मापदण्ड विपरित दुई इञ्चमात्रै ग्राभेल गरेपछि स्थानीएको विरोध, नगरपालिका भने मुकदर्शक !

रासस
२०७५ असार १० गते १४:५२ | Jun 24, 2018

Tata
GBIME
Nepal Life

मोरङ। उर्लाबारी–६ मोरङ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत ग्राभिल गरेको भन्दै स्थानीयले आपत्ती जनाएका छन्।
   
उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट ३० रुपैययाँका दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्।
 
चार सय १७ मिटर लम्बाइको सडक ग्राभेल गर्न नगरपालिकाबाट तीन लाख रुपैयाँ रकम विनियोजन भएको थियो। उर्लाबारी–४ आइतबारेका प्रेम याख्याले उक्त सडक ग्राभेलका लागि ठेक्का पाएका थिए। मापदण्ड विपरीत सडक ग्राभेल गरेर ठेकेदारले नगरपालिकाबाट भुक्तानी लिइसकेको स्थानीय गणेश दाहालको आरोप छ।
 
“छ इन्च मोटाइको ग्राभेल गर्ने भनेर मापदण्ड निर्धारण गरिएको छ। तर कतै दुई इन्च, त कतै तीन इन्च मोटाइमा मात्रै ग्राभेल भएको छ। यसवारे नगरपालिकामा पटक पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएन्।” दाहालले भने।
 
सामान्य मापदण्डसमेत पूरा नगरी ग्राभेल गरिएको उर्लाबारी–६ का अमृत तामाङको गुनासो छ। ‘सडक ग्राभेल गरेको स्थानमा कतै झार उम्रेको छ’ उनले भने, “नियमक निकाय किन आँखा चिम्लेर बसेको छ।”
 
मापदण्डअनुसार सडक ग्राभेल भए वा नभएको विषयमा इन्जिनियरले अनुगमन नै नगरी हचुवाको भरमा भुक्तानीका लागि सिफारिस गरेको सडक उपभोक्ता रामबहादुर तामाङले बताए।
 
सडक अनुगमन समितिका संयोजक एवं उर्लाबारी नगरपालिका ६ का सदस्य अम्बिका तामाङले भने मापदण्ड अनुसार नै सडक ग्राभेल भएको दाबी गरेका छन्।