बढीमा ११% ब्याजमा ऋण दिने गरी एनएमबि बैंकले ल्यायो बिदेशबाट डेढ अर्ब, अर्को एक अर्ब प्रकृयामा

बिजमाण्डू
२०७५ साउन ७ गते १०:१८ | Jul 23, 2018
बढीमा ११% ब्याजमा ऋण दिने गरी एनएमबि बैंकले ल्यायो बिदेशबाट डेढ अर्ब, अर्को एक अर्ब प्रकृयामा



 
काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी संस्थाबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाउने बाटो खोलिदिएपछि एनएमबि बैंकले डेढ अर्ब रुपैयाँ भित्र्याउने भएको छ। राष्ट्र बैंकले स्वीकृति दिइसकेकाले एक साताभित्र डेढ अर्ब रुपैयाँ (१५ मिलियन डलर) एनएमबिले नेपाल ल्याउने छ।
 
बैंकले हेजिङ लागतबाहेक साढे पाँच प्रतिशतभन्दा केही कम ब्याजमा ऋण पाएको हो। यो पैसामा केही लागत जोडिएपछि बैंकले सर्वसाधारणमा लगानी गर्ने छ। 'हाम्रो अनुमानमा ब्याजदर साढे १० देखि ११ प्रतिशत हाराहारी तय होला' बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बिजमाण्डूसँग भने, 'बजारको अवस्था अनुसार ब्याज दर केही तलमाथि पनि हुनसक्छ।'
 
बैंकले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट ऋण ल्याउन लागेको हो। राष्ट्र बैंकले स्वीकृति दिएकाले एक साताभित्र बैंकको खातामा पैसा आउने प्रमुख कार्यकारी केसीले जानकारी दिए।
 
बैंकले यो पैसा जलविद्युत उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुलजस्ता भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने नियामकीय प्रावधान छ। यसवाहेक पर्यटन तथा कृषि क्षेत्रमा पनि लगानी गर्न पाइन्छ।
 
नेपाल राष्ट्र बैंकले प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ। यही व्यवस्था अनुसार बैंकले पैसा ल्याउन सुरुमै प्रकृया थालेको थियो। एनएमबि बाहेक अन्य आधा दर्जन बैंकले पनि आइएफसीबाट पैसा ल्याउनका लागि सहमति गरिसकेका छन्। उनीहरु राष्ट्र बैंकको स्वीकृतिको पर्खाइमा छन्।
 
बैंकले युरोपियन अर्को एउटा संस्थासँग पनि एक अर्ब रुपैयाँ ल्याउन लागेको हो। यो ऋण भने नेपाली मुद्रामा हुनेछ। यसको ब्याज दर सवा ९ प्रतिशत तय भएको छ। नेपालमा पैसा आएपछि सर्वसाधारणलाई बजारको अवस्था हेरेर ११ प्रतिशतसम्म लगानी गर्ने बैंकको योजना छ।
 
'सरकारले आर्थिक बृद्धिको लक्ष्य ८ प्रतिशत राखेको छ। र हरेक बर्ष आर्थिक वृद्धि बढाउँदै लैजाने योजना सार्वजनिक गरेको छ' केसीले भने, 'यसका लागि ठूलो पैसा आवश्यक पर्छ। त्यसैले हामीले अरु संस्थाबाट पैसा ल्याउन पनि थप पहल गर्नु पर्छ।' बैंकले विदेशबाट ल्याएको पैसा कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मा गणना गर्न नपर्ने भएकाले शतप्रतिशत नै ऋण लगानी गर्न पाउँछ।

Tata
GBIME
Nepal Life