निजी क्षेत्रले ‘टार्गेट सेट' गरेपछि पूरा गरेरै छाड्छ, लक्की ग्रुपका सतिश मोरको अन्तर्वार्ता




पार्टनरसीपमा काम गर्दा क्लियर भिजन र क्लियर थट भएपछि कुनै विवाद हुँदैन। र, सँगै पारदर्शी पनि हुनुपर्छ। पारदर्शी हुनेवित्तिकै पार्टनरसीप विजनेश गर्न कुनै कठिन काम होइन।
---
लक्की ग्रुप 'पार्टनरसिप' बिजिनेशको मोडलनै हो। तीन दशकअघि संयुक्त रुपमा व्यापार सुरु गरेको यो समूहले मुलुककै सबैभन्दा ठूलो होङसी शिवम सिमेन्ट भित्र्याएको छ। समूहले ३६ अर्बको सिमेन्ट उद्योग मात्रै भित्र्याएन शिवम सिमेन्टलार्इ आइपिपिओमा लैजाने निर्णयसमेत गर्यो। लक्की ग्रुपका मूख्य साझेदार सतिश मोरलार्इ बिजमाण्डूका विज्ञान अधिकारीले सोधे- अहिले सबै घरानाको नजर लक्की ग्रुपतिर छ, तपार्इँहरु के गर्नुहुन्छ भनेर हेर्छन् ?
 
लक्की ग्रुपको उदय तीन दशकअघि व्यापारबाट सुरु भयो। तीन दशकको अवधिमा यो समूहले ठूलो फड्को मार्न सफल भएको छ। यो सफलता कसरी सम्भव भयो?
हाम्रो समूह स्थापना भएको तीन दशक बढीनै भइसकेको छ। सुरुवातमा ट्रेडिङ कम्पनीबाटै व्यवसाय सुरु गरेका हौं। ट्रेडिङपछि हामी उद्योगमा आएका हौं। उद्योगमा आएको पनि दुर्इ दशकभन्दा बढी भइसकेको छ। पहिला हामीले बनस्पति घिउ उद्योग खोलेका थियौं। अरु एक जना साझेदारसँग मिलेर बनस्पति घिउको उद्योग खोलेका थियौं। त्यसपछि हामीले आफ्नै गणपति बनस्पति उद्योग स्थापना गर्यौं। 
 
त्यसपछि हामी सेवामूलक उद्योगमा पनि आयौं। त्यसको केही बर्षपछि हामीले पिभिसी कम्पाउण्डहरु पनि बनाउने उद्योग स्थापना गर्यौं। विजुलीको तार र इनामेल वायर बनाएर भारतमा धेरै नै निकासीसमेत गर्यौं। लिटमश ब्राण्ड बनाएर भारत निकासी गरेका थियौं। सन् २०१० तिर हामीले सिमेन्टको परिकल्पना गरेर लगानी सुरु गर्यौं। हामीले शिवम् सिमेन्ट ७ सय टनबाट सुरु गरेका थियौं। ६ बर्षको छोटो अवधिमा हामीले तीन हजार टन क्षमता उत्पादन ग्राइन्डिङ क्षमता बढाइरहेका छौं भने १९ सय टन क्लिकंर उत्पादन गर्ने क्षमता पुगिसकेको छ।

