बैंकमा जागिर पाइँदैमा कोही बैंकर हुँदैन, वासुदेव अधिकारीको मणिपाल एकेडेमीको अनुभव    




नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) ले गत अगष्टमा आफूले सहकार्य गर्न खोजेको संस्था मणिपाल एकेडेमी, बैंगलोरमा नेपालका बैंकरहरुको एक टोलीलाई अवलोकन भ्रमण गर्ने तारम्य मिलायो। त्यस टोलीमा म पनि मिसिएँ। ३ दिने भ्रमणले बैंकिङ जनशक्ति विकास तथा तालिमका सम्बन्धमा हामीले गर्नु पर्ने कामहरुको सूची विस्तारमा सहयोग पुर्यायो।  

मणिपाल एकेडेमीले अन्य शैक्षिक कोर्स सञ्चालनको अतिरिक्त बैंकहरुसँग सहकार्य गरी तिनको आवश्यकता अनुरुप बैंकिङ तालिम तथा सर्टिफिकेशन कोर्स सञ्चालन गर्दो रहेछ। विश्वविद्यालय तथा अन्य आवश्यक निकायबाट सम्बन्धन एवम् स्वीकृति लिई सञ्चालन गर्ने त्यस्ता तालिम तथा सर्टिफिकेशन कोर्सले बैंकरहरुलाई बैंकिङ सिद्धान्त, व्यवस्थापनका विविध विषयमा अत्यावश्यक ज्ञान, कानुनी व्यवस्था, आधुनिक बैंकिङ, केन्द्रीय बैंक तथा सम्बन्धित बैंकको नीतिबारे आवश्यक ज्ञान प्रदान गरी कुशल बैंकर बन्न आवश्यक सीप विकासमा सहयोग पुर्याउँदो रहेछ। 


सेवा प्रवेशपूर्व सामान्यतया कोही पनि व्यक्ति बैंकर भइसकेका हुँदैनन्। केही अपवादलाई छाडेर नेपालका बैंकमा सेवा प्रवेश लगत्तै नव प्रवेशी कर्मचारीलाई सघन तालिम प्रदान गरी बैंक तथा बैंकिङ क्षेत्रको मूल्य मान्यता, आचारसंहिता, बैंकिङ प्रविधि र यसको कार्य विशिष्टताको बारेमा उल्लेख्य ध्यानाकर्षण गराउने गरेको देखिदैन। 

सहायक वा व्यवस्थापन प्रशिक्षार्थीमा कर्मचारी भर्नापछि हामी या त सिधै काममा खटाउँछौँ अथवा गर्नु पर्ने कामको सामान्य ब्रिफिङ्ग गरी तालाचाबी जिम्मा दिन्छौँ। एउटा भूमिकामा कार्यरत कर्मचारीलाई व्यवस्थापक बनाउँदा त झन् बढुवा वा सरुवा पत्र मात्र थमाइदिन्छौँ। व्यवस्थापकले आफ्नो पदीय जिम्मेवारीको आयाम कनिकुथी गरेर बुझ्नु पर्छ। हाम्रा यी कार्यशैलीको कारण नेपाली बैंकमा सञ्चालन जोखिम मात्र बढेको छैन सुशासनको जग समेत कमजोर भएको छ। 

बैंकिङ क्षेत्रको विशिष्ट मूल्य र संवेदनशीलता नसिकार्इृ आफैँ जानिँदैन। बैंकले ग्राहकलाई गर्नु पर्ने व्यवहारको न्यूनतम स्तर (बेञ्चमार्क) व्यक्ति कर्मचारीले होइन बैंकले नै निर्धारण गर्नु पर्ने हुन्छ। त्यसको निम्ति सिकाइ र परीक्षण आवश्यक भएको सन्दर्भमा बैंगलोर अवलोकन भ्रमणको क्रममा भारतका बैंकहरु यस सवालमा निकै पाका र दूररदर्शी देखिए। उनीहरुले आफ्नो बैंकमा कार्यरत वा प्रवेश गर्न इच्छुक मानव संसाधनलाई बलियो बनाउन विशेष रणनीति अपनाएको देखियो। त्यो रणनीति होः मणिपाल एकेडेमीसँग दिगो सहकार्य। 

