नयाँ व्यवस्थापनले लिएपछि सौर्य एयरले तिर्यो बक्यौंता, ढिलोमा बिहिबारदेखि नियमित उडान

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ साउन २७ गते २०:२४ | Aug 12, 2018

Tata
GBIME
Nepal Life

विराटनगर।नयाँ व्यवस्थापनले लिएको सौर्य एयरले ढिलोमा बिहिबारदेखि उडान सुरु गर्ने भएको छ ।
 

सौर्यका बजार व्यवस्थापक मुकेश खनालले भरसक बुधबार नै नभएपनि बिहिबारदेखि विराटनगर र भैरहवामा उडान गरिने जानकारी दिए।‘श्याम अधिकारी र श्याम महर्जनको समूहले सौर्यको व्यवस्थापन लिइसकेको छ’, व्यवस्थापक खनालले भने, ‘यति बेलासम्म उडान रोकिनुको कारण नागरिक उड्डयन प्राधिकरणसहित केही ठाउँमा वक्यौता भएर नै हो । अब कतै वक्यौता छैन । प्राधिकरणका अधिकारी हाम्रो केन्द्रीय कार्यालयमा आएर लेखा परीक्षण गरेर गइसक्नु भएको छ । त्यहाँबाट स्वीकृतिको पत्र आउनेबित्तिकै हामी उडान सुरु गर्ने छौँ ।’
 
सौर्यका उडान तीन हप्तादेखि स्थगित छन् ।मुकेशका अनुसार सौर्यले उडानका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । आइतबार प्राधिकरणको सुरक्षा दिवस परेकाले स्वीकृतिको पत्र प्राप्त हुन नसकेको हो ।उनले सोमबार दिउँसो सम्ममा पत्र प्राप्त भएमा बुधबारदेखि भैरहवा र विराटनगरमा उडान सुरु गर्ने दाबी गरे । यसको तीन दिनपछि पहिलेझैँ नेपालगञ्ज र भद्रपुर पनि सुरु गरिने उनको भनाइ छ ।
 
सौर्यका दुई जहाजमध्ये अहिले एउटाबाट मात्र उडान भर्न सकिन्छ । अर्को जहाजको अगाडिको सिसा क्षतिग्रस्त भएको र फेर्नै पर्ने अवस्था रहेको उनले बताए ।खनालले १० दिनभित्रमा अर्को जहाजको सिसा फेरिने र त्यसपछि दुबै जहाजले उडान भर्ने उल्लेख गरे ।
 
चीनमा गैरआवासीय नेपालीका रूपमा व्यवसाय गरिरहेका श्याम अधिकारीको समूहले ६७ करोडमा सौर्य एयरलाइन्स खरिद गरेको हो । सौर्यको बैङ्कको ५५ करोड र गैरबैङ्किङ दायित्व १२ करोड रहेको बताइएको छ ।
 
व्यवस्थापक खनालले विराटनगरलाई केन्द्र बनाएर भविष्यमा भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्ने योजना रहेको चर्चा गरे । साथै विराटनगरबाट भारतको कोलकाता र नयाँ दिल्लीमा पनि सौर्यले हवाइ सम्पर्क कायम गर्ने सोचाइ रहेको बताए ।
 
सौर्यका दुबै ५० सिटे सिआरजे २०० जहाज क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बार्डियर कम्पनीमा निर्मित भएको उनले जानकारी दिए ।सौर्यले काठमाडौंबाट माउन्टेन फ्लाइट २ वटासहित काठमाडौबाटै विराटनगर ३, भद्रपुर, भैरहवा र नेपालगञ्ज २–२ र धनगढी १ उडान नियमित गरिरहेको थियो ।