काठमाडौं।विगत लामो समयदेखि संचारमाध्यममा एउटा विज्ञापन छापिरहेको छ- ‘किस्ताबन्दीमा जग्गा ! अहिले पनि नकिने कहिले किन्ने?’
किस्ताबन्दीमा मासिक ३२ हजार रुपैयाँ तिर्ने गरि १२ लाख रुपैयाँ दिएर पास गर्न सकिने भएपनि जग्गा किन्न सोचेजस्तो पुगेनन्। जग्गा भएको ठाउँ गोदावरी नगरपालिकास्थित बज्रबराही मन्दिरको पछाडी पट्टि छ।जग्गाको छेउसम्म पिचबाटो पनि छ।
आफ्नै साधन हुनेहरु रत्नपार्क एक घण्टामा त्यहाँ पुग्न सक्छन्। जग्गाको मूल्य पनि प्रति आना ७/८ लाख रुपैयाँ भन्दा बढी छैन।कर्जाले थलिएका व्यापारीले किस्ताबन्दीमा जग्गा बिक्री गर्न खोज्दा पनि सकेनन्।आखिर किन बिक्री भएन जग्गा?
उच्च बैंक ब्याजदर, घरजग्गाको मूल्यांकन वृद्धि र १० लाख रुपैयाँसम्मको कारोबारमा पूँजीगत लाभकर लाग्ने व्यवस्थाले जग्गा किन्ने ह्वातै घटेका छन्।'हामीले जग्गाको कारोबारमा मन्दी आएपछि किस्ताबन्दीमा बेच्न खोज्यौ तर पनि सोचेजस्तो ग्राहक आएनन्' कम्पनीका प्रतिनिधि भैरब थापाले बिजमाण्डूसँग भने,'बैंक ब्याजदर,जग्गाको मूल्यांकन र पूँजीगत लाभकरले जग्गाको कारोबार थप समस्यामा पर्यो।' स्रोतका अनुसार किस्ताबन्दीमा बिक्री गर्ने जग्गाधनीले सहकारीबाट ऋण लिएर जग्गामा लगानी गरे।
सहकारीमा ऋणको ब्याजको मिटर घुमेको घुम्यै भएपछि उनी तनाबमा छन्।चापागाउँका स्थानीय नरबहादुर चन्द भन्छन्,‘ 'बैंक ऋण सहज भएका बेलामा उनले जग्गा किनेर प्लटिङ थाले।तर अहिले ब्याज बढेपछि जग्गा किन्न आएनन्।उनले किस्तावन्दीमा जग्गा बिक्री गर्ने योजना पनि सफल भएनन्।'
किस्ताबन्दी मात्रै होइन त्यो क्षेत्रमा घर/घरमा जग्गा बिक्रीमा छन्। जग्गा बिक्रीमा भएपनि किन्ने ग्राहक छैनन्।त्यो् क्षेत्रका जग्गा आनाकै एक लाख रुपैयाँ घटेर बिक्री गर्न खोज्दा पनि ग्राहक आउँदैनन्।
घरघरमै जग्गा दलाल
चापागाउँमा पाइलैपिच्छे घरजग्गा मध्यस्तकर्ता भेटिन्छन्।कोही नयाँ व्यक्ति जानेवित्तिकै जग्गा किन्ने कुरा सुरु गर्छन्।तर सबै कारोबारीले देखाउने जग्गा भने एउटै छ।एउटै परिवारमा आमा,बुबा र छोरा घरजग्गा मध्यस्तकर्ताको काम गरेको भेटिन्छ।
५५ वर्षिय लक्ष्मी सिलवाल पनि जग्गा देखाउने काम गर्छिन्। उनका छोरा पनि त्यही काममा छन्। 'सुरुमा १५ लाख रुपैयाँको जग्गा देखाउँछु।तर कोही किन्न नमानेपछि सस्तो देखाउन थालेको छु।त्यो पनि किन्ने मान्छे छैनन्।' उनले भनिन्।सिलवालका अनुसार डेढ वर्षअघि विदाको दिनमा जग्गा किन्नेको लाइन हुन्थ्यो।अरु दिनमा पनि जग्गा किन्न आउने राम्रै थिए।'डेढ वर्षपछि जग्गा किन्नै आउँदैनन्।'