ग्यास बिक्रेताले भने-‘पाँच प्रतिशत कमिशन बढाउनुपर्छ, होइन भने व्यवसाय चलाउन सकिदैंन’

बिजमाण्डू
२०७५ असोज ९ गते १७:४३ | Sep 25, 2018
ग्यास बिक्रेताले भने-‘पाँच प्रतिशत कमिशन बढाउनुपर्छ, होइन भने व्यवसाय चलाउन सकिदैंन’


काठमाडौं। ग्यास बिक्रेता महासंघ नेपालले ग्यास बिक्रीको कमिशन पाँच प्रतिशत वृद्धिको माग गरेको छ।

Tata
GBIME
Nepal Life

महासंघले विगत ६ वर्षदेखि बिक्रेताको कमिशन नबढेको भन्दै पाँच प्रतिशत कमिशन बढाउन माग गरेको हो।अहिले एक सिलिण्डर ग्यास बेच्दा बिक्रेताले ३२ रुपैयाँ कमिशन पाउँछन्।यो कमिशनमध्ये भ्याट वापत चार रुपैयाँ सरकारलार्इ बुझाउनुपर्छ।

‘सरकारले ग्यास उद्योगी र बिक्रेताको कमिशन,ढुवानी लगायतका बारेमा अध्ययन गर्न समिति बनाएको हामीले जानकारी पाएका छौं’महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले सोमबार आयोजित छलफल कार्यक्रममा भने,’यो समितिले न्यायोचित रुपमा ग्यास उद्योगी र बिक्रेताको माग संबोधन गर्ने अपेक्षा गरेका छौं।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार अर्थमन्त्रालयका सहसचिव उदय सापकोटाको संयोजकत्वमा समिति गठन गरेको थियो। यो समितिले दिएको सुझाबका आधारमा आपूर्ति मन्त्रालयले निर्णय गर्नेछ।उनका अनुसार अहिले पाइरहेको कमिशनले कुनै पनि बिक्रेता बाँच्न सक्दैनन्।

‘एउटा बिक्रेताले मासिक एक हजार ग्यास बिक्री गर्दा ३२ हजार आम्दानी हुन्छ।यो पैसाले कोठाभाडा पनि तिर्न सकिदैन’ उनले भने,’कम्तीमा पाँच प्रतिशत कमिशन नबढे कसरी काम गर्ने ?’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले ग्यास उद्योग र बिक्रेता दुबैको कमिशन बढ्न नसक्दा समस्यामा रहेको बताउँदै कमिशन नबढे व्यवसायनै गर्न नसक्ने अवस्थामा पुगेको बताए।‘कमिशन नबढेपछि हामीले तालाचाबी बुझाउने अवस्थामा पुगेका थियौं। तर सरकारले समस्या संबोधनका लागि समिति बनाएकाले हामी केही आशावादी भएका छौं’ उनले भने।