढे, सात वर्षदेखिका टप मुकेश अम्बानीलाई टक्कर दिने कोही छैन

बिजमाण्डू
२०७५ असोज १० गते १०:४९ | Sep 26, 2018
रुपैयाँमा ह्रास आएपनि भारतमा धनाढ्य बढे, सात वर्षदेखिका टप मुकेश अम्बानीलाई टक्कर दिने कोही छैन


नयाँ दिल्ली। लगातार सातवर्षदेखि भारतका धनाढ्यको सूचीमा मुकेश अम्बानी पहिलो नम्बरमा छन्। बिगत एक वर्षदेखि अम्बानीको सम्पत्ति प्रत्येक दिन ३०० करोड भारतीय रुपैयाँका दरले बढेको हालै सार्वजनिक बर्क्ले हुरुन इन्डिया रिच लिस्ट २०१८ मा उल्लेख छ।

Tata
GBIME
Nepal Life

वर्कले हुरुन इन्डिया रिच लिस्ट २०१८ मा प्रकाशित प्रतिवेदन अनुसार मुकेशको सम्पत्ति बिगत एक वर्षदेखि प्रत्येक दिन ३०० करोडका दरले बढिरहेको हो।

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीको कुल सम्पति ३,७१,००० करोड भारतीय रुपैयाँ रहेको र बिगत सात वर्षदेखि भारतका सबैभन्दा धनी ब्यक्तिका रुपमा रहेका छन्।

उनको कम्पनीको  शेयरमा बिगत १ वर्षमा ४५ प्रतिशतले बृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख छ।  मुकेशको सम्पत्ति भारतका दोस्रा, तेस्रा र चौथौं धनीको सम्पति जोड्दा हुने कुल सम्पत्तिभन्दा पनि बढी छ।  


अम्बानीपछि भारतका दोस्रा धनाढ्य एसपि हिन्दुजा एण्ड फ्यामिलीको सम्पत्ति १,५०,००० करोड छ भने तेस्रो स्थानमा रहेका एलएन मित्तल एण्ड फ्यामिलीको ११४५०० करोड र चौथा अजिम प्रेमजीको सम्पत्ति ९६१०० करोड भारतीय रुपैयाँ रहेको छ।

बर्क्ले हुरुन इन्डिया रिच लिस्टमा भारतका दश अर्ब भारतीय रुपैयाँभन्दा माथि सम्पत्ति भएका ब्यक्तिहरुको बिबरण राखिएको छ। प्रतिवेदन अनुसार यसवर्ष धनाढ्यहरु बढेका छन्।

गत वर्ष ६१७ जना सामेल रहेको सूची बढेर यसवर्ष ८३१ जना पुगेको छ।  

सन फर्माका दिलिप साङ्वी तीन श्रेणी खस्केर यस वर्ष पाँचौ नम्बरमा झरेका छन्। उनको सुजलोन कम्पनीको शेयर बिगत  एक वर्षमा शेयर ५० प्रतिशतभन्दा बढी खस्केपछि धनाढ्यको सुचीमा तल झरेका हुन्।  साङ्वीको सम्पत्ति हाल ८९,७०० करोड रहेको छ।

यसैगरी कोटाक महेन्द्र बैंकका उदय कोटाक ७८,६०० करोड रुपैयाँ सम्पत्तिकासाथ छैठौं नम्बरमा रहेका छन्। त्यसपछि टप टेनको सूचीमा क्रमस सिरम इन्स्टिच्यूट अफ इन्डियाका साइरस पुनावाला, अदानी इन्टरप्राइजेजका गौतम अदानी र साइरस पलोनजी रहेका छन्।

प्रतिवेदनले दश धनी परिवार पनि सार्वजनिक गरेको छ जसमध्ये अम्बानी परिवारनै पहिलो नम्बरमा रहेका छन्। दोस्रोमा गोदरेज, तेस्रोमा हिन्दुजा, क्रमस: मिस्त्री, शिभांगी, नादर, अदानी, दमानी र बर्मन परिवारहरु टप टेनभित्र परेका छन्।


भारतका धनाढ्यको सूचीमा यसवर्ष ६६ जना गैरआवासीय भारतीयहरु रहेको प्रतिवेदनले जनाएको छ। त्यसमध्ये एसपि हिन्दुजा एण्ड फ्यामिली सबैभन्दा धनी गैरआवासीय भारतीय हुन्।

प्रतिवेदनका अनुसार भारत धनको सिर्जनामा  हाल सबैभन्दा रोचक क्षणमा रहेको छ। रुपैयाँको मूल्यमा ह्रास आएपनि भारतमा  अहिलेसम्मकै सबैभन्दा उच्च दरमा धन सिर्जना भैरहेको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनमा अबको दश वर्षमा भारतका युवा र नयाँ पुस्ताका उद्यमीहरुले पारिवारिक बिरासत थाम्ने संकेत गरेको छ। धन र शक्ति बिस्तारै नयाँ पुस्ताको हातमा आइरहेको देखिन्छ।

यसबर्ष धनाढ्यको सूचीमा २० जना युवाहरु प्रवेश गरेको भन्दै प्रतिवेदनले अबको १० वर्षमा भारतले उद्यमशीलतामा छलाङ मार्ने जनाएको छ।