मातृका यादबका स्वकीय सचिव उद्योग अनुगमनमा, वाग्मती आयलको उत्पादनमा रोक

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ भदौ १ गते २२:२१ | Aug 17, 2018

विराटनगर। वीरगञ्जका तेल उद्योगमा छापा मार्न दुई हप्ताअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव आफैँ पुगेका थिए, विराटनगरमा उनले आफ्ना स्वकीय सचिवलाई पठाए । 
 
मन्त्री यादवका निर्देशनमा उनका स्वकीय सचिव सन्तोष विष्ट संलग्न टोलीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका पाँच तेल उद्योगको नमूना लिएको छ भने एक उद्योगको उत्पादनमा रोक लगाएको छ । गोप्य रूपमा आएको टोलीले विराटनगरको कटहरीस्थित वाग्मती आयल इन्डस्ट्रिजको उत्पादनमा रोक लगाएको हो । टोलीले यस उद्योगको उत्पादनको नमूना परीक्षणका लागि लगेको छ ।
 
टोलीले नमूना तेलको प्रयोगशाला विश्लेषण प्रतिवेदन नआउन्जेल तेलको प्याकिङ र विक्री वितरण नगर्न भन्दै उद्योगलाई पत्र पठाएको छ । अनुगमन टोलीको नेतृत्व गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गरेका थिए ।महानिर्देशक पुडासैनीका अनुसार मोरङको बाबा आयल तथा सुनसरीको स्वतिक आयल, जेके आयल र पशुपति खाद्यतेल उद्योगबाट तेलको नमूना परीक्षणका लागि लगिएको छ ।
 
उक्त नमूना विराटनगर र काठमाडौं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशाला दुबै ठाउँमा परीक्षण गरिने महानिर्देशक पुडासैनीले बताए । यसअघि अनुगमनका बेला सङ्कलित नमूना विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा मात्र परीक्षण गरिन्थ्यो ।यसरी सङ्कलित नमुनामा मिसावट वा कैफियत गरेको पाइए सम्बन्धित उद्योगलाई नयाँ मुलुकी ऐन (संहिता) अनुसार कानुनी कारवाही गरिने स्वकीय सचिव विष्टले जानकारी दिए ।
 
नयाँ संहिताले खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने सजाय तोकेको छ ।गुणस्तर तथा नापतौल कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अन्नपूर्ण पिपिसी सिमेन्ट, हुलास वायरबाट उत्पादित टिएमटी छड, चिकेन र भेज स्वादको रमपम तयारी चाउचाउ, गोरखकाली ओपिसी र तेज पिपिसी सिमेन्ट र कमला रोलिङ मिलबाट उत्पादित टीएमटी फलामे डन्डीको पनि परीक्षणका लागि नमूना लगिएको उल्लेख गरिएको छ ।

Tata
GBIME
Nepal Life