कहिलेबाट हाजिर गर्न जानु हुन्छ? दुई जना कार्यकारी हुँदा गाह्रो होला काम गर्न?
पहिला त नेपाल वायु सेवा निगमका समस्याका बारेमा अध्ययन नै गर्नुपर्छ। अवस्था कस्तो छ, पहिला बुझ्नुपर्यो। म बाहिर बसेर सबै सिचुएसन बुझेको छैन। आन्तरिक सबै कुराहरु बुझ्नलाई तीन चार दिन लाग्छ। अब दैनिक काम संचालन गर्नु एउटा कुरा हो। 'टर्न एराउन्ड' नै गर्नका लागि अहिलेको स्थिति के हो त्यसलाई समग्ररुपमा बुझिसकेपछि मात्र हामीले कस्तो प्लान बनाउनु पर्ने भन्ने कुरा हुन्छ। अहिले नै प्लान बनाउनुभन्दा पनि पहिलेको अवस्था अध्ययन गरेर त्यसको पछाडि कस्तो प्लान बनाउनुपर्छजस्तो लाग्छ।
दुई जना कार्यकारी। यो जोखिम जस्तो लाग्दैन तपाईँलाई?
जोखिम नभएको त कुनै विषय नै हुँदैन। पात्र मात्र फरक हो। त्यस कारणले हामी मान्छे किन चाहिन्छ भने त्यही जोखिमकै समाधान गर्नलाई नै हो। त्यसो भएको कारणले म आशावादी छु। जस्तै ठूलो जोखिम पनि यदि हामीले मेहेनत गर्यौँ भने समाधान गर्न सक्छौँ।
तपाई एनएसीसँग मात्र जोडिनुभएंको छैन। हामीले देखेको चाहिँ एनएसीसँगै २४ करोड दिएको सञ्चय कोष र नागरिक लगानी कोष पनि जोडिएको छ। यसका तपाई दुई जनाको प्रतिस्पर्धा पनि जोडिन्छ। यदि तपाईँहरु फेलियर हुनु भयो भने?
त्यो लाग्छ नी। त्यो कर्तब्यवोध भएन भने जिम्मेवारीबोध भएन भने हामीले वास्तवमा राम्ररी आफ्नो कार्यसम्पादन गर्न पनि सक्दैनौँ। यसले हामीलाई सधैँ घच्घच्याइर्हनु पर्छ। यस्तो दबाबले हामीलाई सधैँ अगाडि बढ्नलाई प्रेरित गरिरहनुपर्छ।
जस्तो एमडी र तपाईँको विचमा के हुन्छ? समन्वय नमिल्ला। दुईवटै कार्यकारी रोल हो ? यो त कन्फ्लिक्टको एउटा जरा सुरु भएको हो नि?
मलाई त्यस्तो लाग्दैन। कुरा के हो भने कार्यकारी रोल त दुईजनाको मात्र होइन त्यसमा सबैको कार्यकारी रोल हुन्छ। डाइरेक्टरहरु पनि सबै कार्यकारी हुन्। विहान १० देखि पाँच बजेसम्म सधैँ रेगुलर काम गर्ने मान्छे सबैले कार्यकारीको काम गर्छन्। त्यहाँ एक जना मान्छेले मात्र कार्यकारी काम गर्ने होइन। त्यो कार्यकारी भनेको हामीले एक्सनमा ल्याएर काम गर्ने हो। आ-आफ्नो रोल गर्ने हो। अब महाप्रवन्धक ज्यूको आफनो भूमिका हुन्छ। उहाँले त्यो गर्नुहुन्छ। म कार्यकारी अध्यक्ष मेरो आफ्नो भूमिका हुन्छ। हामी त्यो काम गर्छौँ। संस्थामा कसैलाई न कसैलाई काहिँ न काहिँ रिपोर्ट त गर्नैपर्छ। एउटा मान्छेले हेड गर्नु नि पर्छ। यो मात्र कुरा हो।
जस्तो तपाईँलाई एउटा आरोप पनि छ, एक वर्षमै छोड्यो। यसरि छोड्ने मान्छेलाई किन ल्यायो डराएर भाग्छ भन्ने कुरा पनि छ नि?
