अर्थमन्त्रीको प्रष्टोक्ति, ‘थिंक ट्यांक योजना आयोगको विकल्प होइन, खास नीति बनाउने विज्ञ समूह हो’

बिजमाण्डू
२०७५ असार २५ गते १३:४८ | Jul 9, 2018

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले भइरहेका कुनै संरचनालाई प्रभावित नपार्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले राष्ट्रिय योजना आयोगको भूमिका संकुचित गराउने त होइन भन्ने सांसदहरुको प्रश्नमा खतिवडाले कुनै संरचना प्रभावित पार्न थिंक ट्यांकको प्रस्ताव नगरिएको बताएका हुन्। 
 

'थिंक ट्यांक खास नीति तयार गर्न विज्ञ समूह बनाउने हो। खास प्रयोजनका लागि थिंक ट्यांक बनाइन्छ र त्यसको प्रयोजन सकिएपछि औचित्य हेरेर सरकारले निरन्तरता दिन सक्ने नसक्ने निर्णय लिन्छ,' खतिवडाले भने, 'कुनै संस्था वा संरचनालाई प्रभावित पार्न यो प्रस्ताव गरिएको होइन।'
 
खतिवडाले संघीय सरकारले ल्याएको १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सानो नभएको बताएका छन्। राष्ट्रिय सभामा विनियोजन विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले ७६१ वटा सरकारकै बजेट तयार गरिरहेकाले संघीय सरकारले ल्याएको यो बजेटलाई मात्रै हेरेर सानो भन्न नहुने बताए। 
 
संघीय सरकारबाट राजस्वसहित खर्चको आकार र आन्तरिक ऋण उठाउने क्षेत्र स्थानीय र प्रदेश तहलाई बाँढिएको पनि उनले स्पष्ट पारेका छन्। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा सरकारले संकलन गर्ने राजस्वको आकार ३५ प्रतिशत आकार बढाइएको भन्दै उनले यसलाई सानो भन्न नहुने उल्लेख गरे। 'यो उपयुक्त आकारको बजेट हो,' खतिवडाले भने। 
 
भुगोल र जनसंख्याको सन्तुलन मिलाएर प्रदेशलाई बजेट विनियोजन गरिएको भन्दै उनले कुनै प्रदेशलाई धेरै र कुनैलाई थोरै बजेट दिएर भेदभाव नगरिएको पनि उल्लेख गरे। 'भुगोल र जनसंख्याको सन्तुलन खोजेका छौँ। त्यसले बजेट सन्तुलित भएको छ। यस विषयमा ७६१ वटै सरकारले सामान्यबाहेक अन्य तर्क उठाएका छैनन्,' उनले भने।  
 
बजेटले संघीय संरचनालाई अँगालेको भन्दै उनले अधिकारहरु प्रष्ट बाँडफाँट भएको उनले बताए। संघीय सरकारले प्रदेश र स्थानीय तहले अघि बढाउने साना आयोजना अघि नबढाउने भन्दै उनले चालु अवस्थामा रहेकाबाहेक अन्य आयोजना संघीय सरकराले व्यवस्थापन नगर्ने प्रष्ट पारेका छन्।