पुँजी बजारमा फड्को: ट्रेड ग्यारेन्टी फन्ड र अक्सन मार्केट सञ्चालनमा आउने, कारोबार नियमावली तयार

बिजमाण्डू
२०७५ असार २६ गते १८:३९ | Jul 10, 2018
पुँजी बजारमा फड्को: ट्रेड ग्यारेन्टी फन्ड र अक्सन मार्केट सञ्चालनमा आउने, कारोबार नियमावली तयार


Tata
GBIME
Nepal Life

काठमाडौं। 'ट्रेड ग्यारेन्टी फन्ड', अक्सन मार्केट र भविष्यमा सञ्चालनमा आउने अनलाइन प्रणालीलाई व्यवस्थित गर्न सरकारले 'सूचीकरण तथा कारोबार नियमावली २०७५' स्वीकृत गरेकव छ। पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले मस्यौदा पठाएको करिब २ महिनापछि अर्थ मन्त्रालयले नियमावली स्वीकृत गरेको हो। 


नियमावलीले ट्रेड ग्यारेन्टी फण्ड, अक्सन मार्केट र पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई कार्यान्वयन गर्ने सहज व्यवस्था गरेको बोर्डले जनाएको छ। 

कारोबार नियमावलीलाई कार्यान्वनमा लैजान बुधबार बोर्ड बैठक बस्दैछ। बुधवारकै बोर्ड बैठकबाट नियमावलीलाई लागु गर्ने योजना रहेको बोर्ड स्रोतले जानकारी दिएको छ। यही बैठकबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वीकृतीका लागि पठाएको धितोपत्र कारोबार सञ्चालन विनियामवली र सूचीकरण विनियामवलीलाई समेत बोर्डले स्वीकृत गर्ने स्रोतको दाबी छ।

यही नियमावलीको व्यवस्थाको दायरा भित्र रहेर नेप्सेको सूचीकरण र कारोबार विनियमावली बोर्डले स्वीकृत गर्ने भएको हो। नेप्सेको विनियमावली स्वीकृत भए लगत्तै लगानीकर्ताले बोलकबोलमार्फत शेयर खरिद गर्न बाटो खुल्नेछ।
 
लामो समयदेखि लगानीकर्ताले 'क्लोज आउट'मा परि थुप्रै रकम जरिवाना तिर्ने गरेका थिए। जसको समाधानका लागि अक्सन मार्केटको माग हुँदै आएको थियो। लगानीकर्ताले आफूसँग भएको शेयरभन्दा बढी बिक्री गरेमा अबदेखि बढी भएको शेयर अक्सन मार्केटमा खरिद गरी भरपाई गर्न पाउने छन्। अक्सन मार्केटमा शेयर उपलब्ध नभए मात्र लगानीकर्ताले जरिवाना स्वरूप २० प्रतिशत रकम तिर्नु पर्नेछ। 
 
नेप्सेले अक्सन मार्केटका लागि नियमित आइतबारदेखि विहीबारसम्म दिनको साढे तीन बजेदेखि साढे चार बजेसम्म लिलाम बजार खोल्ने छ। शुक्रबार विहान ११ बजेदेखि १२ बजेसम्म लिलाम बजार खुल्ने छ। बोलकबोल बजारमा सदस्य दलालले मात्र कारोबार गर्न पाउने छन्। सदस्य दलालले आफ्नै लागि भने बोलकबोलमार्फत शेयर खरिद गर्न बन्देज गरिएको छ। सदस्य दलालले आफ्ना लगानीकर्ताका लागि मात्र शेयर बोलकबोल बजारमा खरिद गर्न पाउने छन्।
 
लामो समयदेखि ब्रोकरले ट्रेड ग्यारेन्टी फण्डको व्यवस्था गर्न माग गर्दै आएका थिए। जसलाई यही विनियामवलीले सम्बोधन गरेको छ। अब लगानीकर्ताले सदस्य दलाललाई खरिद आदेश दिने तर शेयर खरिद गरे बापतको रकम समयमा भुक्तानी नगरे सदस्य दलालले फण्ड बाट सापटी लिएर कारोबार राफसाफ गर्न सक्ने छन्। 
 
अनलाइन कारोबार प्रणालीलाई समेत लक्षित गर्दै नेप्सेले विनियामवली परिमार्जन गरेको छ। नयाँ विनियामवलीमा लगानीकर्ताले खरिद आदेश दिँदा इमेल, एसएमएस र स्टकसँग सम्बन्धित एप्लिकेसनमार्फत पनि खरिद आदेश दिन सक्ने व्यवस्था गरेको छ। यो विनियमावली कार्यान्वयनमा आएसँगै यी माध्यमबाट हुने कारोबारले वैधानिकता पाउनेछ। 
 
साथै इन्टरनेटमा आधारित प्रणालीको उपयोग गरी कारोबार गरेमा त्यसैलाई खरिद आदेश मानिने व्यवस्था गरिएको छ। अनलाइनमा कारोबार गर्नको लागि सदस्य दलालले लगानीकर्तालाई पहुँच दिन सक्ने छन्। तर उक्त आदेशको उत्तरदाइत्व सम्बन्धित दलालको हुने विनियमावली लेखिएको छ। नयाँ विनियामवलीमा गैरआवासीय नेपालीको व्यक्तिगत वा संस्थागत समेतको खरिद आदेश लिन सक्ने व्यवस्था छ।
 
सूचीकरण तथा कारोबार नियमावली तथा धितोपत्र कारोबार सञ्चालन विनियामवली र सूचीकरण विनियामवली तयार भएसँगै सम्पूर्ण पुँजी बजार कानुनी दायरामा आएका छन्। धितोपत्र कारोबार सुरु भएको दुई दशकपछि कानुनी आधार तयार भएको हो।