निजी क्षेत्र भनेको राज्यकै अंग हो। अर्थतन्त्रलार्इ चलायमान गरेको निजी क्षेत्रलेनै हो। विश्वासको वातावरण बनाएमा मुलुकभित्र कायाकल्पनै हुन्छ। पाँच वटा वस्तुका शतप्रतिशत कच्चा पदार्थ मुलुकभित्रै छ। जलविद्युत, पर्यटन, खानीमूलक उद्योग, मेडिकल र एजुकेशन हबको रुपमा विकास गरेर मुलुकलार्इ तीब्र विकासमा अघि बढाउन सकिन्छ। हामी स्वीजरल्याण्डभन्दा राम्रै छौं। 
---
तपार्इँहरुको लगानी हेर्दा माओवादी शान्तिप्रकृयामा आउँदै गर्दा शिवम् सिमेन्टमा लगानी गर्नु भयो। संविधानसभाबाट संविधान आउने/नआउने अनिश्चितताका बेलामा मुलुकमै सबैभन्दा ठूलो लगानीको शिवम् होङसी सिमेन्ट स्थापनाको निर्णय गर्नुभयो। अरु लगानीको वातावरण नभएको भन्दै बसिरहेका बेला तपार्इँहरुले ठूलै रिस्क लिनुभयो होइन?
मान्छे दुर्इ प्रकृतिका हुन्छन्। एउटा एकदमै पोजेटिभ र अर्को नेगेटिभ। नेगेटिभ एटिच्यूटको कुरा गर्न चाह्यो भने हामी जेमा पनि नेगेटिभ मात्रै देख्छौं। मलार्इ याद छ, शिवम् सिमेन्ट सुरु गर्दा माओवादीको चरम द्धन्द्ध पनि थियो। त्यो समयमा नेपालबाट मनी फ्लाइटसमेत भइरहेको थियो। त्यो बेलामा हामीले शिवम् सिमेन्टको परिकल्पना गरेर काम सुरु गरेका थियौं। हाम्रा धेरै शुभचिन्तकहरुले किन गर्न लागेको समेत भनेका थिए। यस्तो राजनीतिक संक्रमणमा यति ठूलो लगानी किन गर्न लागेको भनेर प्रश्न समेत गरेका थिए। तर त्यो बेलामा हामीले सकारात्मक सोच राखेकाले अहिले राम्रो नतिजा पाइरहेका छौं। सात सयबाट सुरु भएको ग्राइन्डिङ तीन हजार टन र क्लिंकर १९ सय टन बनाउन सफल भएका छौं। यो सफलता भनेको त्यो बेलाको सकारात्मक सोचको नतिजा हो।
 
त्यो सोचलार्इ तपार्इहरुले आइपिओमा पनि कन्भर्ट गर्दै हुनुहुन्छ। हामी मात्रै होइन सर्वसाधरण पनि लाभान्वित हुनुपर्छ भन्ने सोच ल्याउनु भयो होइन?
शिवमलार्इ आइपिओ गरेर सर्वसाधरणलार्इ लाभान्वित बनाउनुपर्छ भन्ने सोच पहिलेदेखि नै थियो। त्यो बेलाको धितोपत्र बोर्डको नियम अनुसार पब्लिक लिमिटेड हुनुपर्छ र लगातार तीन वर्ष लाभांश बाँडेको हुनुपर्छ भन्ने थियो। त्यही प्रावधान अनुसार तीन वर्ष लगातार लाभांश वितरण गरेर पब्लिक लिमिटेडमा लग्यौं र हामीले आइपिओ जारी गर्ने अवस्थामा पुर्याएका छौं। हामीले उद्योग भएको स्थानका जनता र पूरै मकवानपुर जिल्लाका लागि तीन प्रतिशत शेयर जारी गरिसकेका छौं। अरुलार्इ चार सय रुपैयाँ हो तर स्थानीय जनतालार्इ हामीले सहुलियतमा तीन सय रुपैयाँमा बिक्री गरिरहेका छौं। र, आम जनतालार्इ हामीले १० प्रतिशत शेयर जारी गर्दैछौं।
 
हामी सबैको सर्भिस इन्ड्रस्ट्रिज बैंकिङ, बीमामा पब्लिक शेयर होल्डरसँग काम गरेको अनुभव छ। तर उत्पादननमूलक क्षेत्रमा सक्सेसफूल केश स्टडीहरु छैन। यसलार्इ कसरी हेर्नुभएको छ?
विगतमा धेरै उत्पादनमूलक क्षेत्रहरु पब्लिक लिमिटेडमा आएका थिएनन्। र,पब्लिकमा आएकाहरुको पनि रेकर्ड राम्रो देखिएको छैन। बहुराष्ट्रिय कम्पनीको कुरा गर्नुहुन्छ भने त्यो बेष्ट वान नै छ। युनिलिभर र कोकाकोलाले एकदमै राम्रो गरेका छन्। हाम्रो स्थानीय उद्योगको राम्रो परफर्मेन्स छैन। त्यसमा उद्योगको आफ्नै समस्याहरु पनि हुन सक्छन् त्यसमा मैले विस्तृत रुपमा अध्ययन गरेको पनि छैन। सुरुवातमा तेस्रो मुलुकबाट मेशिनरी र कच्चा पदार्थ ल्याउँदा करेन्सी रिस्कबाटै धेरै उद्योगहरु मारमा परेका हुन्। मैले सुनेको मात्रै हो। तर यसमा मलार्इ पूर्ण रुपमा ज्ञान भने छैन।
 
