नेपाली रुपैयाँ अहिलेसम्मकै सबैभन्दा सस्तो, नेपाली भान्छा महँगिने, विनिमय दर परिवर्तन होला?

बिजमाण्डू
२०७५ असार २२ गते ०९:५४ | Jul 6, 2018
नेपाली रुपैयाँ अहिलेसम्मकै सबैभन्दा सस्तो, नेपाली भान्छा महँगिने, विनिमय दर परिवर्तन होला?



 
काठमाडौं। अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११० रुपैयाँ ६२ पैसा तय गरेको छ। पाँच दिनयता ११० रुपैयाँमाथि रहेको डलरले शुक्रबार सबैभन्दा महँगो किर्तिमान कायम गरेको हो।
 
भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थितर बिनिमय दर छ। नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ। यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ। एक डलर बराबर ६८.९५ भारु तय भएको छ।
 
बर्ष दिनमा नेपाली रुपैयाँ डलरभन्दा सात प्रतिशतले थप कमजोर भएको हो। डलर बलियो हुँदै जाँदा नेपाली भान्छा महँगिन्छ। विगतमा डलर महँगिदा भारुसँगको विनिमय दरका बारेमा पुनरावलोकन गर्नु पर्ने आवाज उठेको थियो।
 
अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा डलर ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। त्यसबेला विनिमय दर पुनरावलोकनको मुद्दा उठेको थियो। मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रममा यस बारेमा प्रश्न उठाउँदा तत्कालिन गभर्नर खतिवडाले- तीन वटा सर्त पुरा नभइ विनिमय दर पुनरावलोकनको बिषय उठाउन जायज नहुने तर्क दिएका थिए।
 
उनले स्थिर सरकार, धनात्मक शोधनान्तर र उच्च आर्थिक बृद्धि दर हाँसिल भएका बेला मात्र पुनरावलोकन गर्न सकिने तर्क गरेका थिए। उनले भनेजस्तै अहिले स्थिर सरकार र उच्च आर्थिक बृद्धि दर हाँसिल भएको छ। तर आयात उच्च भएका कारण शोधनान्तर ऋणात्मक छ। डलर महँगिदै जाँदा नेपाली र भारुबीचको विनिमय दर पुनरावलोकनको विषय यसपाली भने वहशमा छैन।
 
कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण भारु कमजोर हुँदै गएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले पछिल्लो विवरण सार्वजनिक गर्दै बैंकिङ क्षेत्रमा समस्या देखिन थालेको संकेत गरेको थियो, त्यसको असर पनि मुद्रा बजारमा परेको विश्लेषण गरिएको छ।
 
पछिल्लो समय भरतमा आयात फराकिलो हुँदै गएको छ। आयातका लागि उसँग भएको विदेशी मुद्राको भण्डारणमा पनि कमी आएको छ। यसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको विश्लेषण सञ्चार माध्यमहरुले गरेका छन्। यसैसन्दर्भमा कतिपय विदेशी लगानीकर्ताले आफ्नो पैसा झिकेर फिर्ता लैजान थालेको पनि समाचार सार्वजनिक भइरहेका छन्।
 
डलर बढ्दा के हुन्छ?
डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। नेपाल राष्ट्र बैंकको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा ६ खर्ब ६ खर्ब ८५ करोड रुपैयाँ भित्रिएको छ। 
 
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। बैशाखसम्म नेपालले निर्यात ब्यापार ६६ खर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
 
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। बैशाखसम्म ९ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य बृद्धिमा यसको चाप देखिने छ। बैशाखसम्म मूल्य बृद्धि दर ४.१ प्रतिशत छ।
 
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।
 
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
 
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
 
डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

Tata
GBIME
Nepal Life