विराटनगर। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका तीन आरोपीलाई उच्च अदालत विराटनगरले मोरङ जिल्ला अदालतकै आदेश सदर गर्दै पुर्पपक्षका लागि थुनालाई निरन्तरता दिएको छ ।
पुर्पक्षका लागि थुनामा निरन्तरता पाएकामा सम्बीरप्रसाद तोलाङ्गे, पुण्यप्रसाद लामा र राजनकुमार छन् ।सम्बीरप्रसाद र पुण्यप्रसादको सुनवाइमा उच्च अदालतका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल र उमेशकुमार सिंहले जिल्लाकै आदेश सदर गरेका हुन् ।सम्बीरका तर्फबाट रमिता महर्जन र पुण्यका तर्फबाट रमितिासहित हरिनारायण चौधरी र उद्धवप्रसाद घिमिरेले बहस गरेका थिए ।
त्यस्तै नेपाल सरकारका तर्फबाट सम्बीरका विपक्षमा सहायक जिल्ला न्यायाधिवक्ता पदमप्रसाद वस्ती र पुण्यका विपक्षमा जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक र सह जिल्ला न्यायाधिवक्ता वस्तीले बहस गरेका थिए ।अर्का अभियुक्त राजनकुमारका हकमा पनि उच्च अदालतले मोरङ जिल्ला अदालतकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनालाई निरन्तरता दिएको छ ।
उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतको २०७५ जेठ ८ को आदेश बेरीतको नदेखिएको हुँदा परिवर्तन गर्नु नपर्ने आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजलासले राजनकुमारको सुनवाइ एवम् आदेश गरेको हो ।
राजनकुमारका तर्फबाट अधिवक्ताद्वय विकास थापा र यामबहादुर मगरले तथा सरकारका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पदमप्रसाद वस्तीले बहस गरेका थिए ।अदालतका रजिस्टार नवराज दुलालका अनुसार प्रतिवादीहरू सञ्जय राउत, हेमन्त गौतम, दिवेश लोहनी, गोविन्द निरौला र विकासराज खनालका हकमा अलगअलग सुनवाइ गर्ने आदेश भएको छ ।
पाँचै अभियुक्तको एउटै कैफियत भएको हुँदा छुट्टाछुट्टै कैफियत गर्नू भन्ने आदेश उच्च अदालतका न्यायाधीशद्वय थिरबहादुर कार्की र जनक पाण्डेले गरेका हुन् ।अर्का अभियुक्त राजन थापाको बहस र सुनवाइ बिहिबार नभ्याइएको रजिस्टार दुलालले बताए ।अदालती बन्दोबस्तको १७ नम्बरअनुसार ३० अभियुक्तले थुनछेकको निवेदन दिएका छन् । उच्च अदालत विराटनगरमा प्रत्येक बिहिबार थुनछेकको बहस र सुनवाइ गरिन्छ । आजदेखि बहस र सुनवाइ सुरु भएको हो ।