को हुन् अमेरिकी अर्बपति वारेन बफेटका नयाँ भारतीय साझेदार, डिजिटल वालेट पेटिएममा लगानी गर्ने

बिजमाण्डू
२०७५ भदौ १२ गते १४:२१ | Aug 28, 2018

अमेरिकी अर्बपति वारेन बफेटले पहिलोपटक भारतमा प्रत्यक्ष बैदेशिक लगानी गर्ने भएका छन्। बफेटको वर्कशायर हाथवेले भारतको टप अनलाइन पेमेन्ट सर्भिस प्रोभाइडर पेटिएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन्समा लगानी गर्न लागेको हो। कम्पनीमा लगानी गर्ने विषयमा गत फेब्रुअरीदेखि नै द्विपक्षीय छलफल चलिरहेको छ।

Tata
GBIME
Nepal Life

पेटिएममा चीनको अलिबाबा ग्रुप र जापानको सफ्ट बैंकको समेत लगानी रहेको छ। वर्कशायरले पेटिएममा ३० देखि ३५ करोड डलरसम्म लगानी गर्ने भनिएपनि लगानीको आकार भने अझै तय भैसकेको छैन। कम समयमै पेटिएमले बजारमा देखाएको परफर्मेन्सबाट प्रभावित भएर बफेटले यसमा लगानी गर्न लागेको बताइएको छ।  

गतवर्ष सफ्ट बैंकले पेटिएममा १ अर्ब डलर लगानी गरेको थियो त्यसबेला पेटिएमको भ्यालु ७ अर्ब डलर मूल्यांकन गरिएको थियो। यस वर्ष १० देखि १२ अर्ब डलरको भ्यालुएसन गरिएको कम्पनीमा बफेटले लगानी गरेमा पेटिएम भारतमा मार्केट लिडरकै रुपमा देखिने विश्लेषण भैरहेको छ।

वर्कशायर हाथवे र पेटिएम दुबैले यस बिषयमा अहिलेसम्म कुनै पुष्टि भने गरेका छैनन्। केही साताभित्रै यसबारेमा सार्वजनिक गर्ने अनुमान छ।

यदि यो डिल भएमा  वर्कशायर हाथवेले लगानी गर्ने पहिलो निजी प्राविधिक कम्पनी हुनेछ। यसअघि हाथवेले केही पब्लिक लिस्टिङ भएका टेक कम्पनीहरुमा मात्र लगानी गरेको थियो। आइबिएम र एप्पलमा हाथवेले लगानी गरेको थियो जसमध्ये आइबिएमबाट उसले हात झिकिसकेको छ भने एप्पलमा अझै पनि लगानी रहेको छ।

वर्कशायर हाथवेले यसअघि सन् २०११ मा वर्कशायर इन्डिया स्थापना गरी बजाज अलायन्ससँग बीमा कारोबारमा साझेदारी गरेको थियो। तर दुई वर्षपछि नै वर्कशायरले त्यसबाट हात झिकेको थियो।

सन् २००० मा बिजय शेखर शर्माले स्थापना गरेको वान ९७ ले मोबाइल पेमेन्ट तथा मोबाइल रिचार्ज बिजनेसबाट कारोबार सुरु गरेको थियो।
हाल यो कम्पनी भारतकै टप बिजनेसमा पर्छ। 

डिजिटल वालेट पेटिएमले गत दुई वर्षमा एग्रेसिभ इ कमर्सका कारण बजारमा राम्रो स्थान बनाएको हो। २०१६ मा मोदी सरकारले लगाएको नोटबन्दीपछि पेटिएमको बिजनेसमा आश्चर्यजनक बृद्धि भएको थियो। 

त्यसबेला भारतको केन्द्रीय बैंकबाट पेमेन्ट बैंक लाइसेन्स लिने ११  जनामध्ये शर्मा पनि एक हुन् जसले पेटिएम पेमेन्ट बैंक संचालन गर्दै आएका छन्।  ४० वर्षका शर्माले सन् २००१ मै कम्पनी खोलेपनि ९ वर्षपछि मात्र पेटिएम लञ्च गरेका थिए।

मोबाइल पेमेन्टमा बढी काम गरिरहेको पेटिएममा  हाल २५ करोड रजिष्टर्ड यूजर्स रहेको र दैनिक ७० लाखवटा  कारोबार हुने गरेको छ।
यसले पेटिएम मल र पेटिएम पेमेन्ट बैंक पनि संचालन गर्छ जुन भारतकै पहिलो मोबाइल बैक हो।

उत्तर भारतका शर्माले कलेज पढ्दा नै वेब पोर्टल बनाएका थिए। इन्डिया साइट डट नेट नामको बेब पोर्टल उनले दिल्ली टेक्नोलोजिकल युनिभर्सिटी पढ्दा नै बनाएका थिए जुन उनले ग्रयाजुएसनछि दश लाख डलरमा बेचेका थिए।

शर्माले कान्छा भारतीयका रुपमा गत वर्ष नै फोर्ब्सको अर्बपति क्लबमा नाम लेखाइसकेका छन्। हाल उनीसँग कम्पनीको १६ प्रतिशत शेयर रहेको छ।