स्प्रेड दर घटाउने दवावमा दर्जन बैंक, तीन बैंकको स्प्रेड नियामकीय प्रावधानभन्दा माथि

बिजमाण्डू
२०७५ असार ३१ गते २१:५७ | Jul 15, 2018

 
काठमाडौं। नेपाल राष्ट्र बैंकले  निक्षेपमा दिने र कर्जामा लिने ब्याज दरको अन्तर (स्प्रेड दर) साढे चार प्रतिशतमा झार्ने भएपछि बैंकहरुको नाफा संकुचित हुने भएको छ। राष्ट्र बैंकको नयाँ ब्यवस्थाले असार मसान्तसम्मको नाफालाई भने प्रभावित गर्दैन।
 
मौद्रिक नीतिमा आएको ब्यवस्था निर्देशिका जारी गरेपछि मात्र कार्यान्वयनमा आउँछ। अहिले स्प्रेड दर पाँच प्रतिशत तोकिएको छ। यसलाई साढे चार प्रतिशतमा झार्ने राष्ट्र बैंकले घोषणा गरेको हो।
 
पाँच प्रतिशतको स्प्रेड दर पनि तीन वटा बाणिज्य बैंकले मानिरहेका थिएनन्। चैतसम्मको विवरण अनुसार कृषि विकास बैंक, नेपाल एसबिआइ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पाँच प्रतिशतभन्दा माथि स्प्रेडमा काम गरिरहेका छन्। 
 
नयाँ ब्यवस्था विकास बैंक र फाइनान्स कम्पनीका हकमा भने तत्काल लागू हुँदैन। अहिलेको विवरण अनुसार साढे चार प्रतिशतभन्दा माथि स्प्रेड लिएर एक दर्जन हाराहारी बैंकले काम गरिरहेका छन्। नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, एनआइसी एसिया बैंक, एभरेष्ट बैंकलगायतको स्प्रेड दर साढे चार प्रतिशतभन्दा माथि छ। यी बैंकलाई अब स्प्रेड तल झार्न दवाव पर्ने छ।
 
'स्प्रेड दर झारिएकाले अब बैंकहरुको ऋणको ब्याज दर केही कम हुन्छ' बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, 'यसबाट बैंकको आम्दानी केही संकुचित हुन जान्छ।'
 
स्प्रेड दर झरेकोमा ब्यवसायीहरुले खुसी ब्यक्त गरेका छन्। जस्तोसुकै प्रतिकुलतामा पनि बैंकहरुले उच्च नाफा गरेको भन्दै औद्योगिक क्षेत्रले त्यसको विरोध गर्दै आएको थियो। 
 
'स्प्रेड दर घटाउनु स्वागतयोग्य कदम हो। अब ब्याज दर घट्छ' नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने। 
 
स्प्रेड दर घट्दा एक दर्जन बैंकको ब्याज दर केही तल आउने छ। बाँकी बैंकले पनि ब्याज दर बढाउने ठाउँ पाउँदैनन्। ब्याज दर उच्च हुँदा औद्योगिक वातावरण विग्रिएको र नियमित किस्ता तिर्नेहरुलाई समस्या परेको गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले स्प्रेड दर घटाउने निर्णय गरेको हो।
 
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको पाँच बर्षे रणनीतिक योजना अनुसार स्प्रेड दर झारेको हो। स्प्रेड दर आगामी आर्थिक बर्षको असार मसान्तसम्म घटाइसक्ने राष्ट्र बैंकको योजना छ। राष्ट्र बैंकले पाँच बर्षअघि पहिलो पटक ब्याज दरमा स्प्रेड तोकेको हो। सुरुमा बाणिज्य बेंकहरुलाई लागू गरिएको स्प्रेड पछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागू गरिएको थियो।
 
स्प्रेड लगायत राष्ट्र बैंकले बैंकहरुको निक्षेप लागत घट्ने अन्य उपायहरु पनि अपनाएका कारण ब्याज दर असोजबाटै घट्ने अध्यक्ष ढुङ्गानाले बताए।

Tata
GBIME
Nepal Life