राजस्व चुहावटमा विभागको स्ट्राइक, एक अर्ब रुपैयाँ माग दावीसहित रुपन्देही अदालतमा मुद्दा दायर

बिजमाण्डू
२०७५ साउन २८ गते १८:५२ | Aug 13, 2018
राजस्व चुहावटमा विभागको स्ट्राइक, एक अर्ब रुपैयाँ माग दावीसहित रुपन्देही अदालतमा मुद्दा दायर
 
काठमाडौं । अर्कैको नाममा फर्म दर्ता गरी राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय बुटवलले शिव इन्टरप्राइजेज त्यसका सञ्चालक विरुद्ध १ अर्ब २३ करोड रुपैयाँभन्दा धेरै माग दाबीसहित जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ। 
 
इन्टरप्राइजेजका सञ्चालक नवराजप्रसाद उपाध्यायले कमला रसाइलीको नाममा फर्म दर्ता गराई भन्सार चोरी पैठारी गरी समानान्तर, झुठ्ठा एवं नक्कली मूल्य अभिवृद्धि कर विजकबाट सामान बिक्री गरी राजस्व छलेको विभागले ठहर गरेको छ। 
 
विभागको स्वीकृत प्रतिवेदनअनुसार जिल्ला अदालत रुपन्देहीमा १६ कारोड ३५ लाख रुपैयाँ बिगो र १ अर्ब ७ करोड जरिवाना तथा ३ वर्षसम्म कैद सजाय मागदावी गरी मुद्दा दायर गरेको हो। 
 
विभागले उपाध्यायलाई मूख्य अभियुक्त ठहर गरी ४१ करोड १५ लाख रुपैयाँ माग दावी गरेको छ। यस्तै उनका छोरा शशांक खनाललाई पनि मूख्य अभियुक्त बनाई समान बिगो तथा जरिवाना माग गरिएको विभागले उल्लेख गरेको छ। 
 
यस्तै कमला रसाइली र राजकुमार गुप्तालाई मतियार ठहर गरी समान २० करोड ५७ लाख रुपैयाँ विगो तथा जरिवाना माग गरिएको छ। मूख्य अभियुक्तहरुलाई तीन वर्ष कैद सजाय र मतियारहरुलाई डेढ वर्ष कैद सजायसमेत माग दावी गरिएको छ।
 
त्यस्तै मण्डला अजिमा इन्टरप्राइजेजका प्रोप्राइटर शशांक र मतियार गुप्तालाई राजस्व चुहावट गरेको अभियोगमा विगो र जरिवाना गरि ६ करोड ७९ लाख र ३ वर्षसम्म कैद सजाय माग दावी गरी जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको छ। 
 
यो मुद्दामा मूख्य अभियुक्त  शशांकलाई  ४ करोड ५२ लाख र मतियार गुप्तालाई २ करोड २६ लाख रुपैयाँ विगो र जरिवाना माग दावी गरिएको विभागले जनाएको छ। यो मुद्दामा मुख्य अभियुक्त खनाललाई तीनवर्ष कैद सजाय र मतियार गुप्तालाई डेढवर्ष कैद सजाय समेत माग दावी गरिएको विभागले जनाएको छ। 
 
‘हामीले विस्तृत अध्ययनपछि मुद्दा दायर गरेका छौँ,’ विभागका महानिर्देशक दीर्घराज मैनालीले भने। 

Tata
GBIME
Nepal Life

के हो मुद्दा ?

भैरहवामा टेलरिङ व्यवसाय गरेर कमला रसाइली आफ्नो जीवन गुजारा गर्दै आएकी थिर्इन्। कपडा सिलाएर जीविकोपार्जन गर्दै आएकी रसाइलीसँग नवराज उपाध्यायको भेट भयो।

केही वर्ष अघि भेट भएका उपाध्यायले रसाइलीलार्इ कम्पनी खडा गरेर संयुक्त व्यापारको प्रस्ताव गरे।महिनावारी चार/पाँच हजार रुपैयाँ र टेलरिङका लागि आवश्यक पर्ने कपडा पनि दिने प्रस्ताव रसाइलीका लागि आकर्षक थियो।
 
नवराजको प्रस्ताव सहर्ष स्वीकार गर्दै उनले आफ्नो नाममा कम्पनी स्थापनका लागि सबै कागजात दिइन्। उनको नाममा शुभ इन्टरप्राइजेज नामको फर्म दर्ता भयो। यो कम्पनीको कारोबारका बारेमा रसाइलीलार्इ कुनै जानकारी थिएन।महिनाको चार/पाँच हजार र टेलरिङका लागि आवश्यक कपडा आउँदा उनी मख्ख थिइन्।

असार पहिलो साता शुभ इन्टरप्राइजेजमा राजस्व अनुसन्धान विभागले छापा मार्यो। विभागले कम्पनीका सबै कागजात नियन्त्रणमा लिँदै रसाइलीसहित नवराज र उनका छोरा शंशाकलार्इ समेत पक्राउ गर्यो।
 
रसाइली आफू पक्राउ परेपछि मात्रै आफ्नो नाममा कम्पनी स्थापना गरेर ठगी धन्दा चलाएको जानकारी पाइन्। जब उनले आफ्नो नाममा स्थापना भएको कम्पनीले करोडौंको राजस्व छली गरेको थाहा पाइन् रसाइली छांगाबाट खसेकोजस्तै भइन्।
 
अवैध व्यापारका लागि उपाध्याय बाबुछोराले रसाइलीलार्इ प्रयोग गरे।अवैध कारोबारका लागि रसाइलीजस्ता प्रयोग भएको पहिलो होइन। तर अहिले भने विभागले कुनै मोहरा होइन मूख्य अभियुक्तलार्इ पक्राउ गरेको छ। यसले अवैध कारोबार गर्न कसरी सोझासिधा व्यक्तिलार्इ प्रलोभनमा पारेर फसाइन्छ भन्ने उदाहरण रसाइलीलार्इ हेरे पुग्छ।