उत्पादनमूलक उद्योगमा शिवम् सिमेन्ट पहिलो उद्योग हो जसले आइपिओ जारी गर्दैछ। आइपिओ जारी गर्नुभन्दा अघि विभिन्न भ्यालुयटर र क्रेडिट रेटिङ एजेन्सी इक्राले ३ प्लसको  प्रमाणपत्र पाएका छौं। चैत मसान्तसम्म शिवमको २ अर्ब १६ करोड रिजर्भनै छ। तीन महिनापछि अझ बढ्छ। उत्पादनमूलक क्षेत्रमा राम्रो उद्योग हो भन्ने स्पस्ट हुन्छ। त्यसमा ठूलो ब्याकअप होङसी शिवम पनि छ। प्रत्यक्ष रुपमा शिवम सिमेन्टको २६ दशमलब ४ प्रतिशत लगानी होङसी शिवम सिमेन्टमा छ। हामीले होल्डिङ कम्पनी बनाएर त्यहाँ लगानी गरेका छौं। शिवम सिमेन्टबाटै शिवम होल्डिङ कम्पनी बनायौं। शिवम होल्डिङमा २६ दशमलब ६ प्रतिशत शेयर शिवम परिवारको लगानी छ त्यसपछिको बाँकी शेयर खानीका विशेषज्ञहरुको छ। ६ हजार टनको होङसी शिवम सिमेन्टले उत्पादन थालिसकेको छ। तीन/चार वर्षपछि त्यो सिमेन्टको समेत मुनाफा शिवम सिमेन्टमा आउन थाल्छ।

कुनै काम गर्दा गल्ती पनि हुन्छ। त्यो गल्तीलार्इ समयमै सच्याउने वातावरण दिनुपर्छ। ठूला उद्योग वा व्यवसाय म्यानेजमेन्टले हेरिरहेको हुन्छ त्यसमा संचालकले होइन। त्यहाँ मेशिन, काम गर्ने मान्छे लगायतको गल्ती हुनसक्छ। त्यसलार्इ हेरेर सजाय गर्नुपर्यो। उसले गरेको गल्तीका आधारमा सजाय पनि फाइनान्सियल हुनुपर्यो। थुनछेक होइन। 
---
तपार्इँले सर्वसाधरणमा जाँदा अवसर देखिरहनुभएको छ। उनीहरुलार्इ बोर्डमा ल्याउनुपर्छ। जोखिम पनि होला नी?
हामी पारदर्शितामा विश्वास गर्छौं। विगतदेखिनै पारदर्शी भएर काम गर्दै आएका पनि छौं। अझ यसलार्इ पारदर्शी बनाउन हामी मानसिक रुपमा तयार भइसकेका छौं।
 
लक्की ग्रुपसँग शिवम वाहेक अरु कम्पनीहरु पनि ‘एसोसियट’ छ। शिवम सिमेन्ट टेष्टकेशको रुपमा रहेर अरु पनि कम्पनी पब्लिकमा जाने सम्भावना छ?
अहिले अरुको सम्भावनाहरु त्यति हेरेका छैनौं। शिवम पब्लिकमा गरेर हेरेपछि कस्तो किसिमको उपलब्धीहरु आउँछन्, त्यो हेरेर मात्रै अघि बढ्छौं। कुनैपनि निजी क्षेत्रको शक्तिशाली औजार भनेको तत्कालै निर्णय गर्नसक्ने क्षमता हो। यो भनेको निजी क्षेत्रको अवसर र फाइदा दुबै हो। तर पब्लिकमा गएपछि केही लिमिटेशन पक्कै हुन्छ। तर त्यो लिमिटेशनलार्इ समेत तोडेर सँगै कसरी लैजान सकिन्छ भनेर सर्वसाधरणमा जाने निर्णय गरेका हौं।
 
