निजी क्षेत्रले भनसुनबाट सस्तो आयोजना हात पार्ने उर्जामन्त्रीको आरोप, एउटैलाई धेरै आयोजना किन?

बिजमाण्डू
२०७५ भदौ १ गते १५:२४ | Aug 17, 2018


काठमाडौं। उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकले भनसुन गरी सरकारी अधिकारीलाईनै प्रभाव पारी आकर्षक आयोजना हात पार्ने गरेको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रवर्द्धकले सहज र आकर्षक आयोजना हत्याउन भनसुन गरी सरकारलाई प्रभाव पार्ने गरेको खुलासा गरे।

‘निजी क्षेत्रले १५/१८ करोड रुपैयाँ प्रति मेगावाट लागतमा आयोजना बनाउँछन्। त्यसै समयमा सरकारले बनाएको आयोजनाको लागत ६०/६५ करोड प्रति मेगावाट हुन्छ।’ पुनले भने, ‘नेपालमा जतिपनि नदीनाला छन्। भौगोलिक रुपमा सम्भाव्य छैनन् भने ती आयोजना नबनाउँ।’

निजी क्षेत्रलाई पनि आर्थिक रुपमा सम्भव नहुने आयोजनामा हात नहाल्न पुनले आग्रह गरे। समयमै सम्पन्न गर्न सकिने काममा मात्रै हात हाल्नुस्। उनले भने, तपाईको आयोजना बन्न समय लाग्यो भने प्रशारण लाइनको काममा बाधा पुर्‍याउनु हुन्छ। मसँग पढेका साथीहरु हुनुहुन्छ। म सँग सँगै सहकार्य गरेका साथीहरु हुनुहुन्छ। मसँग भनसुनकालागि नआउनुहोला। सरकारलाई घाटा हुने र निजी प्रवर्द्धकलाई फाइदा हुने काम मात्रै गर्न सकिँदैन।

अहिले निजी क्षेत्र र प्राधिकरणको उत्पादन बराबर छ। भोलि निजी क्षेत्रको उत्पादन बढ्छ नै। सबैलाई समेट्ने गरी सहज हुनेगरी नीति नियम बनाउँला। तर कुनै एक प्रवर्द्धकलाई मात्र फाइदा हुने गरी नत प्रशारण लाइनको दुरी लम्बिन्छ। नत सबस्टेशनको नक्सानै परिवर्तन हुन्छ- उनले भने।

काम नगर्ने ठेकेदारप्रति आक्रमक

जलविद्युत आयोजनाको ठेक्का लिने क्रममा एउटै ठेकेदारले ७४ वटा आयोजना होल्ड गरेको भन्दै मन्त्री पुन आक्रोसित भएका थिए।

७४ वटा आयोजना होल्ड गरेर बसेको छ। कुनै पनि आयोजनाको प्रगति सन्तोषजनक छैन। त्यस्ता ठेकेदारलाई किन थप आयोजना हातमा लिनु पर्‍यो?

उनले पहिला ठेक्का लिएको काम सकेपछि मात्रै नयाँ ठेक्का लिनदिन विद्युत प्राधिकरण सञ्चालक समितिको ध्यानाकर्षण गराएका थिए।