मेगा बैंक नवौँ वर्षमा: कर्जाको औषत आकार २९ लाख ५५ हजार, ग्राहक संख्या ५ लाख पुगे

रासस
२०७५ साउन ७ गते १२:३८ | Jul 23, 2018
मेगा बैंक नवौँ वर्षमा: कर्जाको औषत आकार २९ लाख ५५ हजार, ग्राहक संख्या ५ लाख पुगे

Tata
GBIME
Nepal Life

काठमाडौँ। ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ। 

 
गत आर्थिक वर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ। यसैगरी, कर्जा प्रवाह पनि करीब ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको छ। ग्राहक संख्या पाँच लाख रहेको छ। 
 
कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेप एक लाख २२ हजार रहेको छ। स्थापनाको नवौं वर्षमा आइपुग्दा बैंकले  १०१ शाखा विस्तार गरेको छ। देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटिएम छन्। 
 
नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वाटर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए। 
 
“हामी छोटो समयमानै मुलुकको ठूलो बैंक बन्न सफल भएका छौँ, अब संघीयताको कार्यान्वयनसँगै नयाँ/नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका छन्,” उनले भने। 
 
अध्यक्ष शाहले भने,“विज्ञहरुसँगको परामर्शमा हामीले पाँच वर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ। आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्छौँ।”
 
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताए। “हामीले बितेको आठ वर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित गर्यौँ। टुरिजमसँगको मर्जरपछि झन मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालकै दोस्रो ठूलो बन्न सफल भएको छ। ग्राहकको विश्वास जित्दै हामी निरन्तर अघि बडिरहन्छौँ,” उनले भनिन्।