शिवम सिमेन्ट सुरु गर्दा यस्तो असहज अवस्थामा के गर्न सक्छ र भन्ने थिए। होङसी शिवम सिमेन्ट ल्याउने घोषणा गर्दा यति ठूलो लगानीको उद्योग कि लागत महँगो पर्छ वा समयमा आउन सक्दैन भन्ने पनि थिए। तर तपार्इहरुले तोकिएकै ‘डेडलाइन’ मा उद्योगबाट उत्पादन थाल्नुभयो। यो ‘मिराकल’ नै भयो नी?
कुनैपनि परियोजना सुरु गर्नुभन्दा अघि दृढ इच्छाशक्ति राख्नुपर्छ। हाम्रो समूहले त्यो इच्छाशक्ति राखेकै कारण परियोजना साकार भएको हो। यो परियोजनामा होङ्सी रिनाउन समूह हो। ३५ वटा उद्योग चीनमा मात्रै छ। उनीहरु अहिले विश्वभरनै गइरहेका छन्। होङसीले लाओस, इन्डोनेशिया, म्यानमार र नेपालमा सिमेन्ट उद्योग गर्दैछन्। चीन वाहिर उनीहरुको चार वटा देशमा सिमेन्ट उद्योग लगाएका छन्। लाओसपछि नेपालमा होङसीको उत्पादन सुरु भइसकेको छ। इन्डोनेशिया र म्यानमार भने पछिनै छ। उनीहरुले चारवटै परियोजनासँगै गरेका थिए। जनवरी २०१७ मा हामीले होङसी शिवम सिमेन्टको भूमी पूजा गरेका हौं। २०१८ मे महिनामा उद्योगबाट उत्पादन सुरु भएको हो। एउटा ग्रीनफिल्ड प्रोजेक्ट जहाँ कुनै सामान्य पूर्वाधार छैन त्यहाँ १७ महिनामा ६ हजार टनको सिमेन्ट उत्पादन थाल्यौं। यो ‘मिराकल’ नै हो। चिनियाँको विशेषज्ञताले समेत काम गरेको छ।

ती आयोजनालार्इ सिमेन्ट र डण्डी जस्तामा छुट नदिएर अरु तरीकाले दिँदा त्यसको उचित प्रयोग हुन्छ र दुरुपयोगको सम्भावना समेत रहँदैन। यदि दिनेनै हो भने हामीलार्इ पनि सिमेन्टमा कर छुटको व्यवस्था गरिदिनुहोस भनेका छौं। सरकारले इक्वल लेभल प्लेइङ फिल्ड दिनुपर्यो। 
---
हामीले यो परियोजनाबाट के ‘लेसन लर्न’ गर्यौं?
निजी क्षेत्रले एउटा ‘टार्गेट सेट' गरेपछि पूरा गर्छ भन्ने हो। एउटा दृढ इच्छाशक्ति भयो भने जस्तोसुकै कठिनाइ पार गरेर सफलता पाउन सकिन्छ भन्ने पनि हो। यो परियोजना गर्दा धेरै समस्याहरु थिए। यो परियोजना सफल बनाउन नेपाल सरकार, मन्त्रालय, नेपाल राष्ट्र बैंक र लगानी बोर्डले ठूलो सहयोगी भूमिका खेले। यी सबैको समन्वयकारी भूमिकाले फाष्ट ट्रयाकमा काम गर्न सफल भयौं। लगानी बोर्डलार्इ भने शक्तिशाली निकाय बनाउन सकेका छैनौं। ठूला परियोजनाका लागि हामीले लगानी बोर्डको परिकल्पना गरेका हौं। डा.बाबुराम भट्टरार्इका पालामा यो बोर्ड गठन गरिएको हो। यसलार्इ कानुनी रुपमा पनि शक्तिशाली बनाएर लगानी बोर्डलार्इ स्वायतता दिन आवश्यक छ।
 
अहिले सबै घरानाको नजर लक्की ग्रुपतिर छ। तपार्इहरुले ६ हजार टनको होङसी शिवम सिमेन्ट ल्याउनुभयो। सबै सिमेन्ट उद्योग क्षमता विस्तारमा लागे। शिवम सिमेन्ट पब्लिकमा जाने निर्णय गर्नुभयो। अरु सिमेन्ट उद्योग पनि त्यतै दौडिरहेका छन्। तपार्इँहरु अहिले लिडर बनिरहनुभएको छ? 
 
