नेपालसँग सीधा हवाई सम्पर्क नभएका मुलुकबाट अब ‘काठमाडौंमा डाइरेक्ट फ्लाइट!’

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ साउन २७ गते १७:०६ | Aug 12, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। तेस्रो मुलुकबाट नेपाल आउन चाहने विदेशी यात्रुलाई भारत हुँदै नेपाल प्रवेश गर्न थप सहज हुने भएको छ। नेपाल सरकारले नेपाल र भारतबीच भएको हवाई सेवा सम्झौताको दफा १३ अन्तर्गतको ‘कोअपरेटिभ मार्केटिङ एरेन्जेमेन्टस्’ अनुमोदन गरेसँगै भारत हुँदै नेपाल आउने पर्यटकलाई सहज हुने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब अब एउटै फ्लाइट टिकट, बोर्डिङ पास र संभव भएसम्म एउटै जहाजबाट तेस्रो मुलुकका यात्रुलाई भारतीय बाटो हुँदै नेपाल प्रवेशको सुविधा प्राप्त हुनेछ। दुई वर्ष अघि गरिएको हवाई सेवा सम्झौताको दफा १३ असार १० गतेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो।

मन्त्रिपरिषदले अनुमोदन गरेसँगै अब तेस्रो मुलुकका हवाई कम्पनीसँग नेपाल र भारतका हवाई कम्पनीले कोड शेयर गरेर उडान भर्न सक्नेछन्। यो व्यवस्था यसअघि भएका व्यवस्थाभन्दा फरक हो।

'मार्केटिङ एरेन्जमेन्टमा पहिलेदेखि इन्टर लाइन तथा इन्ट्रा लाइनको कोड शेयर त छँदै थियो। नेपाल र भारतका एयरलाइन्सबीच कोड शेयर त हुन सक्थ्यो,' पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, 'नेपालका मूख्य हवाई कम्पनी र भारतका मूख्य हवाई कम्पनीबीच कोड शेयर गरेर काठमाडौं र भारतको विभिन्न गन्तब्यमा जान पाइने व्यवस्था पहिले पनि थियो। अब तेस्रो पक्षका हवाई कम्पनीसँग नेपाल र भारतका हवाई कम्पनीले कोड शेयर गरेर उडान भर्न पाउने प्रावधान बनेको छ।'

सम्झौता कार्यन्वयनमा आएपछि भारतमा उडान भर्दै आएका हवाई कम्पनीमार्फत संसारका विभिन्न देशका पर्यटकले नेपालसम्मको 'डाइरेक्ट फ्लाइट'को सुविधा लिन सक्ने आचार्यले जानकारी दिए।

'जेट एयरवेज, एयर इन्डियासँग एयर फ्रान्सले कोड सेयर गरेर काठमाडौंसम्म यात्रु लिएर आउनसक्छ। कोड एउटै हुन्छ। पेरिसमै बसेका कुनैपनि हवाई यात्रुले काठमाडौंका लागि डाइरेक्ट फ्लाइटको अनलाइन टिकट बुकिङ गर्न सक्नेछन्,' आचार्यले भने, 'पेरिसबाट मुम्बईसम्म एयर फ्रान्स आउँछ। त्यसपछि जेट एयरवेजले आफ्नै ब्यानरमा तोकिएको यात्रुलाई नेपालसम्म ल्याइदिने काम गर्छ।'

यसरी आउने यात्रुको गणना सम्बन्धित हवाई सेवा प्रदायककै रुपमा गणना हुन्छ। तर उनीहरुको गन्तव्य मुलुक भने काठमाडौं उल्लेख हुन्छ। यो व्यवस्था कार्यान्वयनमा आएपछि नेपालसँग सीधा हवाई सम्बन्ध नभएका देशका यात्रु काठमाडौं आउन चाहँदा सजिलो हुने आचार्यले जानकारी दिए। नेपाल र युएईले यस्तै 'कोड शेयरिङ'मा यसैगरी काम गरिरहेको उनले जानकारी दिए।

यो व्यवस्था कार्यान्वयनमा आएपछि भारतीय भूमि हुँदै नेपाल आउन चाहने यात्रुले ट्रान्जिटको झन्झट व्यहोर्नु नपर्ने आचार्यले बताए। यसबाट नेपालले जस्तै भारतले पनि फाइदा लिन सक्ने आचार्य बताउँछन्। यसले हवाई ट्राफिक कम गर्न पनि सहयोग पुर्‍याउने मन्त्रालयको विश्वास छ।

मन्त्रिपरिषदले अनुमोदन गरेपछि यसको कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिएको आचार्यले जानकारी दिए। एउटै टिकटबाट तेस्रो मुलुकका यात्रुले नेपाल वा भारतसम्मको यात्रा गर्दाको 'रेभेन्यु' लागत अनुसार बाँडफाँट हुनेछ।