साउन ७ गतेपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १६ करोड मात्रै

बिजमाण्डू
२०७५ साउन २८ गते १६:०५ | Aug 13, 2018
साउन ७ गतेपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १६ करोड मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। लगातार सात कारोबार दिनदेखि घटिरहेको शेयर बजारमा आठौँ दिन सोमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक(नेप्से)१० दशमलब ४३ अंकले बढेर १ हजार १ सय ७४ अंकमा उक्लिएको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब २४ अंकले बढेर २ सय ४७ दशमलब ९४ अंकमा कायम भएको छ।गत साउन १६ गते नेप्से १ हजार १ सय ९३ अंकमा थियो।त्यसयता शेयर बजार लगातार घटेर आइतबार नेप्से १ हजार १ ६४ अंकमा आएको थियो।जुन साढे दुर्इ वर्षकै न्यून हो।आइतबारको नेप्से सूचक ०७२ पुस २४ गते भन्दा पनि तल पुगेको थियो।

आज १ सय ५७ कम्पनीका पाँच लाख ३३ हजार कित्ता शेयर १६ करोड ९६ लाख रुपैयाँमा कारोबार भयो।आइतबारको तुलनामा ३२ प्रतिशत कम हो।अघिल्लो दिन २५ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।सोमबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड २० लाख रुपैयाँ बराबरको कारोबार भयो।सोमबार होटेल समूह वाहेक सबै उपसूचक बढेका छन्।

विगत लामो समयदेखि बजार निरन्तर ओरालो लागेको र बजारमा धेरै सस्तोमा शेयर पाउन थालेपछि किन्ने चाप बढेको बजार विश्लेषक तुलसीराम ढकालले बताए।उनले बैंक तथा वित्तिय संस्थाको नाफा राम्रो देखिएको बताउँदै राम्रो लाभांश आउने भएपछि लगानीकर्ता हौसिएको बताए।

‘बैंक तथा वित्तीय संस्थाले विस्तारै व्याजदर घटाउन थालेको छ।ब्याज घटेपछि केही लगानीकर्ता बजारमा आउन थालेका छन्, उनले भने। साउन महिना लागेसँगै शेयर बजार बढ्ने विगतदेखिकै ट्रेण्ड छ।यो ट्रेण्डमा केही नीतिगत सुधार भएमा शेयर बजारले गति लिने ढकाल बताउँछन्।‘शेयर बजार अहिलेको भन्दा तल झर्नुपर्ने कारण छैन।बरु केही नीतिगत सुधार भएमा बजार केही उकालोनै लाग्छ’ उनले भने।