म त्यस्तो सोच्दिन। कुनै काम गर्दा कुनै क्षेत्रमा लिडर बन्नैपर्छ। हामीले माओवादीको चरम द्वन्द्वको बेलामा पनि अवसर खोजेर शिवम सिमेन्टमा लगानी गरेकै हो। नेपालमा आजसम्मको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानीको रुपमा होङसीलार्इ ल्याएकै हौं। त्यसलार्इ हामीले मूर्तरुप पनि दियौं। हामीले उत्पादनमूलक क्षेत्रमा आइपिओ गर्ने अठोट पनि गरिरहेका छौं र गर्छौं पनि।
 
सरकारले सिमेन्टमा यतिधेरै संरक्षण दिएको छ। यतिधेरै संरक्षण दिएको उद्योगबाट उत्पादित सिमेन्ट भने छिमेकी मुलुक भारतभन्दा धेरैनै महँगो छ। हाम्रो लागतनै महँगो हो कि अस्वभाविक मुनाफा राखिरहेका छौं?
यसमा दुर्इवटा कुरा छ। एउटा त हाम्रो अपरेशनल मेथडमा धेरै किसिमका बाधाहरु छन्। भारतमा चुनढुंगा १ सय ८० देखि २ सय ९० भारुमा पाइन्छ। हामीले माइनिङ ब्लास्ट गर्न अनुमति पाएका छौं तर अहिलेसम्म हामीले ब्लास्टिङ गरेका छैनौं। ब्लास्टिङ गरेर धेरै लागत कम हुन्छ। त्यसपछि ठूला/ठूला सिमेन्ट उद्योग खानीको नजिकै हुन्छन्। भारतमा खानीबाट दुर्इदेखि सात किलोमिटरभित्र उदयोग छन्। त्यसैले उनीहरुको सबैभन्दा बढी किफायत ढुवानी भाडामा छ। विगतमा हामीकहाँ विद्युतको धेरैनै ठूलो समस्या थियो। तर अहिले आएर नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ व्यवस्थापनका कारण धेरै सहज भएको छ। 
 
विगतमा १८ घण्टासम्म लोडसेडिङ भएकै हो। त्यो बेलामा जेनेरेटर वाहेक अरु विकल्पहरु थिएन। त्यसले उत्पादन लागत महँगो भएको थियो। र, आज पनि हामीकहाँ लोडसेडिङ छैन तर गुणस्तरीय विजुली भने छैन। विजुली आउने/जाने हुँदा सिमेन्ट र डण्डी उद्योगका लागि पनि ठूलो लागत बढ्छ। सिमेन्टको कुरा गर्दा विजुली बन्द भएर फेरी चालु गर्दा ८ देखि १० लाख रुपैयाँ खर्च हुन्छ। तातोमै सुरु गर्यो भने हुन्छ नभए क्लिंकर पेल्ने मेशिन सुरु गर्दा डिजल फायरबाट गर्नुपर्छ र लागत पनि बढ्छ। हामीकहाँ एक्सपर्ट पनि वाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। अहिलेसम्म पनि चाहेजति विकास गर्न सकेका छैनौं। तर शिवम सिमेन्टमा ९० प्रतिशत नेपालकै हुनुहुन्छ भने १० प्रतिशत मात्रै वाहिरका विज्ञहरु छन्। हामीकहाँ नवलकिशोर चौधरी प्लान्ट हेड हुनुहुन्छ। गुणस्तर प्रमुखमा अर्जुन राणा, सिएफओ ज्योती थापा हुनुहुन्छ। सिमेन्ट मात्रै भनेर हुँदैन गुणस्तरले समेत मूल्यलार्इ निर्धारण गर्छ। होङसीको कुरा गर्दा अहिलेसम्म नियमित रुपमा उत्पादन भएको छैन। दुर्इ/तीन महिनामा नियमित रुपमा उत्पादन सुरु हुन्छ।

