तीन वर्षमा तीन पटक जानकी मेडिकल कलेज बिक्री, ‌ओपी पाण्डेले १ अर्ब ७२ करोड रुपैयाँमा किने

बिजमाण्डू
२०७५ साउन २३ गते १७:४६ | Aug 8, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।धनुषाको रमदैयामा रहेको जानकी मेडिकल कलेज १ अर्ब ७२ करोड रुपैयाँमा बिक्री भएको छ।यो मेडिकल कलेज ओमप्रसाद(ओपी) पाण्डेले किनेका हुन्।

उनी काठमाडौ मेडिकल कलेजका समेत प्रमुख लगानीकर्ता हुन्।पाण्डेले तीन वर्ष अघि ८७ प्रतिशत शेयर धनबहादुर शेरचन,हरिमान लामा र हरिकृष्ण भट्टचनलार्इ बिक्री गरेका थिए।संचालकको विवादका कारण बन्द रहेको कलेजमा शेरचन समूहले २४ करोड रुपैयाँ लगानी थपेर संचालनमा ल्याएको थियो।

नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक रतिशलाल सुमनलार्इ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेर व्यवसायिक रुपमा अघि बढाउन खोजेपनि स्थानीय तहबाट सहयोग नभएपछि शेरचन समूहले एक वर्ष अघि कलेज बिक्री गरेर वाहिरियो।

शेरचन समूहले मेगा कलेजका संचालक गोपाल खनाल, डिल्ली पौडेल,राजीव थापा,देवराज डंगोल,अर्जुन प्रधान र कामेश्वर साहलार्इ १ अर्ब ४० करोड रुपैयाँमा बिक्री गरेको थियो।राजनीतिक दलको समेत साथ पाएर कलेज किनेपनि संचालन गर्न सक्ने अवस्था नदेखेपछि यही समूहले पाण्डेलार्इ मेडिकल कलेज बेचेका हुन्।

स्रोतका अनुसार खनाल समूहले कलेज संचालन गर्न कठिन हुने देखेपछि कुनै पाण्डेलार्इ बिक्री गरेका हुन्।स्रोतका अनुसार मेडिकल कलेजको प्रभु बैंकका एक अर्ब रुपैयाँ ऋण छ भने व्यक्तिगत र सहकारीको ऋण पनि प्रयोगमा छ।कलेजका कर्मचारी र चिकित्सकको पनि तलब दिन बाँकी छ।जनकपुरमा रहेको यो कलेज शेयरधनीबीचको विवादका कारण राम्रोसँग संचालन हुन सकेको छैन।

१६ विघा क्षेत्रफलमा रहेको यो कलेजको रमदैयामा १ सय ६० शैय्याको हस्पिटल र जनकपुरमा ३ सय ६५ शैय्या गरेर ५ सय २५ शैय्याको अस्पताल छ।हस्पिटलमा आइसियू र सिसियू लगायतका पूर्वाधार पनि छ।अहिले हस्पिटलमा तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।