६ बर्षदेखि समस्याग्रस्त क्यापिटल मर्चेन्टमा भवानी राणाको ‘इन्ट्री’,  २२ रुपैयाँमा शेयर किनिन्

बिजमाण्डू
२०७५ असोज ७ गते १२:४० | Sep 23, 2018
६ बर्षदेखि समस्याग्रस्त क्यापिटल मर्चेन्टमा भवानी राणाको ‘इन्ट्री’,  २२ रुपैयाँमा शेयर किनिन्

काठमाडौं। समस्याग्रस्त सूचीमा रहेको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स नयाँ समूहले खरीद गर्ने भएपछि नेपाल राष्ट्र बैंकले शेयर कारोबार फुकुवा गरिदिएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार फुकुवाका लागि पत्राचार गरेको थियो। कम्पनीको शेयर 'म्यानुअल' किनबेच भएको छ। कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा 'इन्ट्री' गरेकी छिन्।

राणासँगै उद्यमी प्रवलजङ पाण्डे, चिरञ्जिबी थापा र झलक खनालले लगानी गरेका छन्। अहिले संस्थापक शेयर २२ रुपैयाँका दरले खरीद गरिएको हो।

ऋण दूरुपयोग गरेर संस्था धरासयी भएपछि राष्ट्र बैंकले २०६९ साल माघ ९ गते कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको थियो। संस्था चल्नै नसक्ने अवस्थामा रहेका बेला नयाँ समूहले खरीद गर्न लागेको छ। नयाँ समूहले पूँजी कोष पुर्याएपछि राष्ट्र बैंकले समस्याग्रस्तबाट हटाइदिने छ।

कम्पनीको चुक्ता पूँजी ९३ करोड ५० लाख रुपैयाँ छ। कम्पनीको पूँजी कोष अनुपात करिव १९ प्रतिशतले ऋणात्मक छ। कम्पनीका सबै ऋण समस्यामा छन्। त्यसैले खराब कर्जा अनुपात १०० प्रतिशत छ। कम्पनीले एक अर्ब ७० करोड रुपैयाँको नोक्शानी ब्यवस्थापन गरेको छ। 

कम्पनीसँग सर्वसाधारणको ८३ करोड ४० लाख रुपैयाँ निक्षेप छ। कम्पनीले एक अर्ब ६९ करोड ५५ लाख रुपैयाँ ऋण लगानी गरेको छ। कम्पनीमा २२ हजार १५५ जनाको निक्षेप छ। 

आइतबार नेप्सेमा कम्पनीको संस्थापक शेयर प्रति कित्ता २२ रुपैयाँका दरले बिक्री भएको छ। कम्पनीको तीस लाख कित्तामाथि शेयर बिक्री भएको हो। कम्पनीको साधारण शेयर पनि २२ रुपैयाँ प्रति कित्ताका दरमा बिक्री भएको छ।