मूल्यको कुरा अहिले म भन्न सक्दिन्। मूल्यको कुरा माग र आपूर्तिले पनि निर्धारण गर्छ। अहिले आपूर्तिको जुन समस्या छ त्यो पक्कै बढ्छ। शिवमले अहिले २७ सय टन उत्पादन गरिरहेको छ तर अझैपनि माग अनुसार दिन सकिरहेका छैनौं। हामीले एक बोरा पनि गोदाममा राखेका छैनौं।
---
निकट भबिष्यमा सिमेन्टको मूल्य घट्ने सम्भावना देख्नुहुन्छ?
सिमेन्टको आपूर्ति बढ्छ। मूल्यको कुरा अहिले म भन्न सक्दिन्। मूल्यको कुरा माग र आपूर्तिले पनि निर्धारण गर्छ। अहिले आपूर्तिको जुन समस्या छ त्यो पक्कै बढ्छ। शिवमले अहिले २७ सय टन उत्पादन गरिरहेको छ तर अझैपनि माग अनुसार दिन सकिरहेका छैनौं। हामीले एक बोरा पनि गोदाममा राखेका छैनौं। हामीले फ्रेस सिमेन्ट उत्पादन गर्छौं र बजारमा पुर्याइरहेका छौं। यही कारणले गुणस्तर पनि राम्रो रहन्छ।
 
तर अझैपनि ठूला परियोजनाहरुले नेपाली सिमेन्ट अझै ‘प्रिफर’ गर्दैनन् । गुणस्तरकै कारण उनीहरुले प्रयोग नगरेका हुन्?
नेपाल सरकारले कर छुट नदिएका आयोजनाहरुले नेपाली सिमेन्ट प्रयोग गर्छन्। कुनै अरु देशको अनुदानमा बनिरहेको आयोजनाहरुमा त्यसमा नेपाल सरकारले कर छुट दिइरहेको छ। त्यसका लागि विदेशबाट सिमेन्ट आइरहेका छन्। नेपालका सबै उद्योगहरुको गुणस्तर राम्रो छ। तर कर छुटका लागि विदेशको सिमेन्ट प्रयोग भइरहेको मात्रै हो। हामीले सरकारलार्इ सिमेन्टमा कर छुट नदिनुस बरु अर्को तरीकाबाट छुट दिनुस भनेका छौं। ती आयोजनालार्इ सिमेन्ट र डण्डी जस्तामा छुट नदिएर अरु तरीकाले दिँदा त्यसको उचित प्रयोग हुन्छ र दुरुपयोगको सम्भावना समेत रहँदैन। यदि दिनेनै हो भने हामीलार्इ पनि सिमेन्टमा कर छुटको व्यवस्था गरिदिनुहोस भनेका छौं। सरकारले इक्वल लेभल प्लेइङ फिल्ड दिनुपर्यो। व्यापार घाटा डरलाग्दो भइसकेको छ। निकासी रातारात गर्न सकिन्न। त्यहाँ धेरै लिमिटेशन छन्। त्यसैले सिमेन्ट लगायतका स्वदेशी वस्तु प्रयोगका लागि सरकारले सहयोगी भूमिका खेल्नुपर्यो भन्ने हाम्रो आग्रह हो।
 
