नाकाबन्दी लगाउने निर्णयले इरान अमेरिकासँग क्रुद्ध, इरानी मुद्रा रियल ५० प्रतिशतले अवमूल्यन

रासस
२०७५ असार ३१ गते ११:४८ | Jul 15, 2018

Tata
GBIME
Nepal Life

तेहरान। इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्।

रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को  प्रतिवाद गरी अघि बढ्ने बताए।‘इस्लामिक गणतन्त्र इरानले रोजेको प्रतिरोधको बाटोलाई दृढतापूर्वक निरन्तरता दिनेछ,” रौहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा भने,“हरेक पटक हामी षड्यन्त्रलाई चिर्न सफल भएका छाँै र यसमा इरानी जनता तथा सरकार एकताबद्ध छन् ।‘

गत मे महिनामा सहयोगी मुलुकहरूको आग्रहमा अमेरिकाले तेहरान र विश्व शक्ति राष्ट्रसँग गरेको सहमतिबाट फिर्ता हुने निर्णय गरेको थियो । यससँगै अमेरिकाले इरानमाथि पुन आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो । नाकाबन्दीसँगै कैयौँ बहुराष्ट्रिय फर्म तथा कम्पनीलाई इरानसँग कारोबार रोक्नसमेत भनिएको थियो ।

“नाकाबन्दीका बिषयमा संयुक्त राज्य अमेरिका झन्भन्दा झन् एक्लिएको छ, ” उनले भने। अमेरिकाको गैरकानूनी तर्कमा कुनै पनि अन्तर्राष्ट्रिय संघसंस्थाले समर्थन जनाउने छैनन् ।

 सम्झौताबाट फर्किने र नाकाबन्दी लगाउने ट्रम्पको घोषणासँगै इरानमाथि खासगरी इरानी मुद्रामा भने समस्या चुलिन थालेको छ । विगत नौ महिनामा इरानी रियलको मूल्य डलरसँगको तुलनामा झण्डै ५० प्रतिशतले अवमूल्यन भएको छ ।

कैयौँ आयातकर्ता तथा निर्यातकर्ताहरूले विदेशी मुलुकसँग ब्यापार गर्न आफूसँग डलरको अभाव भएको बताउँदै आएका छन् ।तर रौहानीले आफ्ना सम्बोधनहरूमा सामान आयात तथा निर्यातका लागि चाहिने आवश्यक मुद्राको सुनिश्चितता गर्ने बताए।