भारतका सरकारी तथा निजी दुबै क्षेत्रका बैंकहरुले कर्मचारीहरुको ज्ञान, सीप तथा धारणा परिमार्जनको लागि तालिमलाई आत्मसात गरेको देखियो। खासगरी नवप्रवेशी कर्मचारीलाई नियुक्ति पूर्व बृहत् बैंकिङ अध्ययनका लागि मणिपाल एकेडेमी पठाई संस्थाको नीति बमोजिम ६ महिनादेखि १२ महिनासम्म आवासीय तालिम गराउने गरेको देखियो। त्यसरी तालिममा आएका नवप्रवेशी बैंकरलाई सम्बन्धित बैंकले आवश्यक कर्जा उपलब्ध गराउने, ती व्यक्तिले एकाध वर्ष सम्बन्धित बैंकमा तोकिएको अवधि काम गरेपछि त्यो कर्जा मिनाहा गर्ने गरेको पनि जानकारी भयो। 

जागिर खोज्ने वा पाउने व्यक्ति जति सक्षम भए पनि उनीहरु बैंकर होइनन्, तिनलाई बैंकर बनाउन अपनाइएको यो विधि निकै सुविचारित र संयमपूर्ण देखियो। बैंकले कायम गर्नु पर्ने उच्च नैतिक मूल्य तथा चरित्र कर्मचारी मार्फत नै कायम गर्ने हो। मणिपाल एकेडेमीले बैंकसितको सहकार्यमा त्यस्तो कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित बैंकको हुबहु सेटअप, नीति, भौचर रसिद लगायतका कागजात, ढुकुटी, क्याविन, सफ्वेयर (ट्रेनिङ्ग) आदि पूर्वाधार तयार गरी बैंकको मिसन भिजन, कार्यशैली के कस्तो छ र हुनु पर्छ भनी सिकाउने गरेको देखियो। 

लगातारको सिकाइपछि प्रशिक्षार्थीलाई केही समय बैंकको काममा लगाई, तिनको कामको आवश्यक अनुगमन गरी प्राप्त फिडब्याकको आधारमा एकेडेमीले तिनको सीपमा निखार ल्याउने गरी तालिम सञ्चालन गर्ने र अन्तमा बैंकले प्रशिक्षार्थीको रुचि तथा क्षमता अनुसार पदस्थापन गर्ने परम्परा थालेको बुझियो। 

बैंकले हाल उपयोग गर्दै आएको प्रविधि परिवर्तन गर्न लाग्दा त्यसअगावै सम्बन्धित कर्मचारीलाई सिकाउने परिपाटी पनि हामीलाई मन पर्यो। अवलोकनको क्रममा बैंकहरुले सिकाइ तथा दैनन्दिनको व्यवसायमा सहज प्रविधि भित्र्याई डिजिटाइजेसनलाई बढाइरहेको पक्ष पनि सिक्न लायक देखियो। मणिपाल एकेडेमीले धेरै बैंकसित बेग्ला बेग्लै सम्झौता गरी एकैचोटि धेरै आवासीय कार्यक्रम सञ्चालन गरेर भारतीय बैंकलाई लगाएको गुन प्रशंसनीय छ।  

नेपालको बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले कुल कर्मचारी खर्चको ३ प्रतिशत रकम मानवीय संसाधनको क्षमता अभिवृद्धिका लागि खर्च गर्न निर्देशित गरेको सन्दर्भमा त्यति रकम बराबरको बिल बनाउनेभन्दा पनि त्यसको प्रभावकारी उपयोग मार्फत् संस्था सुदृढ बनाउन खर्च गर्न आवश्यक छ। नवप्रवेशी कर्मचारीलाई आवश्यक र मनग्य तालिम नदिई उनीहरु खास बैंकर बन्न सक्तैनन्। 

नयाँ जिम्मेवारी पाउने सञ्चालक, व्यवस्थापक वा खास विभागका प्रमुखहरुलाई पनि जिम्मेबारी अनुरुपको तालिम आवश्यक हुन्छ। यसको अलावा कर्जा, जोखिम, सम्पत्ति शुद्धीकरण, जालसाजी (एन्टी फ्रड), एनविआइले हाल सञ्चालन गर्दै आएको जानबी, क्यानबी जस्ता सर्टिफिकेशन कोर्सले बैंक कर्मचारीको व्यवासायिक सीप तथा दक्षता बृद्धि गर्न महत्वपूर्ण योगदान गर्न सक्छ। आशा गरौँ पाइला पाइलामा सञ्चालन जोखिम (खासगरी मानव संसाधन जोखिम) खेपिरहेका बैंकहरुले मणिपाल बैंगलोरमा सञ्चालित यस बौद्धिक पहलबाट सकारात्मक पाठ सिकी त्यसलाई व्यवहारमा लागू गर्ने छन्। 
(अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।)
 

Share this Story

   

बैंकमा जागिर पाइँदैमा कोही बैंकर हुँदैन, वासुदेव अधिकारीको मणिपाल एकेडेमीको अनुभव     को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.