निजगढ-काठमाडौं फाष्ट ट्रयाक निर्माण हुँदैछ। अरुण तेस्रो लगायतका ठूला जलविदयुत आयोजना निर्माण हुँदैछ। मल्टिस्टोर विल्डिङहरु पनि बनिरहेका छन्। त्यसका लागि हाइग्रेडका सिमेन्ट चाहिन्छ। त्यस्तो सिमेन्ट उत्पादनको सम्भावना छैन?
विश्वभरी तीन किसिमको सिमेन्ट उत्पादन हुन्छ। ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन हुन्छ। शिवमको कुरा गर्दा हामी पिपिसी मात्रै उत्पादन गरिरहेका छौं। सिमेन्टको ३३, ४३ र ५३ ग्रेडको हो। हामीसँग तीनवटै ग्रेडको सिमेन्ट उत्पादन गर्ने क्षमता छ। नेपाल गुणस्तरले अहिलेसम्म ३३ र ४३ ग्रेड मात्रै उत्पादन गर्न दिएको छ ५३ ग्रेडको छैन। नेपाल गुणस्तर तथा नापतौल विभागले अहिलेसम्म ५३ ग्रेडको समिकरण (मिश्रण) को बारेमा पनि भनेको छैन। हामीले विभागलार्इ ५३ ग्रेड उत्पादनका लागि बाटो खोलिदिनुहोस् भनेका छौं। सिमेन्ट उद्योगको क्षमता छ भने तत्कालै मापदण्ड बनाइदिनुपर्यो भन्ने हाम्रो माग हो।
 
अहसज अवस्थामा यो समूहले लगानी गर्यो। अहिले मुलुकमा स्थीर र स्थायी सरकार छ। अब तपार्इहरुको सिमेन्टजस्तै ठूला लगानीको सम्भावना छ की?
निश्चयपनि विगतमा जस्तो ९/९ महिनाको सरकार छैन। तीन चरणको सफल निर्वाचनपछि स्थायी सरकार आएको छ। स्थायी सरकारले औद्योगीकरणको सोचसमेत ल्याइरहेको छ। आर्थिक समृद्धिको मुद्दालार्इ समेतअघि सारेको छ। अब आर्थिक क्रान्तिको समय सुरु हुन लागेको जस्तो मलार्इ लाग्दैछ। भर्खरै आएको मौद्रिक नीतिले केही हदसम्म भएपनि औद्योगिक/व्यवसायिक क्षेत्रको मुद्दा संवोधन गर्न सकेको छ। तरलता समस्या संवोधन गर्न सिआरआर, एसएलआर र भारतीय रुपैयाँमा ऋण ल्याउन पाउने व्यवस्था गरिएको छ। यी सबै विषयलार्इ सरकार र राष्ट्र बैंकले चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याएर तरलताको समस्या संबोधन गरिनुपर्छ। अर्को भनेको सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण हुनुपर्छ। तर त्यसमा केही सुधार आवश्यक छ। पहिलाभन्दा ठिक भएपनि अझै सुधारको आवश्यकता छ।

विजुली आउने/जाने हुँदा सिमेन्ट र डण्डी उद्योगका लागि पनि ठूलो लागत बढ्छ। सिमेन्टको कुरा गर्दा विजुली बन्द भएर फेरी चालु गर्दा ८ देखि १० लाख रुपैयाँ खर्च हुन्छ। तातोमै सुरु गर्यो भने हुन्छ नभए क्लिंकर पेल्ने मेशिन सुरु गर्दा डिजल फायरबाट गर्नुपर्छ र लागत पनि बढ्छ। हामीकहाँ एक्सपर्ट पनि वाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। 
---
संघीय बजेटमा करका दर बढेको छ। प्रदेश र स्थानीय तहले समेत करको दर बढाएका छन्। यसले व्यवसायिक क्षेत्रमा चुनौती देख्नुहुन्न?
धेरै ठूलो चुनौतीको रुपमा देखेको छु। पहिला हामीकहाँ दोहोरो र तेहोरो कर थिएन। प्रदेशहरुले आआफ्ना करको दर सार्वजनिक गरे। कतिपयले निकासी कर समेत लगाएका छन्। त्यसलार्इ हस्तक्षेप गरेर रोक्ने प्रयास संघीय सरकारबाट भएका छन्। करको बारेमा केन्द्र, प्रदेश र स्थानीय तह कसले करका दर लगाउने भन्ने बारेमा स्पस्ट र कडा मापदण्ड आवश्यक देखिइसकेको छ। संविधानमा राजस्व सम्वन्धी स्पस्ट व्यवस्था भएपनि ब्यवहारमा केही अस्पष्टता देखिएर करमा समस्या देखिएका हुन्। कुखुरालार्इ एकै दिनमा काट्ने की कुखुरालार्इ दैनिक सुनको अण्डा दिने गरि राख्ने हो त्यसमा सरकारले सोच्नुपर्छ। सरकारले सोचिरहेको छ, त्यसैले प्रदेशबाट उठाएका कर नलगाउन निर्देशन समेत दिएको छ।
 