त्यो भन्ने मान्छेलाई त मैले केहि भन्न सक्दिन। मान्छेको मुल्याङ्कन गर्न सबे स्वतन्त्र छन्। मेरो आफ्नो स्वास्थ्यका कारणले मैले राजीनामा दिएँ त्यो बेला। मैले पहिले मेरो कन्ट्र्याक्टमा पनि लेखेको थिएँ। मेरा बारेमा बहुतै हलुका किसिमले टिप्पणी भयोजस्तो लाग्छ। म के भन्न चाहन्छु भने मान्छेको मुल्याङ्कन भन्ने कुरो अथवा उसलाई क्रिटिसाइज गर्ने भन्ने कुरो उसले के गर्यो त्यो अवधिमा भन्नेसँग जोडेर हेरिनु पर्छ।
वास्तवमा म एक वर्षमात्र काम गरेको होइन। करिब अढाइ वर्ष काम गरेको हो। म अढाई वर्षको अवधिमा भएको कमप्रति गर्व गर्छु। मलाई रमाइलो लाग्छ। म त्यो संस्थामा छँदा त्यो समयमा देखिने किसिमको भिजिवल परिवर्तनका कुराहरु आउन थालिसकेका थिए। के के कामहरु भएका थिए म ती कार्यहरुको ठूलो लिस्ट अहिले पनि देखाउन सक्छु।
जहाज किन्ने प्रक्रिया तपाईँकै पालोमा भएको हो?
जहाज किन्नेदेखि लिएर सेफ्टीका काम त्यतिखेरदेखि नै सुरु भएको हो। त्यतिखेर आउँदा खेरी मेरो के सिद्धान्त थियो भने हामीले कुनै कामहरु पेन्डिङ राख्नु हुन्न। अर्को सिद्धान्त के हो भने काम भनेको जति समय लागेर गरिरहने होइन। समय सीमाभित्र काम सक्नु नै काम हो। यो महत्वपूर्ण पनि हो।
तोकिएको अवधिभित्र काम गर्नुपर्यो?
हरेक कामको समय सिमा हुन्छ। त्यसभित्र काम हुनुपर्छ। र त्यो काम भएन भने किन भएन भनेर सोधिनु पर्छ। मलाई लाग्छ नेपालको सबैभन्दा ठूलो समस्या त्यहि हो। हामी काम गरिरहेका हुन्छौँ। अनन्तसम्म गरिरहेका हुन्छौँ। त्यो काम कहिल्यै सकिँदैन।
कर्मचारी युनियनको सहयोग कत्तिको रहनेछ जस्तो लाग्छ तपाईँलाई? पहिला पनि युनियनले तपाईँलाई समस्या दिएको थियो भन्ने सुनिन्छ?
त्यो के हो भने मैले राजिनामा दिनु अघिसम्म युनियनसँग एउटा सौहार्द्रपूर्ण वार्ता थियो। हामीले कामलाई कसरि अगाडि लाने भन्ने कुरामा समन्वय हुन्थ्यो। युनियन भनेको त्यो संस्थाको अभिन्न अंग हो। युनियनसँग असहज हुनु भनेको तपाईँ आफै त्यो संस्थासँग असहज हुने कुरा हो। हामीले जतिसम्म सहज हुन सक्छौँ त्यो संस्थाको लागि फाइदाजनक हुन्छ र हामीले असहज भन्ने कुरा सोच्नुहुँदैन र कसरी सहज हुनु पर्छ त्यो सोच्नुपर्छ।
(सरकारले आइतबार राति नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ। आजै उनी पदभार ग्रहण गर्न निगम कार्यालय जाँदैछन्। नवनियुक्त खरेलसँग गरिएको छोटो वार्ता)