तपार्इको भनार्इले अझै पनि सरकारले व्यवसायिक विश्वास बनाउन सकेन्?
निजी क्षेत्र  मुलुक विकासको मेरुदण्ड हो भनेर इज्जत गर्नुपर्यो। यो आधारमा सरकारले विश्वासको वातावरण तयार गर्नुपर्यो। कुनै काम गर्दा गल्ती पनि हुन्छ। त्यो गल्तीलार्इ समयमै सच्याउने वातावरण दिनुपर्छ। ठूला उद्योग वा व्यवसाय म्यानेजमेन्टले हेरिरहेको हुन्छ त्यसमा संचालकले होइन। त्यहाँ मेशिन, काम गर्ने मान्छे लगायतको गल्ती हुनसक्छ। त्यसलार्इ हेरेर सजाय गर्नुपर्यो। उसले गरेको गल्तीका आधारमा सजाय पनि फाइनान्सियल हुनुपर्यो। थुनछेक होइन। 
 
निजी क्षेत्र भनेको राज्यकै अंग हो। अर्थतन्त्रलार्इ चलायमान गरेको निजी क्षेत्रलेनै हो। विश्वासको वातावरण बनाएमा मुलुकभित्र कायाकल्पनै हुन्छ। पाँच वटा वस्तुका शतप्रतिशत कच्चा पदार्थ मुलुकभित्रै छ। जलविद्युत, पर्यटन, खानीमूलक उद्योग, मेडिकल र एजुकेशन हबको रुपमा विकास गरेर मुलुकलार्इ तीब्र विकासमा अघि बढाउन सकिन्छ। हामी स्वीजरल्याण्डभन्दा राम्रै छौं। हामीले पूर्वाधार र सोच बनाएर अघि बढेको भए हामी डोनर कन्ट्री हुन्थ्यौं लिने कन्ट्री होइन। तर हामीले भिजन कार्यान्वयनमा जानुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा सपना छ रेल र आफ्नै पानी जहाज। एउटा सोच बनाएर अघि बढ्ने हो भने असम्भव केही छैन। रेल्वे धेरै पहाडि मुलुकमा चलिरहेकै छ। पानीजहाजमा मेरो ‘एक्सपर्टिज’ नहुने भएकाले मैले कमेन्ट गर्न चाहिन।
 
नेपालमा पार्टनरसीप विजनेश भनेको साह्रै कठिन काम हो भन्ने ‘थट अफ प्रोसेस’ छ। तर लक्की ग्रुपमा भने पार्टनरसीप विजनेश मोडल जस्तो देखिन्छ। के कुराले ‘सक्सेसफूल’ बनाउँदोरहेछ?
यो हाम्रो साथीभार्इबीचमा पनि धेरै प्रश्न उठछ। हाम्रो रमेश गुप्ता परिवार र मेरो मोर परिवार संयुक्त रुपमा विजनेश गरेको मलार्इ पनि याद छैन। रमेशजी हाम्रोबीचमा हुनुहुन्न। तर उहाँलार्इ पनि संयुक्त रुपमा व्यापार कहिलेबाट सुरु भयो भन्ने याद थिएन होला। हामीले जति पनि विजनेश गरेका छौं सबै पार्टनरसीप मै छ। गणपति वनस्पति घिउ, शिवम सिमेन्ट, होङसी शिवम सिमेन्ट सबै पार्टनरशीपमै काम गरिरहेका छौं।
 
पार्टनरसीपमा काम गर्दा क्लियर भिजन र क्लियर थट भएपछि कुनै विवाद हुँदैन। र, सँगै पारदर्शी पनि हुनुपर्छ। पारदर्शी हुनेवित्तिकै पार्टनरसीप विजनेश गर्न कुनै कठिन काम होइन।

Share this Story

   

निजी क्षेत्रले ‘टार्गेट सेट' गरेपछि पूरा गरेरै छाड्छ, लक्की ग्रुपका सतिश मोरको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.